जति पुरानो उति लोकप्रिय गीत : निधारमा लर्काएर सप्तरंगी टीको

‘निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिरहु सधैँ तिमी शिखरको बाटो ।
ओखरमा फोरिदिए बाधाहरू मैले 
जता पनि पुग दाजै घामभन्दा पहिले ।।’

तिहार नजिकिँदै गर्दा रेडियो र टेलिभिजनमा यो गीतको सिजन सुरु हुन्छ । २०४६ साल अघिसम्म कुनै पनि चलचित्रमा तिहारको गीत समावेश गरिएका थिएनन् । 

त्यो बेलासम्म गीतकार दिनेश अधिकारीले फिचर फिल्मका लागि गीत लेखेका थिएनन् । त्यो समयमा निर्माण हुने प्रायः चलचित्रमा दसैँ–तिहार जस्ता पर्वका चलचित्रले बढी प्राथमिकता पाउँथे । 

त्यही समयमा चलचित्र ‘विजय पराजय’ निर्माण हुने भयो । राजेन्द्र सलभले निर्देशन गरेको यो चलचित्रको गीत लेख्न दिनेशलाई अफर आयो । उनका लागि यो अफर ठूलो थियो । कारण यतिबेलासम्म उनी चलचित्र गीतकारका रूपमा अगाडि आएका थिएनन् । 

गीत लेखनको लागि दिनेशलाई कथा सार सुनाइएको थियो । उनले त्यही कथासारमा यो गीत सिर्जना गरेका हुन् । गीत रेकर्ड भएर पहिलोपटक सुन्दा निकै रमाइलो माहोल भएको थियो । 

गीतमा शम्भुजित बाँस्कोटाले संगीत गरे । हेमलताले गाएको यो गीत आज पनि उस्तै कालजयी छ । गीतमा दाजुबहिनीबीचको स्नेहलाई प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीतले दिनेशलाई चलचित्र गीतकारमा पनि स्थापित गराउन ठूलो मद्दत गर्‍यो।  



झण्डै ३० वर्षअघि रेकर्ड भएको यो गीतको धेरै लामो कथा छैन दिनेशसँग । चलचित्र बन्ने भएपछि उनलाई लेख्नका लागि अफर आएको थियो । उनले लेखेको गीत सिनेमामा समावेश भयो । तत्कालिन समयमा सीमित रेडियो र टेलिभिजन थिए । 

तिहार आउँदा मात्र सो गीत बज्थ्यो । तिहार सकिएलगत्तै एक वर्षसम्म यो गीत शान्त रहन्थ्यो । गीत कतिपटक बज्यो, स्रोताले गीतलाई कसरी लिएका छन् भनेर दिनेशलाई त्यति जानकारी हुँदैनथ्यो ।



समय फेरियो, स्रोता फेरिए, फेरियो गीतसंगीतको स्वाद । पर्व मनाउने तरिका पनि फेरिए । यो गीत सुनेर हुर्किएका पुस्ता पाको भयो । तर घटेन यो गीतको लोकप्रियता । बरु पछिल्लो समय यो गीतको लोकप्रियता झन बढेको छ । यति लामो समयमा लोकप्रियता घट्नुपर्ने हो तर यो गीतको ठाउँ अन्य गीतले अहिलेसम्म पनि लिन सकेका छैनन् ।

हरेक वर्ष तिहार नजिकिँदै गर्दा दिनेशको इनबक्स यही गीतको क्लिप्सले भरिने गरेको छ । तिहारको हरेक गतिविधिमा गीत बजाएर भिडियो बनाउनेहरूले दिनेशलाई भिडियोका क्लिप्स पठाउने गरेका हुन् । दिनेशलाई ती सामग्री हरेर खुसी लाग्छ । 

पछिल्लो समय भाइटीका सुरु भएपछि मानिसहरू पृष्ठभूमिमा यही गीत बजाएर टीका लगाउँछन् । ‘दिदीबहिनीले दाजुभाइले दिने आशीर्वादको रूपमा यो गीतको प्रयोग हुन थालेको छ । अघिल्लो वर्ष मात्रै गीत पृष्ठभूमिमा बजाएर टीका लगाएका देश तथा विदेशबाट ३० वटा भिडियो मलाई म्यासेज आएको थियो । गीतको यो खालको लोकप्रियता देख्दा निक्कै खुसी लाग्छ,’ दिनेशले भने ।

उनलाई सबैभन्दा मनपर्ने पर्व पनि तिहार हो । तिहारसँग थुप्रै सांस्कृतिक पक्ष जोडिएका छन् । मनपर्ने पर्वसँग गीतमार्फत जोडिएको छुभन्दा दिनेशलाई अर्कै किसिमको खुसी मिल्छ । उनी भन्छन्, ‘आफूलाई मनपर्ने पर्वको संस्कृतिसँग जोडिएर काम गर्न पाएको छु । गीत जति पुरानो भयो उति लोकप्रिय बन्दै गएको छ । एउटा सर्जकका लागि यो खुसी तुलना गर्ने अन्य कुनै पाटो र पक्ष हुँदैन रहेछ ।’  

  • प्रकाशित मिति : कात्तिक १६, २०७८ मंगलबार १४:३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया