प्रदेश १ खेलकुल विकास बोर्डको तेस्राे बैठक सम्पन्न, भए यस्ता निर्णय

प्रदेश १ मा बनेको खेलकुद विकास बोर्डले छोटो समयमा नै खेलकुदको विकासका लागि विभिन्न काम सुरु गर्न थालेको छ ।

शुक्रबार खेलकुद विकास बोर्डको तेस्रो बैठकले प्रदेशमा खेलकुद विकासका लागि विभिन्न निर्णय गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष बलबहादुर सामसोहाङको अध्यक्षतामा बसेको बैठकले समग्र प्रदेशको खेलकुद क्षेत्रलाई थप आक्रामक बनाउन काम सुरु गरेको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार शुक्रबारको बैठकले खेलकुद विकास बोर्डको नयाँ लोगो पनि सार्वजनिक गरेको छ ।

त्यस्तै, अपाङ्गता क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सदस्यमा घनश्याम दाहाललाई मनोनयन गरेको छ । दाहाल दमकका हुन् ।

यही बैठकले १४ वटै जिल्लामा खेलकुद विकास बोर्डका लागि प्रशासकीय अधिकृत खटाउने निर्णय पनि गरेको छ । त्यस्तै बोर्डको आफ्नै कार्यालय स्थापना गर्ने निर्णय पनि यही बैठकले गरेको छ ।

‘हामीले प्रदेशमा खेलकुद बोर्ड बन्ने समयमा नै जति सकिन्छ यस क्षेत्रको विकासका लागि लाग्नेछौँ भनेका थियौँ,’ खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले फरकधारलाई भने, ‘अहिले द्रुत गतिमा यसमा अगाडि बढेका छौँ । प्रदेश १ को खेलकुद विकास बोर्डले खेलकुद क्षेत्रलाई समुन्नत बनाउन प्रयास गर्नेछ ।’



त्यस्तै यो बैठकले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने पनि निर्णय गरेको छ । त्यसका लागि विभिन्न अन्तक्रिया कार्यक्रम गर्ने पनि निर्णय भएको बस्नेतले जानकारी दिएका छन् ।

‘राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा रहेका प्रदेशका १४ वटै जिल्लाका भौतिक सम्पत्ति प्रदेशलाई हस्तान्तरण गर्नका लागि प्रदेश सरकारसँग पहल गर्ने र प्रदेश सरकारको क्याबिनेटमा पठाउने निर्णय पनि गरिएको छ,’ बस्नेतले भने, ‘प्रदेशको खेलकुदलाई व्यवस्थित गर्न यो निर्णय गरिएको हो ।’



उनले परिषद्ले नै तलब खुवाइरहेका परिषद्का कर्मचारीलाई समायोजन नहुन्जेल काजमा प्रदेशमा खटाइ दिन पनि प्रदेश सरकारमार्फत अनुरोध गरिने निर्णय भएको बताए ।

त्यस्तै, बैठकले खेल क्षेत्रका अगुवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक तथा खेलप्रेमीहरुसँग चाडवाडको सन्दर्भ पारेर शुभकामना आदानप्रदान तथा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ । खेलकुद बोर्डले यही बैठकबाट प्रदेश सरकारलाई ओएनएम सर्वे गर्नका लागि समेत पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १०:५६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया