अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरी आज स्वदेश फर्काइएको छ । यससँगै हालसम्म कूल ९४० जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुगेका छन् ।
आज स्वदेश फर्केका नेपाली नागरिकहरु अनौपचारिकरुपले वैदेशिक रोजगारीको लागि स्वीकृति नलिई अफगानिस्तान पुगेकाहरू रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु काबुलस्थित बिभिन्न स्थानमा स–सानो समूहमा छरिएर रहेका थिए ।
उनीहरुलाई एउटै समुहमा आवद्ध गरी बस्ने खाने सुविधा सहित सुरक्षितरुपमा राख्ने प्रबन्ध मन्त्रालयको अनुरोधमा आइडीजी कम्पनी मार्फत गरिएको थियो ।
तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार गरी सरकारले स्वदेश फर्काइरहेको छ ।
यसै सिलसिलामा मन्त्रालयले काबुल तथा काठमाडौंस्थित भारत, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापानका दूतावास, काबुलस्थित नेटो सैन्य अधिकारी, संयुक्त राष्ट्र संघीय नियोग तथा कार्यालय, अन्य अन्तर्राष्ट्रिय संघ संस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनीहरु आदिका स्थानीय कार्यालय एवं उनीहरुका मुख्यालयहरू मार्फत कूटनीतिक पहल गरी नेपालीलाई स्वदेश फर्काएको हो ।
यस कार्यको लागि परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदल र परराष्ट्र मन्त्रालयमा रहेको नियन्त्रण कक्षले सहजीकरण गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।