१६ वाणिज्य बैंक र पाँच विकास बैंकले घोषणा गरे लाभांश  (कसले कति ?)

यतिबेला सेयर बजारमा सूचीकृत बैंक वित्तीय संस्थाले गत आर्थिक वर्ष ०७७–०७८ को वित्तीय विवरण र सेयरधनीलाई लाभांश दिने घोषणा गरिरहेका छन् । कैयौँ बैंकिङ कम्पनीले लाभांश पनि घोषणा गरिसकेका छन् भने कतिपय गर्ने तयारीमा छन् ।  

हालसम्म १६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छन् भने ५ वटा विकास बैंकले पनि लाभांश घोषणा गरेका छन् । वाणिज्य बैंकहरुमा बैंक अफ काठमाडौं, सिटिजन बैंक इन्टरनेशनल, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक र स्ट्याण्डर्ड चार्टड बैंक रहेका छन् । यसैगरी, विकास बैंकहरुमा कामना विकास बैंक कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक र सांग्रिला विकास बैंक रहेका छन् ।  

लाभांश घोषणा गरेका बैंकहरुको आगामी साधारणसभाले उक्त प्रस्ताव पारित गर्नुपर्छ भने नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लाभांश वितरण हुनेछ ।

लाभांश घोषणा गर्ने बैंकमध्ये सानिमाले गत आर्थिक वर्षमा भएको मुनाफाबाट लगानीकर्तालाई १७ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सानिमाले उक्त लाभांशमध्ये बोनस सेयरमा लाग्ने करसमेत गरी नगद लाभांश ०.८९४७ प्रतिशत र बोनस सेयर १७ प्रतिशत दिने भएको हो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ छ ।

यस्तै हिमालयन बैंकले हाल कायम चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको हाल चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ कायम रहेको छ ।

माछापुच्छ्रे बैंकले पनि चुक्ता पुँजीको १४ प्रतिशत अर्थात् १ अर्ब २६ करोड ७४ लाख रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।



बैंक अफ काठमाडौंले पनि आफ्नो नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यसमध्ये १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत लाभांश वितरण गर्नेछ ।

यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले पनि आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ दशमलव ९१३ प्रतिशत बोनस र ३ दशमलव ०८७ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।



नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले ११ दशमलव २४ प्रतिशत बोनस र ४ दशमलव ७६ को नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो ।

यस्तै, अर्को वाणिज्य बैंक कुमारीले ८ दशमलव ६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी ८ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद (करसहित) गरी कुल १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

एनएमबी बैंकले पनि आफ्नो मुनाफाबाट १५ दशमलव ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १२ दशमलव ३ प्रतिशत बोनस सेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसअनुसार १२.५ प्रतिशत र नगदतर्फ ३.३ प्रतिशत वितरण गर्ने घोषणा गरिएको हो ।

अर्को वाणिज्य बैंक ग्लोबल आइएमईले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको १० प्रतिशत अर्थात् २ अर्ब १६ करोड ३२ लाख ५० हजार ३ सय बराबरको बोनस सेयर तथा ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै, माछापुच्छ्रे बैंक पनि चुक्ता पुँजीको १४ प्रतिशत अर्थात् १ अर्ब २६ करोड ७४ लाख रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ । उक्त लाभांशअन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड रुपैयाँ छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडले पनि आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीसँग चुक्ता पुँजी ९ अर्ब ४८ लाख २११ हजार १ सय ९५ रुपैयाँ छ ।

सिद्धार्थ बैंकले पनि आर्थिक वर्ष २०७७–०७८ को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्षकोभन्दा ५ प्रतिशत कम हो ।

यसैगरी, नेपालको पुरानो नेपाल बैंक लिमिटेडले  हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको छ ।

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

लाभांश वितरण गर्ने विकास बैंकहरुमा कामना सेवा विकास बैंकले पनि सेयरधनीलाई १९ दशमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त बैंकले आर्थिक वर्ष २०७७–०७८को नाफाबाट १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांशसमेत गरी १९ शमलव ४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कामना विकास बैंंकले पनि सेयरधनीलाई कुल १९ दशमलव ४७ प्रतिशत नै लाभांश घोषणा गरेको छ । उक्त बैंकले पनि आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट १८ दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ० दशमलव ९७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

यस्तै, सांग्रिला विकास बैंक लिमिटेडले पनि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ छ ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १८.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद लाभांश रहेको छ । हाल ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी छ ।

यसैगरी, लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाल कम्पनीकोे चुक्ता पुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५ सय छ ।

  • प्रकाशित मिति : कात्तिक १४, २०७८ आइतबार १९:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया