नेपाल उद्योग वाणिज्य महासंघले निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकी जारी गरिएको निर्देशन पुनरावलोकन गर्न आग्रह गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको बीमा समितिको निर्देशनमा ध्यानाकर्षण गराउँदै पुनरावलोकन गर्न आग्रह गरेको हो।
बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैरशुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धी परिपत्र जारी गरेको थियो । यसबाट निर्जीवन बीमाको प्रिमियम वृद्धि गरी न्यूनतम सीमा तोकेकोप्रति महासंघको ध्यानाकर्षण भएको हो।
‘खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्यूनतम सीमा तोकिँदा एकाएक आयोजनाको लागत बढ्न जानेछ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरे पनि बिमितले बीमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न सर्तहरू राखिएका छन् । यस विषयमा सबै सरोकारवालासँग अविलम्ब छलफल गर्न पनि महासंघ माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
यसै गरी, नियामक निकाय समितिले जारी गरेको यो निर्देशनबाट बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने पनि महासंघले जनाएको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्यूनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।
यसका साथै अर्थतन्त्रको पुनरुत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यावसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले आग्रह गरेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।