काठमाडाैं– तिहारको समयमा सहर होस् या गाउँघर झिलिमिलीका बत्तीहरूले देश नै झिलिमिली भएको हुन्छ । पहिलाको समयमा माटोका दियोमा बत्ती बालेर तिहार मनाउने प्रचलन थियो । तर, अहिलेको नेपाली युगमा बिजुलीका विभिन्न झिलिमिली बत्तीहरूले सहर तथा गाउँघर सजाएरै तिहार मनाउने प्रचलन बढ्दै गएको छ ।
नेपालमा विषेशतः तिहारमा झिलिमिली रंगीविरंगी बिजुली बत्तीलगायत अन्य बत्ती बर्सेनि छिमेकी राष्ट्र भारत, चीन, अमेरिका, थाइल्यान्ड, जर्मनीलगायत देशबाट आयात हुन्छन् । तर, पछिल्ला वर्षहरूमा अधिक मात्रामा छिमेकी राष्ट्र भारत र चीनबाट भित्रिने गरेका छन् ।
तिहारको समयमा बढी बिक्री हुने यस्ता झिलिमिली बत्ती सहरका कुनाकाप्चासम्मका पसलमा बिक्री हुने गर्छन् । मन्दिरमा होस् या घरै सजाउन तिहारमा झिलिमिली बत्तीको माग बढी हुन्छ ।
नेपालमा बाह्य मुलुकबाट भित्रिने यस्ता झिलिमिली बत्ती गत वर्षभन्दा बढी मूल्यको आयात भएको छ । सामान्यतया आर्थिक वर्षको सुरुका ३ महिना अर्थात् साउन, भदौं, असोजमा झिलिमिली बत्ती बढी भित्रिन्छन् ।
गत आर्थिक वर्षको ३ महिनामा नेपालमा २७ करोड ५५ लाख मूल्यबराबरका झिलिमिली बत्ती आयात भएका थिए । चालू आर्थिक वर्षको ३ महिनामा भने ७ करोड बढेर ३४ करोड ३८ लाख मूल्यबराबरका झिलिमिली बत्ती आयात भएका छन् ।
जसअन्तर्गत, सबैभन्दा बढी चीनबाट मात्र २८ करोड ३२ लाखका झिलिमिली बत्ती भित्रिँदा भारतबाट ५ करोड ३१ लाख मूल्यबराबरका बत्ती भित्रिएका छन् । यस्तै, अमेरिकाबाट ४२ लाख ३ हजार, जापानबाट १२ लाख १७ हजार, जर्मनीबाट १० लाख ३५ हजारलगायत अन्य विभिन्न मुलुकबाट बिजुली बत्ती भित्रिएका हुन् ।
चालू आर्थिक वर्षमा चीनबाट मात्र ८२ दशमलव ३७ प्रतिशत बत्तीको आयात हुँदा भारतबाट १५ दशमलव ४५ प्रतिशत झिलिमिली बत्तीको आयात भएको छ । यस्तै, गत आर्थिक वर्षको पहिलो ३ महिनामा पनि चीनबाटै सबैभन्दा बढी झिलिमिली बत्ती भित्रिएका थिए । चीनबाट २३ करोड ४१ हजारको बत्ती भित्रिएको हो ।
यस्तै, भारतबाट ४ करोड २९ लाख, थाइल्यान्डबाट ७ लाख ३० हजार, जापानबाट ९ लाख ८० हजार, जर्मनीबाट २ लाख ३९ हजार, इटालीबाट १ लाख ७७ हजार, अमेरिकाबाट १ लाख २४ हजार र अन्य मुलुकबाट पनि भित्रिएका छन् ।
जसअन्तर्गत, चीनले ८३ दशमलव ५० प्र्रतिशत ठाउँ ओगेटेको देखिन्छ । यस्तै, भारतले मात्र १५ दशमलव ५७ प्रतिशत आयातमा ओगेटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै, विभागको तथ्यांक हेर्दा, आर्थिक वर्ष २०७३–०७४ को पहिलो ३ महिनामा पनि चीनबाट सबैभन्दा बढी १० करोड १५ लाख मूल्यबराबरका बत्ती आयात छ । भारतबाट २ करोड ६० लाखको आयात भएको छ । जम्मा १३ करोड २७ लाख ४२ हजारको बत्ती आयात हुँदा चीनले ७६ दशमलव ४९ प्रतिशत आयातमा ठाउँ ओगटेको छ भने भारतले आयातमा १९ दशमलव ६२ प्रतिशत ठाउँ ओगेटेको छ ।
झिलिमिली बत्तीले लोडसेडिङ गराउला ?
नेपालमा १६ देखि १८ घन्टा दैनिक लोडसेडिङ भइरहँदा गत वर्ष विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले लोडसेडिङको अन्त्य गरे । तर, हरेक वर्ष तिहारको समयमा झिलिमिली बत्तीको माग बढ्दै जाँदा चालू आर्थिक वर्षमा लोडसेडिङ होला भन्ने अनुमान गर्न सकिन्छ ।
तर, प्राधिकरणका प्रबन्धक निर्देशक घिसिङले फरकधारसँग कुरा गर्दै लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । घिसिङले झिलिमिली बत्तीको नेपालमा आयात बढे पनि तिहारको समयमा उद्योग बन्द हुने भएकाले लोडसेडिङ नहुने बताएका हुन् ।
‘अहिले सामान्यतया साँझपख पिक आवरमा १२ सय ६० मेघावाट विद्युत् खपत भइरहेको छ ।’ घिसिङले भने, ‘झिलिमिली बत्तीले ६० देखि १०० मेघावाटसम्म थप विद्युत् बढ्न सक्ने सम्भावना रहे पनि प्राधिकरणले उक्त मागको पूर्ती गर्न सक्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।