आफूले पाएका सयौं उपलब्धिभन्दा कयौं गुणा धेरै रहेछ सन्तानको सफलता

छोरी भएर जन्मन पाउनु ठूलो कुरा । जन्मिएपछि भने नेपाली समाजमा मान्छेको दर्जा पाउन गाह्रो । आफ्नो रहर सपनाको बाटोमा हिँड्न पाउनु त झन् ठूलो भाग्यको कुरा । छोरीलाई हरेक कुरामा बन्देज लगाउने समाज । सानैबाट विभेदको दृष्टि राख्ने परिवार । तिनै परिवारभित्र आफ्नो प्रतिभा खुम्चाएर बस्न बाध्य नेपाली छोरीको संख्या अझै पनि अनगिन्ती छ । तर, यही समाजमा ५० को दशकतिरै गायिका लक्ष्मी न्यौपाने भने आफ्ना बुवा, हजुरबुवा र काकाहरूसँग स्वर मिसाउँथिन् । उनीहरूसँगै भजन गाउँथिन् । बाल्यकालको त्यही गायनले उनको भविष्यको खाका कोरिदियो । 

छोरी जन्मिएपछि घरमा मन्दिर स्थापना

गाउनु बजाउनुलाई राम्रो नमान्ने परिवेश । झन छोरीहरूलाई गाउँदै निस्फिक्री हिँड्न दिने परिवार त औँलामा गन्नु पर्थ्याे । त्यही औँलामा भाँच्दा पहिलो नम्बरमा पर्थ्याे लक्ष्मीको परिवार । उनको पारिवारिक माहोल नै सांगीतिक थियो । उनका बुवाले घरमा नै सरस्वतीको मन्दिर स्थापना गरेका थिए । त्यो मन्दिर स्थापना पनि लक्ष्मीको जन्मपछि भएको थियो । पाल्पाको यम्घामा जन्मिएकी लक्ष्मी परिवारकी माइली छोरी । उनी सानैमा निकै बिरामी परिन् । बिरामी छोरी च्यापेर अस्पताल ओहोरदोहोर गर्दा उनका बुवाले प्रतिज्ञा गरेका थिए, ‘छोरी निको भए घर नजिकै सरस्वतीको मन्दिर बनाउँछु ।’ लक्ष्मी निको भइन् । उनको घर नजिकै सरस्वतीको मन्दिर स्थापना भयो ।  हरेक साँझ सोही मन्दिरमा आरतीपश्चात भजनकिर्तन हुन्थ्यो । घरका सबैजना बसेर गर्ने भजनकिर्तनमा लक्ष्मीको विशेष चाख हुन्थ्यो । त्यही भजन गायनले नै उनको गायन सपना बनायो । 

धेरै छोरीका सपना अधुरै रहन्छन् । लक्ष्मी भाग्यमानी सावित भइन् । उनका सपनामा परिवारले सकेको साथ दिए । नेपालका अधिकांश छोरीहरूले झैं सपनाको बाटोमा हिँड्न लक्ष्मीले परिवारसँग विद्रोह गर्नु परेन । स्कुलका कार्यक्रम, अन्तरविद्यालय प्रतियोगिता हुँदै अघि बढेको लक्ष्मीको गायनले राष्ट्रिय रूपमै स्थापित गायिका बनायो । देशको नामी गायिका बन्नुका पछाडि थुप्रैकाे साथ । प्रेरणा छन् र छन् हौसला । संघर्षका अन्तरकथा आफ्नै छन् ।            

विवाहले पनि नरोकिएको करिअर

सांगीतिक करिअरसँगै फक्रियो लक्ष्मीको जीवन पनि । उनले आफ्नो भविष्यको स्पष्ट खाका कोरिसकेकी थिइन्, ‘म गायनमै आफ्नो पहिचान बनाउँछु ।’ भविष्यको राम्रो सम्भावना देख्दै गरेका बेला उनको परिवारमा विहेको कुरा चल्छ । लमी बनेर आइपुग्छिन् गाउँकै एकजना दिदी । उनको विहेको कुरा रुपन्देहीका झलक रेग्मीसँग चलेको थियो । विहेको प्रसंग सुरु भएपछि उनीहरूले भेटघाट गरे । आ-आफ्ना करिअर बारेमा सुनाए । एक-अर्काले जीवनसाथीका रूपमा स्वीकार गर्ने निर्णय गरे । २०५९ सालमा लक्ष्मी र झलकले लगनगाँठो कसे । 



थुप्रै सम्भावना बोकेका छोरीहरू आफ्नो क्षेत्रबाट पलाएन भएका छन् । छोरी बुहारी भएपछि परिवारको साथ नपाएका थुप्रै उदाहरण छन् । लक्ष्मी छोरी मात्रै होइन, भाग्यमानी बुहारी, श्रीमती पनि भइन् । उनका श्रीमान गीत/संगीतका अनुरागी थिए । पेशाले मास्टर झलक लोक गीत संकलनमा रुचि राख्थे । 

विवाहपछि आफ्नो करिअर, सपना भनेर घर छोडेर हिँड्न महिलालाई निकै गाह्रो हुन्छ । लक्ष्मी भने विवाहको केहि समयपछि नै काठमाडौं आइन् । यतै बस्न थालिन् । उनका श्रीमान रुपन्देहीमै पढाउँथे । कसैले लक्ष्मीको बाटो छेकेनन् । सबैले साथ दिए । उनी आफूलाई भाग्यमानी गायिका ठान्छिन् । भन्छिन्, ‘त्यो समय छोरी मान्छेले गीत गाएको त्यति राम्रो मानिँदैन थियाे । विवाहपछि पनि परिवारबाट साथ पाएँ । धेरै चर्चित गीतहरू विवाहपछि नै गाएकी छु ।’



विहेको एक वर्षपछि आमा

गाउँमा दसैंको बेग्लै रौनक थियो । जन्मिएपछि फरक परिवारसँग दसैं मनाइरहेकी लक्ष्मीका मनमा पनि केही उत्साह, केही न्यास्रा र सम्झनाहरू थिए । दसैंको माहोलमा सबै रमाइरहेछन् । लक्ष्मीको शरीर र मनले अर्कै प्रतिक्रिया दिन थाल्यो । महिनावारी पर गएको छ भन्ने पनि उति साह्रो हेक्का रहेनछ उनलाई । काम गर्दै जाँदा शरीर शिथिल हुन थाल्यो । खाएको कुरा वमिट हुन थाल्यो । घरमा जम्मा भएकाले लख काटे, ‘तिमी आमा बन्ने भयौ ।’

लक्ष्मी र झलक चेकअप गराउन अस्पताल गए । रिपोर्ट पोजेटिभ आयो । लक्ष्मी आमा बन्ने भइन् । पहिलो पटक आमा बन्दैछु भनेर थाहा पाएको दिन उनलाई लाग्यो-अहिले कसैलाई थाहा नभैदिए हुन्थ्यो । लक्ष्मीले सुनाइन्, ‘पहिलो पटक भएर होला खुबीभन्दा पहिला लाज देखिँदो रहेछ । समय पनि त अहिलेको जस्तो थिएन ।’

गर्भावस्थामा रेकर्ड भएका गीत हिट

दसैं सकियो । दसैं मान्न एक्लै गएकी लक्ष्मी गर्भमा सन्तान बोकेर काठमाडौं फर्किन् । यो समय उनको करिअरको ‘पिक आवर’ थियो । गर्भावस्थाको सुरुवाती दिनमा वमेटिङ भयो । ज्यान शिथिल हुन्थ्यो । तर लक्ष्मीको मन कहिल्यै शिथिल भएन । उनी भमेटिङले चिरिएको गलाले सुर लगाउँथिन् । त्यतिबेला झलक काठमाडौं आएकै थिएनन् । उनको जागिर रुपन्देहीमै थियो । श्रीमानको अभाव खड्किन्थ्यो । उनी यो अभाव देखाउँदैनथिइन् । लक्ष्मीको गर्भावस्थाको अन्त्यतिर झलक काठमाडौंमै आएर टिचिङ गर्न थाले । 

गर्भावस्थाको मध्य समयमा लक्ष्मीले सबैभन्दा धेरै गीत रेकर्ड गराइन् । उनलाई थाहा थियो, ‘सुत्केरी भएपछिका केही महिना बाहिर निस्कन सहज हुँदैन । बच्चा भएपछि स्टुडियो गइरहन सजिलो हुँदैन ।’ गर्भावस्थाको बेलामा रेकर्ड गराएका गीत उनको जीवनकै हिट र सफल गीत बन्न पुगे । उनले त्यही बेला गाएका गीत हुन्- ‘हङकङ मलायो’, ‘फूलमा भमरा’ लगायतका गीत । 

बच्चा चल्दा अर्कै खुसी

गर्भको बच्चासँगै बढ्दै जाने रहेछन् एउटी गर्भवतीका खुसी । अरूसँग खासै मनका कुरा सेयर नगर्ने लक्ष्मी आफैसँग एक्लै रमाइरहेकी हुन्थिन् । ‘सबैभन्दा धेरै खुसी गर्भको बच्चाले मुभ गर्न थालेपछि हुने रहेछ’ लक्ष्मी सम्झन्छिन् । फिलमा गीत गाउँदा गाउँदै बच्चा पेटमा दौडन्थ्यो । लक्ष्मी भुतुक्क हुन्थिन् । गीत रेकर्डमा रहेका टेक्निसियनलाई गाह्रो भयो, आराम गर्छु भन्न सरम लाग्थ्यो । उनी थुचुक्क कुर्सीमा बस्थिन् । बोतलमा लगेको पानी घुट्काउँथिन । अनि फेरि गाउन थाल्थिन् । यो गाह्रोमा उनी स्वर्गीय आनन्द महसुस गर्थिन् । भन्छिन्, ‘आफूभित्रको मान्छे सही सलामत छ भन्ने सन्देश बोकेर बहने त्यो खुसीको म कुन शब्दमा ब्याख्या गरूँ ?’

गर्नु हुँदैन होला भनेर काम छोडेँ

गर्भावस्थाका ३ महिना निकै गाह्रो भयो । तीन महिना नाघेपछि शारीरिक र मानसिक दुबै रूपमा उनलाई गाह्रो महसुस भएन । हुर्कँदै गएको गर्भका कारण हुने असहजता बाहेक उनले आफूलाई कमजोर महसुस गरिनन् । काममा हरेक दिन उही ऊर्जाका साथ पुग्ने लक्ष्मीलाई बच्चा जन्मने समय नजिकिदै जाँदा लाग्यो, ‘अब त काम गर्न हुँदैन होला ।’ गाउँमा उनका आमा पुस्ताले भन्थे, ‘मै घाँस काट्दाकाट्दै बाबु जन्माएको ।’ लक्ष्मी आफैसँग डराइन् । उनलाई पनि लाग्यो, ‘काममा गएका बेला केही अप्ठ्यारो भयो भने !’ त्यसपछि उनी काम छोडेर घरमै बसिन् । काम छोडेको १५ दिनमा छोरो जन्मियो ।
 
बाबुलाई छोरीको चाहना

गर्भावस्थाको झण्डै ८ महिनासम्म लक्ष्मी र झलकको भेट आक्लझुक्कल हुन्थ्यो । बेलाबेला आउने जाने हुन्थ्यो । धेरै फोनमा कुरा हुन्थे । यो समय झलक ‘गर्भावस्थाको समयमा म श्रीमतीसँगै हुन पाइन भनेर कति छट्पटिए’ कहिल्यै सुनाएनन् । लक्ष्मी भने हरेक साँझ थाकेर घर पुग्दा श्रीमान सम्झिन्थिन् । फोनमा, भेटमा गर्भावस्थाका अप्ठ्यारा-सजिलाका कुरा गर्थे श्रीमान श्रीमती । गर्भमा रहेको बच्चा कस्तो होला कल्पना गरिबस्थे । कल्पनै कल्पनामा झलक हराउँथे छोरीको आकृतिसँग । झलकलाई लाग्थ्यो, ‘छोरी जन्मियोस् ।’ लक्ष्मीको मनमा भने छोराछोरी अलग्गै चाहना थिएन । छोरा होस् या छोरी सकुसल जन्माउँन सकुँ बस् । 

पीडामा विचार शून्य हुँदो रहेछ

जेठ महिना । त्यतिबेला काठमाडौं अहिलेको जस्तो बाफिदैनथ्यो । घामले न्यानो स्पर्श गरिरहेकै थियो । काम छोडेर बसेको पनि केही दिन भइसकेको थियो । डाक्टरले दिएको डेलिभरी डेट एक साता घर्कियो । बच्चा जन्मने कुनै छाँट देखिएन । उनी थापाथली हस्पिटल पुगिन् । डाक्टरले ‘भोलिसम्म तपाईंको बच्चा हुन्छ । अस्पतालमै बस्ने कि घर जाने ?’ प्रश्न गरे । लक्ष्मीलाई प्रसव व्यथाको कुनै सिम्पटम्स नै थिएन । त्यसैले घर जाने बताइन् । घर फर्किन् । 

त्यही साँझ लक्ष्मीलाई सुत्केरी व्यथा सुरु भयो । उनी थापाथली अस्पताल भर्ना भइन् । रातभरि व्यथा लाग्ने र छोड्ने भइरह्यो । असाध्यै धेरै पीडा भएको बेला मान्छे शून्य हुँदो रहेछ । लक्ष्मी पनि बच्चा जन्मनुभन्दा २ घण्टा अघिबाटै विचारविहीन भएकी थिइन् । उनको दिमागमा एउटै मात्रै विचार दौडिन्थ्यो, ‘कतिबेला बच्चा जन्मिन्छ र मैले मुक्ति पाउँला ।’ अन्तत: उनले मुक्ति पाइन्।  लक्ष्मीको छोरो जन्मियो । छोरोसँगै पहिलोपटक आमाका रूपमा लक्ष्मीले पनि जन्म लिइन् । नर्सले नांगाे छातीमा छोरो राखिदिएसँगै संसारभरिको खुसी उनको छातीमै सल्बलायो । ‘बच्चाको शरीरले दिएको न्यानो नै प्रसव पीडाको ‌‌‍ओखती हुँदो रहेछ । बाबु छातीमा टाँसेसँगै बिर्सिए सबै दुखाइहरू’ लक्ष्मी नोस्टाल्जिक बनिन् । 

स्तनबाट बहेको स्नेह

बच्चा जन्मिएको पहिलो दिन लक्ष्मीको दुध आएन । बच्चालाई स्तन चुसाउने तरिका पनि थाहा भएन । पहिलो दिन बच्चाले ल्याक्टोजिन खायो । बच्चाले ल्याक्टोजिन खाँदा लक्ष्मीको मन कटक्क खायो । दोस्रो दिनबाट लक्ष्मीका स्तन रसाए । छोरालाई दुध चुसाइन् । दुध चुसाउन नर्स र दिदीहरूले सिकाए । छोराले सजिलोसँग जन्मिएको तेस्रो दिनमात्रै दुध चुस्न जान्यो । उनले चुसाउन जानिन् । यतिबेला लक्ष्मीलाई लाग्यो, ‘संसारको सबैभन्दा ठूलो र सुन्दर चिज मसँग छ।’ 

३ महिनापछि पुनः काममा

तीन महिनाको छोरो घरमा छोडेर लक्ष्मी काममा फर्किन् । बच्चा भएपछि धेरै काम मनले गर्न नसकिने रहेछ । घरमा छोरो छोडेर निस्कँदा लक्ष्मीका पाइला निकै भारी हुन्थे । स्टुडियोमा फिक्स टाइम राखिएको हुन्थ्यो । त्यही समयमा पुग्ने अनि गीत गाउने र फर्किने । लक्ष्मीलाई कहिलेकाहीँ गीत गाइसक्न पनि मुस्किल हुन्थ्यो । कारण घरमा खेल्दै गरेको छोरो रोएको तर्कना मनमा आउनु । यही तर्कनाले कहिलेकाहीँ धेरैपटक टेक लिनु पर्थ्याे । मन आत्तिएर घर पुग्थ्यो । बिहान निस्किएर बेलुका एकैपटक घर फर्किने लक्ष्मीको दैनिकी फेरियो । उनी कामको बीचमा केही समय ग्याप राख्थिन् । घर पुग्थिन् र छोरालाई दुध ख्वाउँथिन् । घर फर्किँदै गर्दा कहिले बाटोमा जाम हुन्थ्यो । कहिले भनेको बेलामा काम सकिँदैनथ्यो । त्यतिबेला लक्ष्मीलाई लाग्थ्यो, ‘केही समय काम नगरौं कि क्या हो ?’ फेरिन मन मान्दैनथ्यो । 

छोराका हरेक क्रियायाकलापको डेट डायरीमा

काममा जाँदा आमाको मन आत्तिनु सामान्य हो । अन्यथा छोरो हुर्काउन लक्ष्मीलाई खासै गाह्रो भएन । थुप्रै आमाहरू छन् जसले सन्तानको लालनपालनका लागि करिअर दाउमा लगाउनु पर्छ।  यस मानेमा पनि लक्ष्मी भाग्यमानी सावित भइन् । करिअरको पिक आवरमा आमा बनेकी लक्ष्मीले सँगसँगै हुर्काइन् सन्तान र करिअर । उनका श्रीमान यो श्रीमतीले गर्नुपर्ने काम हो भनेर कहिल्यै छुट्टाउँदैनथे । छोराा फकाउने कला लक्ष्मीमाभन्दा उम्दा थियो झलकमा ।
 
छोराको हुर्काइसँगै बढ्दै जाँदा रहेछन् बाबुआमाका खुसी पनि । छोराले खुट्टा फाल्थ्यो, एकखालको खुसी सञ्चारित हुन्थ्यो । छोरो कोल्टे फेर्थ्याे अर्कै खुसी बहन्थ्यो मनमा । ताेतेबोली बोल्दा, बामे सर्दा छुट्टाछुट्टै खुसी सञ्चारित हुन्थे मनमा । लक्ष्मी र झलकले यी सबै खुसीका मिति डायरीमा टिपेर राखेका छन् । छोराले पहिलो पटक भित्तो समातेर हिँड्दा संसार जितेको भान भएथ्यो लक्ष्मीलाई । भन्छिन्, ‘मेरो छोरो ११ महिनाको हुँदा हिँड्न सुरु गरेको हो ।’ पहिलो पटक उसले गरेका हरेक क्रियाकलाप खुब सुन्दर लाग्थे । त्यही क्रियाकलाप दोहोरिइ रहेपछि सामान्य लाग्दै जान्थ्यो । ‘जीवनको सबैभन्दा सुन्दर क्षण नै त्यही बनिदिँदो रहेछ’ अहिले पछाडि फर्किएर हेर्दा लक्ष्मीलाई लाग्छ । 

त्यो पहिलो विछोड

लक्ष्मीकै घरको बाटो भएर साना केटाकेटी स्कुल जान्थे । आफूजस्तै लाग्ने केटाकेटी स्कुल गएको हेर्दै उनका छोरा भन्थे, ‘म पनि स्कुल जान्छु ।’ सानो पुन्टे ब्याग बोक्थे र नजिकैको पसलसम्म जान्थे । पसलमा पस्थे, सामान एक ठाउँमा थुपार्थे । उनलाई लाग्थ्यो स्कुल नै त्यही हो । छोरा ३ वर्षको भएपछि लक्ष्मीले पनि उनलाई स्कुल भर्ना गरिदिइन् । स्कुलको पहिलो दिन झलक र लक्ष्मी सँगै गए छोरो पुर्‍‍याउन । छोरो हाँस्दैहाँस्दै स्कुलको गेटबाट भित्र पसे । स्कुलको गेट लाग्यो । लक्ष्मीलाई गेटबाट घर फर्किन निकै गाह्रो भयो । गेटभित्र अरूका बच्चा रुँदा पनि आफ्नै छोरा रोएझैं लाग्थ्यो । त्यो दुई घण्टा नबित्दै लक्ष्मीले छोरालाई स्कुलबाट ल्याइन् । 

अक्षरका आकार बनाउन नजान्दा पनि बिहान सबेरै उठ्ने । कापी कलम समाउने र कोर्ने उनका छोरा साँझ पनि ‘सुत बाबु’ नभनेसम्म कापी कलम राख्दैनथे । स्कुल हालेको पहिलो वर्ष उनी दोस्रो भए । आफूले पाएका सयौं उपलब्धिभन्दा कयौं गुणा धेरै रहेछ सन्तानको सफलता । ‘त्यो क्षणको खुसी खै कुन शब्दले पो व्याख्या होला र ?’ लक्ष्मी आज पनि प्रश्न गर्छिन् । 

छोराको सोझोपनको पीर

बुढापाका भन्छन्, ‘नहुँदा एक शोक, भएपछि सय शोक ।’ त्यसै भनेको होइन रहेछन् । छोराले राम्रोसँग खाएन भन्ने पीर । स्कुलमा रोयो कि भन्ने पीर । बिरामी पर्ला कि भन्ने पीर । पीरैपीरमा थपिन्थ्यो आज छोरालाई कस्ले कस्तो व्यवहार गर्‍याे होला भन्ने । उनका छोरा मायालु थिए । साथीभाइसँग चल्दैनथे । केटाकेटी न हुन्, उनका साथी उनको त्यही सोझोपनको फाइदा उठाउँथे । पिट्थे । उनी घर गएर आमालाई भन्थे । आमाले प्रश्न गर्थिन, ‘तिमीले पिटेनौ त ?’ उनी भन्थे, ‘उसले पिट्दा मलाई त दुख्यो । मैले पिट्यो भने उसलाई पनि दुख्छ ।’ लक्ष्मी नाजवाफ भइन् । लक्ष्मीले स्कुलमा गएर सरहरूलाई आफ्नो छोराको विषयमा भनिन् । स्कुलमा उनको अलि केयर हुन थाल्यो । अहिले उनका तीनै सन्तान क्याम्पस पढ्ने भए । शान्त स्वभावका उनका छोरामा विद्रोही चेत भने उति साह्रै अहिले पनि छैन ।
 
छोरीको चाहनामा दोस्रो सन्तान

नेपाली लोक गायनमा लक्ष्मीको राम्रै चर्चा थियो । छोरो हुर्कँदै थिए । बुझ्ने श्रीमान अनि परिवार। सुन्दर थियो उनको संसार । तर, पटक-पटक आफ्नै संसारमा केही अपुग लाग्थ्यो । खल्लो लाग्थ्यो । बाटो छेउको पसलमा झुण्डिएका छोरीका कपडा, पुतलीजस्तै फुरफुर गर्दै दौडिरहेका अरूका छोरी देख्दा लक्ष्मीको मन लोभिन्थ्यो । उनका श्रीमानलाई त झन् पहिलो बच्चा नै छोरी होस् भन्ने चाहेका थिए । यही चाहनाले लक्ष्मीले दोस्रो पटक आमा बन्ने निर्णय गरिन् । उनी दोस्रो पटक गर्भवती बन्दा उनका छोरा ५ वर्षका थिए । 

गर्भावस्थाका सिम्पटम्सहरू पहिलाजस्तै देखा परे । पहिलोको अनुभव दोस्रोमा काम लाग्ला भन्ने लाग्यो लक्ष्मीलाई । सुरु सुरुमा धेरै चेकअप गराउनु पर्दैन भन्ने लागेर गइनन् । तीन महिनापछि चेकअपमा जाँदा डाक्टरले भने, ‘पेट त तीन महिनाको भन्दा निकै ठूलो छ ।’ उनलाई पनि डर लाग्यो । भिडियो एक्सरे गर्दा थाहा भयो यसपटक उनको गर्भमा ‘टुइन्स बेबी’ छन् । टुइन्स बेबी छन् भन्ने थाहा पाएपछि झन् धेरै डर थपियो । यो डरमा झलकमा पनि देखा पर्‍याे । टुइन्स बेबी जन्माउन गाह्रो पो हुने हो कि ? यही डरले यो गर्भ मास्ने हाे कि भन्ने पनि भएको थियो । तर, डाक्टरले बच्चाको अवस्था ठिक छ भनेपछि लक्ष्मीले आफूलाई टुइन्स बेबी जन्माउन मानसिक रूपमा तयार पारिन् । पहिलो पटकभन्दा यसपटक शारीरिक रूपमा केही असजिलाहरू देखा परे । पेट असाध्यै बढेकाले गर्भावस्थाका पछिल्ला ३ महिना निकै गाह्रो भयो ।  काम पूर्ण रूपमा छोडेर रेस्टमा बसिन् । 

एउटा बच्चा नर्मल अर्को जन्माउन अप्रेसन

टुइन्स बेबी भएकाले पनि पहिलो गर्भावस्थाजस्तो सजिलो भएन दोस्रो गर्भावस्थाको क्षण । सुत्केरी हुने समय पनि निकै कष्टकर भयो । लामो प्रसव व्यथापछि छोरी नर्मल जन्मिइन् । तर, अर्को बच्चा जन्मिएन । दोस्रो बच्चाको लागि अप्रेसन गर्नुपर्‍याे । त्यो क्षणको दुखाइ, मानसिक सन्त्रास र पीडा शब्दकोषका कुनै शब्दले व्यक्त गर्न सकिन्छ जस्तो लाग्दैन लक्ष्मीलाई । यसपटक अस्पतालको बसाइ पनि लामो भयो । 

जन्मेको केही समयमै बच्चामा जन्डिस देखियो ।  बच्चा ‘एनआइसियु’मा राखियो । नर्मल वार्डमा आमा । ठूलो बच्चा घरमा । सानाे बच्चा पनि आफ्नो साथमा छैन । यी दिनहरूका कहाली छुट्टै थिए । भन्छिन्, ‘त्यतिबेला भर्खर जन्मेकाको पनि पीर । हुर्केको बच्चो पनि कहिल्यै छोडेको थिएन । उसको छुट्टै पीर ।’ यो पीरैपीरको दिनचर्या १३ दिनसम्म चल्यो । १३ दिनपछि बल्ल उनी अस्पतालबाट डिस्चार्ज भएर घर गइन् । अस्पतालको यो बसाइमा श्रीमानले गरेको ख्याल, साथ दिन काम सकेर हरेक रात अस्पताल पुग्ने साथी दुर्गा गुरुङलाई कहिल्यै भुल्न सक्दिनन् लक्ष्मी । उनको जीवनकै सबैभन्दा कठिन दिनहरू यिनै थिए । 

घर आएपछि ठूलोको चिन्ता 

१३ दिनपछि घर आउँदा कहिल्यै आमाको काख नछोडेको ठूलो छोरो टुलुटुलु हेर्थ्याे । हिजोसम्म आफूले खेलेको काखमा अर्कै भाइबैनी थिए । यसै पनि कम बोल्न उनका छोरा झन् थोरै बोले । उनी भन्दैनथे तर लक्ष्मीलाई लाग्थ्यो ‘उसले आमाको काखको न्यास्रो मानेको जस्तो । आमाको छेउमा सुत्न मन गरेको जस्तो । काखमा लुटपुटिन चाहेको जस्तो ।’ अप्रेसन गरेको ज्यान । साना दुईटा केटाकेटी । लक्ष्मीले तत्काल ठूलो छोरालाई काखमा लिन सकिनन् । भित्रभित्रै उनलाई टिठ लाग्थ्यो । अनि आफैलाई सम्हाल्थिन् । केही दिनपछि जेठो छोरा नजिकै आउने, पलेटी कसेर बस्ने र भाइबैनी पालैपालो काखमा राखिदेऊ भन्न थाले । बिस्तारै तंग्रिदै गयो लक्ष्मीको ज्यान । सबै कुरा सामान्य लाग्न थाल्यो ।

दुईटा हुर्काउँदा निक्कै गाह्रो

मान्छेहरू भन्छन्- टुइन्स बेबी झन् धेरै सुन्दर । एकैपटक दुईवटा बच्चा हुर्कन्छन् । एकैछिनको त गाह्रो हो नि । तर भनेजस्तो सजिलो कहाँ हुन्थ्यो र ! दुईवटा बच्चा एकैपटक कहिल्यै निदाएनन् । एउटा निदाउँदा अर्काे चकचक गर्ने । निदाएको ब्युँझिएपछि ब्युँझिएको निदाउने । न रात न दिउँसो बच्चाहरूको बानी यस्तै बस्यो । बच्चालाई आमाको दुधले मात्रै पुग्दैनथ्यो । रातभरि एउटाले मात्रै बच्चा हेर्दा गाह्रो हुने भएकाले रातलाई दुई भागमा बाँडेर लक्ष्मी र झलकले बच्चाको केयर गरे । पहिलो भागमा लक्ष्मी सुत्ने । यो भागमा राति १ बजेसम्मको समय पर्थ्याे । त्यसपछि झलक सुत्थे अनि लक्ष्मी बच्चाको केयर गर्थिन् । 

यसपटक करिअर छायाँमा 

जेठो छोरा पनि सानै । टुइन्स बेबी अलगअलग स्वभाव लिएर हुर्कँदै गए । लक्ष्मीले काम बिर्सिन् । करिअर बिर्सिन् र बिर्सिदिइन् तत्कालका सपना पनि । उनको सपना भन्नु नै बच्चाको स्वास्थ्य, उनीहरूको लालनपालन र हुर्काइ बन्यो । दोस्रो पटक आमा बन्दा सँगै दौडिन सकेन सांगीतिक यात्रा । गायन छायाँमा पर्‍याे । उनलाई लाग्यो, ‘म पछि गर्न सकिहाल्छु नि । अहिले गर्दिनँ ।’ 

गायनमा फर्किनै लाग्दा सासुआमाको मृत्यु भयो । त्यसपछि पुनः केही समय गायनमा आउन भावनात्मक रूपमा पनि सहज भएन । सहज भएर काममा फर्किँदा गीत संगीतको ट्रेन केही परिवर्तन भएको थियो । समय सधैं एकै कहाँ हुन्छ र ? निरन्तर काम गरेपछि यसपछिका हरेक गीतले पहिलाको जस्तो चर्चा पाएनन् । मानिसहरुले यसलाई ‘लक्ष्मीले गाउनै छोडिन्’ भनेर बुझिदिए । यही अनुसारका समाचार बनाए । तर, लक्ष्मीले काम छोडेकी थिइनन् । समाचार र चर्चा हेरेर मन अमिलो हुन्थ्यो । फेरि पनि कामले जित्नुपर्छ भन्थिन् र निरन्तर काममा लाग्थिन् । यो क्रम आज पनि जारी छ । रफ्तार र गीतका संख्या घटेका छन् । यो लक्ष्मीको जीवनमा मात्रै लागू हुने कुरा होइन । हर कसैको आफ्नै समय हुन्छ । घामले छायाँको आकार बदलेजस्तै हो करिअरको चर्चा र चार्म्स पनि । अब त छोराछोरी पनि हुर्किए । सपनाका खाका परिवर्तन गरिरहन्छन् । झलकको चाहना छ आफ्ना तीन छोराछोरी फरकफरक सेक्टरका डाक्टर बनून् । लक्ष्मीको आँखामा छोराछोरीको प्रोफेसनलाई लिएर कुनै विशेष सपना फुलेका छैनन् । उनी चाहन्छिन्, ‘जिन्दगीका हर समस्यासँग सामना गर्नसक्ने हिम्मतिला बनून् छोराछोरी । करुणा र प्रेम उनीहरूसँगै हुर्कियोस् ।’

  • प्रकाशित मिति : कात्तिक १३, २०७८ शनिबार १२:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया