ठूलो दलको हैसियतले सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले पाउनुपर्छ : प्रदेश इन्चार्ज शाह

नेकपा (एकीकृत समाजवादी) पार्टीकी सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले ठूलो दलको हैसियतले प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताएकी छन् । पार्टीको प्रदेश कमिटीको पहिलो बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

 ‘प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व हाम्रै पार्टीले गनुपर्छ । यसबारे अध्यक्ष माधव कुमार नेपालसँग कुरा भएको छ । हामीले लिखित माग पनि गरेका छौँ,’ उनले भनिन् । गठबन्धन सरकारलाई एकीकृत समाजवादीको साथ रहे पनि बहुमतको आधारमा प्रदेशको नेतृत्व परिवर्तन हुनुपर्ने माग पार्टीले अघि सारेको उनले बताइन् ।

पाँचदलीय गठबन्धनमा सहभागी दलले नेतृत्व पाएका प्रदेशमा माघदेखि नेतृत्व हेरफेर हुने बताउँदै उनले त्यसो भएमा सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले गर्ने दाबी गरिन् ।

‘माघ–फागुनदेखि सबै प्रदेशमा सरकारको नेतृत्व फेरबदल हुनेछ,’ प्रदेश इन्चार्ज शाहले भनिन्,‘यो गठबन्धन दलबीच भएको सहमति नै हो, त्यसअनुसार ठूलो दलको हैसियतले सुदूरपश्चिमको नेतृत्व एकीकृत समाजवादीले नै गर्नेछ ।’
 
पहिलो बैठकले पार्टीले कात्तिक २० गते जिल्लाभित्र कमिटी गठन, पुनःगठन एवं विस्तार, पार्टीको संगठित सदस्यता प्राप्त गरेको पुरानै मितिलाई कायम गरेर मंसिर २० गतेसम्म सदस्य नवीकरण गरिसक्नुपर्ने, पुस मसान्तसम्म एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य बनाएर अभियानकै रुपमा सञ्चालन गर्ने, मंसिर ३ गते प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना धनगढीमा गरिनेलगायत कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

त्यस्तै, समाजवादीले प्रदेश कमिटीका पदाधिकारीको कार्यविभाजन समेत गरेको छ । संगठन विभाग प्रमुखमा शेरबहादुर कुँवर, पार्टी स्कुल विभाग प्रमुखमा हर्कबहादुर सिंह, प्रदेश कार्यालय व्यवस्थापन प्रमुखमा दिनेशचन्द्र सुवेदी, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा दीर्घ सोडारी, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा तारा लामा तामाङ तथा महिला फाँट प्रमुखमा माया भट्टलाई चयन गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक १५, २०७८ साेमबार १७:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया