संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल, दूतावासका कर्मचारी सहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरुको सहभागिता थिए ।
कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताए । श्रम अधिकार तथा नेपाली श्रमिकको सीप विकासका विषयमा युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारसँगको भएको छलफल उपलब्धिमूलक भएको दाबी मन्त्री श्रेष्ठले गरे ।
कार्यक्रममा युएईमा श्रम, सीप तथा लगानीको क्षेत्रमा रहेका अवसर र चुनौतिबारे छलफल भएको थियो ।
नेपालको महत्वपुर्ण श्रम गन्तव्यका रुपमा रहेको युएईमा २ लाख भन्दा धेरै नेपाली कार्यरत छन् । नेपाली श्रमिकहरुले कोभिड महामारीका कारण परेको समस्याका साथै श्रम सम्झौताको प्रभावकारी कार्यन्वयनको बिषयमा ध्यानाकर्षण गराएका थिए ।
आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागि हुन युएई गएको मन्त्री श्रेष्ठ नेतृत्वको टोली शनिवार स्वदेश फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।