मुख्यमन्त्री स्वच्छता अभियानमा अनियमतता

प्रदेश २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनौट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमितता हुने गरेको छ । 

स्थानीय तहको समन्वय बिना योजना छनौट गर्ने र आफूखुसी कार्यकर्ताहरूलाई योजना बाँड्ने गरिएको कारणले अनियमितता हुने गरेको जनप्रतिनिधिहरूको आरोप छ। 

प्रदेश २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/०७८ मा गर्ने भनिएको नगराइन नगरपालिका-५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जिर्णोद्धार गरिएको छ । तर यसमा, रकम अनुसार काम नभएको स्थानीयवासीहरूको गुनासो रहेको छ । 

माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । मन्दिरका पुजारी उपेन्द्र ठाकुरका अनुसार वर्षाैंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो । 

‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गत वर्ष त्यही मन्दिरको जीर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५०० मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो । माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए ।

मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जीर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । तर, स्थानीयवासीहरूले त्यति रकम खर्च नभएको बताएका छन् । स्थानीयवासीहरूलाई जानकारी नै नदिई सो काम गराइएको स्थानीयवासीको भनाइ छ ।



मन्दिरको सौन्दर्यको नाममा रंग, रोगन बाहेक केही पनि नगरिएको स्थानीयवासीहरूले बताउँदै आएका छन् । यता नगराइकन नगरपालिका ५ का वडा अध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताए ।

झाले प्रदेश सरकारले गर्ने कुनै पनि काममा आफूहरूसँग समन्वय नगरिएको बताए । उनले माधव ठाकुरमा भएको काम गुणस्तरहीन भएको दाबी पनि गरे । गत असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।    



  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १३:४७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया