मुख्यमन्त्रीको दाबी पेस गर्न बागमती प्रदेश कार्यालयको आह्वान

बागमती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान भएको छ । एमालेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो ३ बजेसम्ममा मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गर्न सक्ने उल्लेख छ ।
 
संविधानको धारा १६८ को उपधारा (२) अनुसार कुनै पनि प्रदेशसभा सदस्यले दाबी पेस गर्न सक्ने भएका छन् । 

आजै प्रदेश संसद् बैठकमा मुख्यमन्त्री शाक्यले संविधानको धारा १६९ उपधारा (१) (क) अनुसार राजीनामा दिएकी छन् । नेकपा (एमाले) कि उनी पार्टी विभाजन भएपछि अल्पमतमा परेकी थिइन् । उनी मुख्यमन्त्री भएको ७१ दिनपछि राजीनामा दिन बाध्य भइन् ।
 
बागमती प्रदेशको गणित

बागमती प्रदेशमा हाल १०९ सांसद छन् । बहुमतका लागि आवश्यक सांसद संख्या ५५ जना हो ।  त्यहाँ नेकपा (माओवादी केन्द्र)का २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी) को १३ जना र जनता समाजवादी पार्टीका एक जना सांसद् छन् । यसरी गठबन्धनको सांसद संख्या ५९ पुग्ने देखिन्छ । 

यो संख्या अधिक बहुमत हो । नेकपा (एमाले) को भने त्यहाँ ४३ जना सांसद छन् । उक्त पार्टीले बहुमत जुटाउन सक्ने स्थिति छैन । प्रदेशमा विवेकशील साझा पार्टीका तीन जना, नेमकिपा र राप्रपाका समान दुई/दुई जना सांसद छन् ।

 



 



  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १६:४४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया