संगीतकारका रूपमा किन परिचय बनाउन सक्दैनन् महिला ?

२०२१ सालतिर दार्जिलिङबाट शान्ति ठटाल नेपाल आइन् । नेपाल आउनुअघि नै दार्जिलिङमा उनको राम्रो चर्चा थियो । तत्कालीन राजा महेन्द्रको निमन्त्रणमा नेपाल आएकी ठटालको नेपालीसँग गहिरो आत्मीयता गाँसियो । रेडियो नेपालका गायक–गायिकादेखि संगीतकर्मी र वाद्यवादकसँग परिचय गरिन् ।  

केही समय नेपाल बसेर दार्जिलिङ फर्किदा उनले थुप्रै सम्भावना देखेकी थिइन् । त्यही सम्भावनाका बिचमा ठटालले पहिलोपटक देवकोटाको ‘मुनामदन’ मा संगीत गरिन । यतिबेलासम्म नेपालमा केही गायिकाहरुको चर्चा थियो । लेखनमा महिलाको चर्चा पनि सुरु भएको थियो । संगीतमा भने महिलाको उपस्थिति निकै कम थियो ।

देवकोटाको मुनामदनपछि शान्ति ठटालले ईश्वरवल्लभको ‘एउटा नीलो सूर्यास्त’, बैरागी काइँला, अम्बर गुरुङ, जिएस लामा, इन्द्र थपलिया, छिन्नलता, मनबहादुर मुखिया, शशी ठटाल, नोर्देन रुम्बा, बलि सुब्बा, कालुसिंह रणपहेली लगायतका थुप्रै गीतमा संगीत गरिन् । 

शान्ति ठटालले नेपाली गीतमा संगीत गर्दागर्दै गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’ माथि फिल्म बन्ने भयो । प्रताप सुब्बाले यो चलचित्रमा शान्तिलाई छाने । यही चलचित्रमार्फत शान्तिले नेपाली चलचित्र संगीतमा ‘ब्रेक’ पाइन् । यही चलचित्रका लागि शान्तिले संगीत गरेको गीत हो, ‘उडी जाउँ भने म पन्छी होइन, बस्न त यहाँ मन छैन, लैलै...।’

जुन गीतले शान्तिलाई नेपाली स्रोतामाझ निक्कै लोकप्रिय बनायो । अरुणा लामाले गाएको यो गीतले नेपाली चलचित्र संगीतमा उज्यालो परिचय बनायो । 

पहिलो चलचित्र संगीतमा राम्रो सम्भावना देखाएकी शान्तिलाई अन्य चलचित्रका निर्माता निर्देशकले विश्वास गर्न सकेनन् । शान्तिका भन्दा कमजोर संगीत गर्ने पुरुष संगीतकारहरुले काम पाइरहेका थिए । शान्तिले भने दोस्रो चलचित्र संगीतका लागि प्रताप सुब्बालाई नै पर्खनु प¥यो । महिलालाई विश्वास गर्न उतिबेला गाह्रो थियो । 



नेपालमा रेडियो नेपालको स्थापना हुनुअघि नै मेल्वादेवीले संगीतकारका रुपमा आफूलाई उभ्याएकी थिइन् । उनले ‘झन पर जान्छु झन् माया लाग्छ लै लै...’ बोलको गीतमा संगीत गरेकी थिइन । रेडियो नेपालको स्थापनापछि कोइलीदेवी संगीतकारका रुपमा उदाइन् । उनी नेपालको पहिलो महिला संगीतकार हुन् ।

त्यसपछि पनि नेपाली संगीतमा तारादेवी, मिरा राणा लगायतका केही महिलाले संगीतकारका रुपमा आफूलाई स्थापित गर्न संघर्ष गरे । उनीहरुको चर्चा संगीतमा भन्दा धेरै गायनमा भएको पाइन्छ । संगीता राणा प्रधान, लाक्षिमित राई, लोचन भट्टराई, रेखा पौडेल लगायतका महिलाहरुले संगीतकारका रुपमा परिचय बनाउन संघर्ष गरे । 



तारादेवी र मिरा राणाहरुपछि पनि केही महिलाहरुले फाट्टफुट्ट गीतमा संगीत गरे । उनीहरुले गायनमा राम्रो छाप छोडे । तथापि संगीतमा आफ्नो पहिचान बनाउँन सकेनन् । महिलाहरुले संगीतकारका रुपमा आफ्नो पहिचान बनाउन नसक्नुका पछाडि थुप्रै कारण रहेको प्रकाश सायमी बताउँछन् । उनी भन्छन्, ‘संगीत गर्नु प्रतिभा र क्षमताको मात्रै कुरा होइन ।

एकेडेमिक शिक्षा हासिल गर्नुपर्छ । शिक्षाले मात्रै पनि पुग्दैन, एउटा संगीतकारले धेरै समय दिन सक्नुपर्छ । पुरुषहरुको दाजोमा महिलालाई गीत/संगीतका लागि मात्रै भनेर समय निकाल्न मुस्किल छ । अध्ययनका हिसाबले पनि गाह्रो । गीत गाएर छोडेको जस्तो हुँदैन । एउटा गीतको लेखनदेखि अडियो फाइनसम्म संगीतकारले समय दिनुपर्छ । जुन समय निकाल्न महिलालाई गाह्रो छ । त्यसैले पनि महिलाहरुले संगीतकारका रुपमा पहिचान बनाउन नसकेका हुन कि ?’ 

महिलालाई विश्वास गदैनन्

​नेपाली संगीतमा महिलाले आफ्नो पहिचान बनाउन नसक्नु महिलामा प्राज्ञिक ज्ञान नभएर भन्ने कुरा स्वीकार गर्न सक्दिनन् गायिका काव्य आचार्य । काव्यले गीत गाउन थालेको १९ वर्ष भयो । औपचारिक रुपमा संगीत क्षेत्रमा आउँदा नै उनले एक गीतमा संगीत गरेकी थिइन् । यो १९ वर्षमा काव्यले झण्डै डेढ सय गीत गाइन् । आफ्नै एल्बमका ४/५ वटा गीतमा संगीत पनि गरिन् । 

संगीतमै स्नाकोत्तर गरेकी काव्य १३ वर्षदेखि विभिन्न स्कुलमा संगीत सिकाउँछिन् । गीत संगीतको यो १९ वर्षे यात्रामा उनलाई कहिले कसैले संगीतका लागि अफर गरेका छैनन् । केही गीतकारहरुले गीतमा आफैं संगीत गरेर गाउन भने पनि संगीतकै लागि भनेर अफर नआएको काव्य बताउँछिन् ।

भन्छिन्, ‘म गीत संगीतका लागि प्रसस्त समय दिन पनि सक्छु । संगीतको धेरथोर ज्ञान पनि छ । तर, गीतकार तथा गीतका निर्माताहरु महिला संगीतकारलाई विश्वास गदैनन् । होइन भने यहाँ थुप्रै पुरुष संगीतकार हुनुहुन्छ जसलाई सुर तालका बारेमा ज्ञान नै छैन । टेबुल ठोकेको भरमा संगीतकार भएका छन् ।’

संगीत गर्न भन्दा गीत गाउन औसत रुपमा सजिलो हुने काव्य स्वीकार गर्छिन् । फेरि पनि अरुले भने जस्तो गीत गाएर छाडेर गायिका बन्न नसक्ने उनको तर्क छ । उनी भन्छिन्, ‘रेकर्डिङको चरणमा जानुअघि गीत प्राक्टिसमा गायिकाले पनि समय दिनुपर्छ । गायिका पनि वर्षौदेखि रियाज गरिरहेका हुन्छन् । समय त गायिकाको पनि उत्तिकै लगानी भएको हुन्छ ।’ महिला गीतकारले पनि महिला संगीतकारलाई विश्वास गर्न नसकेको नमीठो अनुभव छ उनीसँग । 

परिचय बनाउन समय लाग्छ : सुरेश अधिकारी/संगीतकार

नेपालमा हरेक क्षेत्रमा महिला पछाडि छन् । अन्य क्षेत्रमा महिला पछाडि पर्नुका कारण जे हुन् यो क्षेत्रमा पछाडि पर्नुका कारण पनि तिनै हुन् । संगीतमा जति मानिस सफल भएका छन् त्यो लागेकामध्ये ५ प्रतिशत मानिस हुन् । सरकारले ३३ प्रतिशत कोटा छुट्टाएको ठाउँमा त महिलाको संख्या नगन्य देखिन्छ । ५ प्रतिशत मानिसमा महिलाको संख्या नभेटिनु सामान्य जस्तो पनि लाग्छ । संगीतमा महिलाको कुरा गर्दा शान्ति ठटालको संगीत हामीले बिर्सनु हुँदैन । त्यसपछि पनि धेरै महिलाले संगीतमा साधना गर्नु भएको छ । 

संगीत धेरै साधना र सैद्धान्तिक ज्ञान चाहिने क्षेत्र हो । जहाँ धेरै समय लगानी गर्नुपर्छ । जुन समय महिलाहरुले हाम्रो समाजका विविध कारणले गर्दा दिन पाउँदैनन् । अग्रजहरुले हिँडेको बाटोमा हिँड्ने हो पछिल्लो पिढी । अग्रज धेरै महिलाहरु गायनमा स्थापित हुनुभयो । जुन तुलनात्मक रुपमा संगीतभन्दा सजिलो र कम समयको काम थियो । तर, अब विस्तारै शैक्षिक हिसाबले पनि महिलाहरु अब्बल हुँदैछन् । संगीतमा राम्रो काम गरिरहेका महिलाहरु थुप्रै हुनुहुन्छ । परिचय नै त्यही रुपमा स्थापित गर्न केही समय लाग्छ । पुरुषहरु पनि एकै पटक स्थापित भएका होइनन् । 

संगीतकारकै रुपमा महिलाले सपना बनाउँन सकेका छैनन्
संगीता राणा प्रधान/ संगीत शिक्षक 

गीत/संगीतको रुचि कुन उमेरबाट थियो ?

सानैबाट म गीत गाउँदै हिँड्थे । आमालाई संगीत असाध्यै मन पर्दोरहेछ । आमाले संगीतमा लाग्न पाउँनु भएन । आमा आफ्नो रहर छोरीमा हेर्न चाहानुहुन्थ्यो सायद । त्यसैले मैले ६ वर्षको उमेरबाटै संगीत सिक्न पाए । मेरै समयमा पनि धेरै छोरीहरुले गाउँने नाँच्ने गर्न पाउँदैनथे । 

संगीत पढाउन थाल्नु भएको कति भयो ?

३० वर्ष लाग्न लाग्यो । 

यो ३० वर्षमा संगीतमा महिलाको सहभागिता कस्तो पाउनु भएको छ ?

सुरुमा त संगीत कक्षामा महिलाको संख्या नै हुँदैनथ्यो । १÷२ जना मुस्किलले भेटिन्थे । उनीहरु पनि अन्य प्रोफेसनमा लागिसकेपछि रहरले संगीत सिक्न आउँने हुन्थे । घरबाट छोरीहरुको संगीतको रुची र झुकावलाई प्राथमिकतामा राखेर पढाउने अभिभावक कम नै थिए । तीन दशकअघिको समयलाई फर्किएर हेर्ने हो भने समाजमा पुरुषहरुले नै गाएको राम्रो मानिदैनथ्यो । यस्तो समयमा पनि छोरीहरुले संगीत भनेर पढ्न आउनु ठूलो कुरा हुन्थ्यो । पछिल्लो समय धेरै कुरा परिवर्तन भएको छ । संगीतमा महिला सहभागीता राम्रो छ । 

तपाईले संगीत सिकाएका छात्राहरुले संगीतकारका रुपमा आफूलाई स्थापित गराएका छन् ?

सिक्न आएका सबै अब्बल हुँदैनन् । एउटै बोटमा फलेको फलको आकार त फरक फरक हुन्छ । झन फरक फरक परिवेशबाट आएका मान्छेको सिकाइको स्तर फरक हुने भइहाल्यो । तथापि मैले संगीत सिकाएका थुप्रै छात्राहरूले नेपाली गीत÷संगीतमा राम्रो गर्नु भएको छ । निरन्तर यही फिल्डमा हुनुहुन्छ । केही छात्राले संगीत पनि गर्नुभयो । तर, धेरै संगीतमा भन्दा गायनमै अब्बल देखिए । संगीतकार नै भनेर परिचय लेख्ने चाही बनेका रहेनछन् । संगीतकार नै बन्नुपर्छ भन्ने जरुरी पनि छैन । 

महिलाले संगीतकारकै रुपमा परिचय बनाउन के कारणले सकेका छैनन् ?

सबैभन्दा पहिलो कुरा चाहाना हो । सपना हो । धेरैजसो सपना पुस्तान्तरण हुँदै आउँछन् । संगीतमा आएका अग्रज महिलाहरु गायनमै आउनुभयो । तीनै सपना पुस्तान्तरण हुँदै आउने क्रममा पछिल्लो समयसम्मका महिलाहरुले संगीतलाई मात्रै सपना बनाउन सकेनन् । मेरो सपना नै संगीतकार बन्न सकेन । मैले चाहेको भए संगीत गर्न सक्थे । विद्यार्थीहरुलाई सिकाउने क्रममा कयौं गीत गरिएको पनि छ । तर, अहिलेसम्म पनि गायनमै आनन्द आउँछ । अन्र्तराष्ट्रिय स्तरमै पनि महिला संगीतकार निक्कै कम छन् । अब विस्तारै यो ट्रेण्ड परिवर्तन हुँदैछ । बल्ल त छोरीहरूले आफ्ना सपना आफैं देख्न सुरु गरेका छन् ।

संगीतमा महिला आउन नसक्नुको कारण सैद्धान्तिक ज्ञानको कमी र समय दिन नसक्नु हो भन्छन् नी ?

यो गलत हो । एसियन देशमा पुरुषको डोमिनेसनमा बस्नु पर्ने बाध्यता छ । महिलाहरु गाह्रो भएर संगीतमा नआएका होइनन् । अहिलेका धेरै पुरुष संगीतकारमा पनि सैद्धान्तिक ज्ञान छैन । त्यसैगरी गर्ने हो भने महिला पनि संगीतकारका रुपमा अगाडि आउन सक्छन् । फेरि पनि त्यही हो, महिलाहरुले संगीतकारकै रुपमा पहिचान बनाउँछु भनेर निक्कै कम आए । वास्तवमा संगीतकार धेरै छन् । तर राम्रो संगीतकार निक्कै कम छन् । 

कति महिलाहरु हामीसँग क्षमता हुँदा पनि इन्डष्ट्रीले पत्याएन भन्छन्, हो ?

आफ्नो एल्बममा कतिपय महिलाहरुले संगीत गर्नु भएको छ । एल्बममा संगीत गरेका छु  भन्दैमा हुँदैन फेरि । मासको विश्वास लिनका लागि राम्रो संगीतकारका रुपमा अगाडि आउन सक्नुपर्छ । साँच्चै राम्रो छ भने महिलाको भनेर नपत्याउने भन्ने हुँदैन । एक जमानामा शान्ति ठटालले फिल्ममा नै संगीत गर्नु भएको छ । 
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १३:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया