जित्ने सुनिश्चततापछि महाधिवेशन गर्न चाहन्छन् देउवा !

पार्टीको नीति, सिद्धान्त र कार्यक्रम सापेक्षितरूपमा संशोधन गर्ने थलो महाधिवेशन गर्नै नसकेर कांग्रेस आलोचित छ । कांग्रेसकै विधानअनुसार महाधिवेशन अनिवार्य छ ।  

संविधान र त्यस आधारमा बनेका राजनीतिक दलसम्बन्धी ऐनलगायत कानुनी आधार बमोजिम पनि दलहरू महाधिवेशन गर्न बाध्य छन् । महाधिवेशन नगर्ने छुट कुनै दललाई छैन । 

कांग्रेस विधानमा प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने उल्लेख छ । चार वर्ष त के साढे पाँच वर्ष बित्दासम्म महाधिवेशन हुन सकेको छैन । 

महाधिवेशन गर्न कांग्रेसलाई निकै मुस्किल परिरहेको छ । यस्तो अवस्था रहँदा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले देउवाप्रति कटाक्ष पनि गरिसके ।

‘आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर बर्सौैंदेखि अल्झिरहेका छन् । संविधानअनुसार पाँच वर्षमा गर्नुपर्ने महाधिवेशनको अवधि पार गरेर त्यसपछि थप ६ महिनाको अवधि पार गरेर अर्को ६ महिनाको अवधिभित्र गुज्रिराखेको ...।’ ओलीले शनिबार वडा अधिवेशनको उद्घाटन गर्दै कटाक्ष गरेका हुन् ।

समय (२०७६ फागुनको फागुन २३ ) अगाडि महाधिवेशन भएको भए १४ औं सभापतिको कार्यकाल डेढ वर्ष व्यतित भइसक्थ्यो । तर, भएन । अझै पनि हुन सकेको छैन । पटकपटक महाधिवेशनको मिति सार्ने काम भइरहेको छ ।



पहिलो पटक – २०७७ फागुन ७ – १० गते 
दोस्रो पटक – २०७८ भदौ ७ – १० गते  
तेस्रो पटक – २०७८ भदौ १६ – १९ गते 
चौंथो पटक – २०७८ मंसिर ९ – १३ गते 
पाँचौं पटक – २०७८ मंसिर भित्र 

केन्द्रीय सदस्य गुरुराज घिमिरे महाधिवेशन कार्यतालिका बनाउने र कार्यान्वयन नगर्ने समस्या पार्टीमा देखिएको बताउँछन् । पाँचौं पटक सारिएको मितिमा पनि महाधिवेशन हुन्छ भन्नेमा उनलाई विश्वास छैन । 



उनी भन्छन्, ‘नेपाली कांग्रेसको परम्परा एकैचोटी वडा अधिवेशन हुने र एकैचोटी तहगत अविधेशन हुने परम्परा खण्डित भयो । कार्यतालिका बनाउने र त्यसलाई कार्यान्वयन नगर्ने प्रमुख समस्या देखियो । विधानको परिपालना गर्न पनि सकेनौं । जसले गर्दा महाधिवेशन बारम्बार सार्नुपर्यो । अब, पछिल्लो समय तोकेको महाधिवेशन पनि समयमा हुँदैन ।’

महाधिवेशन समयमै ‘एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ’ पनि सभापति शेरबहादुर देउवाले भनेकै हुन् । मुखले महाधिवेशन हुन्छ भन्ने उनी पाँचौंपटकसम्म मिति सार्दा पनि गर्न असक्षम देखिए । 

मंगलबार सारिएको मितिमा पनि महाधिवेशन हुनेमा नेता घिमिरेको शंका छ । 

हालसम्म रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत सार्वजनिक भएको छैन । जुन वडा अधिवेशन अघि सार्वजनिक हुनु अनिवार्य छ । सदस्यता भएकाहरू वडा तहका मतदाता हुन्छन् ।

यस्तो अवस्था छँदा सदस्यता सार्वजनिक भएकामध्ये पनि ११ जिल्लाको वडा अधिवेशन भएको छैन । अर्कातिर, पालिका अधिवेशन भएका ६४ जिल्लामा पनि केही पालिकाको अधिवेशन बाँकी छ । 

यद्यपि, यीमध्येकै १३ वटा हिमाली जिल्लाको भने अधिवेशन सकिएको छ । यसरी कांग्रेसको तल्लो तहको अधिवेशन गञ्जागोलपूर्ण छ । जसको असर महाधिवेशनलाई परेको छ ।

अर्का केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे सभापति देउवामा महाधिवेशन नगरेर कार्यकाल लम्ब्याउने कुनै नियत नभएको दाबी गर्छन् । 

नचाहँदा नचाहँदै महाधिवेशनको मिति पर धकेल्नुको कारण भने क्रियाशील सदस्यता विवाद, तल्ला तहको अधिवेशन नसकिनु, कोभिड संक्रमण र झरी बर्सा भएको बताए । 

कांग्रेसमा संस्थापन पक्षका मानिने आङदेम्बे थप भन्छन्, ‘अब थपिएको मितिमा महाधिवेशन हुन्छ ।’

कार्यतालिका हेरफेरको प्रस्ताव तयार 

मंगलबार देउवाले केन्द्रीय निर्वाचन समितिलाई मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नेगरी अघि बढ्न निर्देशन दिएका थिए ।

मंसिर ९– १३ नभनी मंसिरभित्र भन्नु भनेको घुमाउरो ढंगबाट कार्यतालिका हेरफेरमा जुट्न भनेका हुन् । सोहीअनुसार केन्द्रीय निर्वाचन समितिले बुधबार कार्यतालिका हेरफेर गरेको छ । समितिले अब कात्तिक २७ अघि बाँकी रहेका वडाको अधिवेशन गर्ने प्रस्ताव गरेको छ । 

यस्तै ३० गतेसम्म पालिका अधिवेशन, मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, मंसिर ६ मा संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६–१७ प्रदेश अधिवेशन र २७ मंसिरदेखि १ पुससम्म महाधिवेशन गर्ने प्रस्ताव निर्वाचन समितिको रहेको सचिव जगन्नाथ श्रेष्ठले बताए । 

देउवा हार्ने चुनाव गर्न चाहँदैनन्

कांग्रेसको १४ औं सभापति बन्ने रहर देउवामा पनि छ । आराम गर्नुपर्ने उमेर भए पनि एकपटक फेरि पार्टीलाई नेतृत्व प्रदान गर्ने हुटहुटी देउवामा देखिएको छ । १३ औं महाधिवेशनसम्म साथ दिनेमध्येका नेता विमलेन्द्र निधिले साथ छाड्दासम्म सभापतिको दौडबाट पछि हट्ने छाँट छैन ।

राजनीतिक विश्लेषक दुर्गा सुवेदी जसरी हुन्छ, सभापति भइछाड्ने चाहना देउवामा रहेको बताउँछन् । सोही कारण माहोल बनाउन महाधिवेशन सारिरहेको उनको दाबी छ ।

जबकि, महाधिवेशन सारिरहुनको कारणबारे केन्द्रीय सदस्यद्वय घिमिरे र आङदेम्बेले कार्यतालिका अनुसार तल्लो तहको अधिवेशन नभएकोमा मुख्य जोड दिएका थिए । 

सुवेदी थप्छन्, – आफैं हार्ने महाधिवेशन कसैले गर्छन् होला ? गर्दैनन् । देउवाले गर्न खोजेको पनि त्यही हो ।’

हुन पनि देउवाले त्यस्तै छनक दिएका छन् । डडेल्धुरामा उनले बलपूर्वक वडादेखि पालिकासम्मको अधिवेशन गराइसके । रसुवामा पार्टी नै कब्जा गर्नेगरी सदस्यता दिएको आरोपको सामना गरिरहेका छन् । 

फोरम लोकतान्त्रिक विलय गरेर आएका उपसभापति विजयकुमार गच्छदार र राप्रपाबाट त्यागेर आएका सुनिलबहादुर थापा पक्षलाई पनि अधिक सदस्यता दिएको आरोप संस्थापनइतर पक्षबाट लगाइसकेका छन् । 

पार्टी कार्यालयबाटै सदस्यता हटाउने र थप्ने काम गराएको भन्दै उनको चर्को आलोचना इतर पक्षबाट भएकै हो ।  

यी घटनाक्रमका कारण महाधिवेशनलाई परपर धकेल्नुको पछि देउवा सभापतिमा जित्ने गरिको महाधिवेशनको पर्खाइमा छन् भन्न गाह्रो छैन । 
 

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ८:३१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया