तंग्रिदै ठमेल, ठूला होटल पर्यटक पर्खदै

विदेशी पर्यटक आउने मुख्य क्षेत्र ठमेलमा चहलपहल सुरु भएको छ । राजधानीको केन्द्रमा रहेको ठमेल शहर विश्वभरिका पर्यटकको केन्द्रविन्दु हो । ठमेल आन्तरिक पर्यटकभन्दा पनि विदेशी पर्यटकका लागि प्रसिद्ध छ ।  

विश्वभर फैलिएको दोस्रो चरणको कोरोना संक्रमणपछि सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले सात महिनादेखि बन्द रहेको ठमेल अहिले तंग्रिन थालेको छ । ठमेल तंग्रिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको हो ।  

कोरोनाको समयमा सुनसान भएको ठमेल बजार दसैंसँगै विस्तारै चहलपहल बढ्न थालेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । 

पछिल्लो समय नेपाल घुम्न आउने पर्यटकहरु ठमेलमा आकलझुकल देखिन थालेको परिषद्का उपाध्यक्ष भवेश्वर शर्माले जानकारी दिए । उनका अनुसार फाटफुट पर्यटक ठमेलमा देखिन थालेपनि ठूला होटलहरु अझै सुनसान नै रहेको छ ।  

पछिल्लो समय ठमेल क्षेत्र खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायीमा उत्साह थपिएको पर्यटन व्यवसायीहरुको भनाइ छ । 

ठमेलमा कोभिड–१९ अघि रात्रिकालीन चहलपहलको छुटै रौनक थियो । उक्त रौनकसँगै व्यापार व्यवसाय फस्टाएकै थियो । तर, अहिले त्यो रौनक कहिले फर्किन्छ भनेर रोत्रिकालीन होटल व्यवसायीहरु पर्खिरहेको मुन लाइट होटलका सञ्चालक सुनिल श्रेष्ठ बताउँछन् । 



व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेल छिटै लयमा फर्किने उनको विश्वास छ ।  ठमेल क्षेत्रमा करिव छ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन्।

कोरोनाको पहिलो भेरियन्टका कारण ठमेल आठ महिना बन्द भएको थियो । ठमेल क्षेत्रमा लामो समयदेखि होटल लाइन क्षेत्रमा आबद्ध रहेको सुदर्शन न्यौपानेले पछिल्लो समय ठमेलको पर्यटन बजार तंग्रिदै गएको बताए । पर्यतीय पर्यटनदेखि ट्रेकिङ रुटमा पर्यटक जान आउने सिजन भएका कारण पनि केही मात्रा भएपनि विदेशी पर्यटको आवागमनले आशा जगाएको उनको भनाइ छ ।  



ट्रेकिङका लागि उत्तम सिजनका रूपमा मार्च, अप्रिल, अक्टोबर र नोभेम्बरलाई लिने गरिन्छ।

ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलको ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुन्छ। 

ठमेल विकास परिषद्ले यसअघि कोरोनाको समयमा व्यवसायीको हितका लागि घरघनीसँग घरभाडामा ५०प्रतिशत छुटको लागि छलफल गरेका थिए । यसक्रममा केही घरधनीले छुट दिएका थिए भने केहीले केही मात्रामा भएपनि घरघभाडा छुट दिएको परिषद्ले जनाएको छ ।
ठमेल क्षेत्रमा एक हजारभन्दा बढी होटल रहेका छन्। 

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले पछिल्लो समय पर्यटक देखिन थाले पनि पूर्ण रुपमा पर्यटन क्षेत्र लयमा फर्किन केही वर्ष लाग्ने बताए । 

उनका अनुसार पर्यटक आएका छन् तर, ठूला होटलहरु धेरै खाली छन् । नेपाल घुम्न आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल घुम्न आउने सुवेदीको दाबी छ । 
ठमेललाई लयमा फर्काउनका लागि सरकार र व्यवसायीले विभिन्न प्याकेजसहित दिवाकालिन र रात्रिकालीन सेवामा छुट ल्याउनु पर्ने व्यवसायीहरुको अनुरोध छ ।  

साना होटल तथा क्याफेहरुमा पर्यटको चहलपहल बढे पनि ठूला होटल भने अझै अन्योलमा रहेका छन् । ठूला होटलमा पर्यटकको संख्या न्यून रहेको होटल व्यवसायीहरुको भनाइ छ । ठूला होटलमा १२ प्रतिशत अक्युपेन्सी पनि नभएको उनीहरुको भनाइ छ ।
 

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १३:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया