चीनको हाइपरसोनिक मिसाइलदेखि तर्सियो अमेरिका, भन्यो– मिसाइलको परिक्षण  ‘स्पुतनिक लञ्च’ जस्तै

अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीले चीनले गरेको हाइपरसोनिक मिसाइललाई रुसको स्पुतनिक सेटलाइटसँग तुलना गरेका छन् । 

अमेरिकी सेनाको जोइन्ट चिफ अफ स्टाफ प्रमुख मार्क मिलीले रुसले स्पुतनिक सेटलाइट स्थापना गरेझैँ चीनले पनि गुपचुप हाइपरसोनिक मिसाइलको परिक्षण गरेको आरोप लगाएका छन् । 

रुसले सन् १९५७ मा स्पुतनिक सेटलाइट लञ्च गरेको थियो जसपछि सुरु भएको शीत युद्धमा अमेरिका र रुसबीच हतियारमा प्रतिस्पर्धा भएको थियो ।
मिलीले ब्लूमबर्ग न्युजसँगको अन्तर्वार्तामा चीनले तिव्र गतिमा सैनिक विस्तार गरिरहेको समेत बताएका छन् । 

‘चीनले एक महत्वपूर्ण हाइपरसोनिक हतियारको परीक्षण गरेको छ । यो निकै चिन्ताको विषय हो । यो स्पुतनिक मुमेन्ट जस्तै हो, जसले हाम्रो पुरा ध्यान खिचेको छ,’ मिलीले भने । 

मिली अमेरिकी सेनाको पहिलो व्यक्ति हुन् जसले चीनले परिक्षण गरेको हाइपरसोनिक मिसाइलको बारेमा पहिलो पटक सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका छन् । तर पेन्टागनका प्रवक्ता जोन किर्बीले भने मिलीले गरेको टिप्पणीका विषयमा प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।



‘यो हामीलाई थाहा नभएको प्रविधि होइन,’ किर्बीले संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले अमेरिका आफ्नो सुरक्षा बढाउन र हाइपरसोनिक प्रविधिमा काम गरिरहेको बताएका छन् । 

बेलायती अखबार फाइनान्सियल टाइम्सले केही दिनअघि चीनले गुपचुप गत अगष्टमा हाइपरसोनिक मिसाइलको परिक्षण गरेको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशन भएपछि धेरै शक्ति राष्ट्र चकित परेका थिए । चीनले भने हाइपरसोनिक परिक्षण नगरेको बताउँदै आएको छ । 



हाइपरसोनिक मिसाइल ध्वनिको गतिभन्दा पाँच गुना बढी तिव्रताका साथ लक्ष्यमा आक्रमण गर्न सक्षम हुने बताइएको छ । यो मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले पहिचान गर्न समेत नसक्ने जनाइएको छ । 

गएको साता अमेरिकाले पनि हाइपरसोनिक मिसाइलको परिक्षण गरेको थियो । रुसले पनि यसअघि नै यो हतियारको परिक्षण गरिसकेको छ ।  (बिबीसी)

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १६:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया