प्रचण्डकाे भारतीय लबिङ : अाश‌ंका र यथार्थ

काठमाडौं– कम्युनिस्ट आन्दोलनका अभियान्ता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले अन्तर्वार्ताको क्रममा भनेका थिए– ‘नेपालको सत्ता र राजनीति टिक्नका लागि भारतको हात हुने रहेछ । यही कुरालाई आधार मान्ने हो भने पनि प्रचण्डको पछिल्लो समय भएको भारतीय भ्रमणले यसको झल्को दिन्छ । केही समयअघिसम्म भारतविरुद्ध खनिने प्रचण्डको भारतीय लबिङलाई अधिकारीको यो भनाइसँग समेत जोडिन थालेको छ । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि छिमेकी राष्ट्र भारतको औपचारिक भ्रणण गरे । ४ दिन लामो उक्त भ्रमणको समयमा नेपालका राजनीतिक विश्लेषकले फरक–फरक प्रकारको अनुमान लगाए । उनको सो भारत भ्रमणले नेपालको राजनीतिमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको थियो । 

प्रचण्डको भारत भ्रमणका वेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज पनि दिइन् । सत्तारुढ दलका अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणको समयमा पारिवारिक सदस्यबाहेक अन्य नेताहरूलाई लगेका थिएनन् । प्रचण्डको उक्त भारतीय भ्रमणलाई राजनीतिक रूपमा महत्वका साथ हेरिए पनि भारत भ्रमण टोलीमा उनले पार्टीका कुनै नेतालाई पनि लगेनन् । 

भारतबाट फर्केको केही दिनमा प्रचण्ड पुनः चीन गए । छिमेक सम्बन्ध सुधार गर्नका लागि आफू प्रतिबद्ध भएको भन्दै पालैपालो छिमेकी राष्ट्र धाउँदै गर्दा प्रचण्डले चीनबाट भने अपेक्षित परिणाम हासिल गर्न सकेनन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको ‘विशेष निमन्त्रणा’ भन्दै प्रचण्ड चीन गएका थिए । तर, उनलाई कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी जिन पिङले नै भेट दिएनन् । यसअघिको भेटमा राष्ट्रपति सीले प्रचण्डलाई विशेष भेट दिएका थिए । तर, उनै सीले पछिल्ला चीन भ्रमणका वेला प्रचण्डलाई भेट दिएनन् । 

उनी चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव मात्र होइनन्, छिमेकी राष्ट्र चीनका राष्ट्रपतिसमेत हुन् । पूर्वप्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुपूर्व नै उनको सचिवालयले राष्ट्रपति सीसँग भेटघाट हुने जानकारी दिएको थियो । पार्टी एकता भइसकेपछि प्रचण्ड पहिलोपटक भारत गएर चीन जानुको कारण उनलाई सीले नभेटेको पनि धेरैको बुझाइ रहेको छ । राष्ट्रपति सीले उनलाई भेट नदिनुलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । 



चीनबाट फर्केर दसैँको माहोलमा झुमे, प्रचण्ड । दसैँको माहोल सकिएसँगै पुनः उनको भारत भ्रमण तय भयो । 

९ असोजमा अध्यक्ष प्रचण्ड १ दिनका लागि नयाँदिल्ली गए । बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका प्रचण्ड सोही दिन साँझ काठमाडौं फर्किए । इन्डिया फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा अतिथिका रूपमा उनी त्यहाँ गएका थिए । 



१० असोजमा नेकपाले चियापान आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी हुनका लागि पनि अध्यक्ष दाहाललाई काठमाडौं सोही दिन आएका थिए । तर, त्यति धेरै व्यस्तताको बाबजुद पनि एउटा कार्यक्रमको सम्बोधनका लागि प्रचण्ड किन गए दिल्ली ? धेरैको शंकाको विषय बन्यो । 

माओवादीको १० वर्षे जनयुद्धका कमाण्डर प्रचण्ड यतिवेला सत्तारुढ दल नेकपाका अध्यक्षसमेत हुन् । युद्धकालीन अवस्थामा आफूसँगै क्रान्तिमा सहभागी भएका विभिन्न नेताहरू भने यतिवेला विभाजित छन् । 

डा. बाबुराम भट्टराई (लालध्वज), नेत्रवित्रम चन्द (विप्लव), मोहन वैद्य (किरण), खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) आदि उनका जनयुद्धका सहयोद्धा हुन् । र, आज यी सबै नेता प्रचण्डसँग टाढा भइसकेका छन् ।

तिनै नेतामध्येका एक प्रखर नेताका रूपमा लिन सकिन्छ प्रकाण्डलाई । पछिल्लो समय उनी विभिन्न बहानामा समातिने र छुट्ने क्रम चल्यो । विभिन्न हत्या र हिंसासम्बन्धी कसुरबाट आरोप व्यहोरेका प्रकाण्डले प्रचण्डबारे पछिल्लो समय मुख खोले । हिरासतबाट छुटेर पत्रकारसँगको कुराकानीमा उनले प्रचण्डको भारतीय लबिङको बारेमा बोले ।
 
प्रचण्डनिकट एक नेताका अनुसार यतिवेला प्रचण्ड आफूलाई शक्तिशाली नेपाली कम्युनिस्ट नेताको रूपमा परिचित गराउन चाहन्छन् । उनको भारतसँगको लबिङ पनि अबको प्रधानमन्त्रीका लागि भएको ती नेताको भनाइ छ । प्रधानमन्त्री ओली र उनको सामीप्य बाहिर देखिएजस्तो राम्रो अवस्थामा नरहेको उनी आशंका गर्छन् । 

प्रचण्डले प्रधानमन्त्री ओलीसँग साढे दुई वर्षपछिको प्रधानमन्त्रीका लागि भद्र सहमति गरेको बताएका छन् । प्रधानमन्त्री ओलीसँग गरिएको भद्र सहमति पछिल्लो  राजनीतिक उतार–चढावका कारण टुट्न सक्ने अनुमान प्रचण्डले गरिरहेका छन् । 

धेरैले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभामा छिराउन प्रचण्डले तत्परता देखाएको भने पनि उक्त कुरामा सत्यता नभएको नेकपाका अर्का नेता बताउँछन् । यदि प्रचण्डले आफूलाई प्रधानमन्त्रीको रूपमा सहज बाटो बनाउँदै छन् भने वामदेव संसदभित्र छिर्नु उनका लागि नै घातक हुन सक्ने ती नेता बताउँछन् । वामदेवले प्रतिनिधिसभा नै रोज्नुलाई उनको प्रधानमन्त्रीको आकांक्षाका रूपमा पनि नहेरिएको होइन । 

त्यसो त, राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ, सत्ताबाहिर हुँदा छटपटाउने प्रचण्डको प्रवृत्ति पुन दोहोरिएको हो ? हुन त यतिवेला प्रचण्ड सत्तारुढ दलकै अध्यक्ष छन् । तर पनि उनी सरकारको कुनै पदमा भने छैनन् । जसका कारण उनी जिम्मेवारीका लागि छटपटाएको जस्तो अनुभूति हुन थालेको छ । 

प्रचण्ड भारत भ्रमणमा जानुभन्दा केही महिनाअघि मात्र प्रधानमन्त्री ओलीले भारतको भ्रमण गरेका थिए । नेपालसँग गर्ने भनिएको सन्धि सम्झौताबारे प्रधानमन्त्री ओलीले नै छलफल गरिसकेका थिए । देशको कार्यकारी प्रमुखको जिम्मेवारीसहित प्रधानमन्त्री ओलीले भारत भ्रमण गरिसकेका थिए । उता, केही महिनाअघि मात्र बिमस्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै काठमाडौं आइसकेका थिए । 

भारतसँगको सम्बन्ध सुधारको विषयलाई मात्र आधार मान्ने हो भने उनले मोदीलाई नेपालमा नै भेटिसकेका थिए । काठमाडौंमा बसेर गर्न नसकेको के कुरा प्रचण्डले नयाँदिल्लीमा गएर गरे ? प्रश्न जन्मिएको छ । यस्ता आधारबाट हामी निश्चितताका साथ भन्न सक्छौँ, प्रचण्ड भारतसँग आन्तरिक लबिङका लागि बारम्बार भारत आउजाउ गरिरहेका छन् । 

राजनीतिक विश्लेषक उज्ज्वल प्रसाईं पनि नेपाली कम्युनिस्टहरू भारतपरस्त भएको बताउँछन् । नेपाली इतिहासमा नै कम्युनिस्टहरूले सत्ताको बाँटफाँडका लागि  भारतसँग लबिङ गर्ने गरेको उनले बताए । त्यस्तै, प्रचण्डको पछिल्लो समय भारतीय लबिङका बारे पर्याप्त सूचना आफूसँग नभए पनि उनले भारतसँग केही लबिङ गरेको हुन सक्ने अनुमान लगाए । 

फरकधारसँगको कुराकानीमा उनले भने, ‘यसबारे मलाई त्यति सूचना त छैन । तर, सामान्यतया चलनचाहिँ भारतको विश्वास लिएर मात्र समीकरण बदल्ने चलन छ ।’ सत्ता समीकरण बदल्ने आकांक्षामा प्रचण्ड छन् भनेचाहिँ भारतसँगको लबिङ उनले सुरु गरेका हुन सक्छन् ।

यतिवेला प्रचण्डले भारतीय लबिङ खोज्नु कुनै अनौठो कुरा नभएको उनको बुझाइ छ ।
 

  • प्रकाशित मिति : कात्तिक १६, २०७५ शुक्रबार १४:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया