चीनले जनायो असन्तुष्टि– नाकाका समस्या नेपालले हल गरेन, कहिले हट्ला नेपालमाथिको अघोषित नाकाबन्दी ?

कोरोना महामारीपछि नेपाल र चीनबीचको नाकाहरु सहज बन्न सकेका छैनन् । एक प्रकारले नाकाहरु अघोषित एकतर्फी नाकाबन्दीको अवस्थामा छन् । 

चीनसँग नेपालको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानीबाट यो अवधिमा एकतर्फी रुपमा मात्र व्यापारिक गतिविधि हुँदै आएको छ । पछिल्लो करिव २१ महिनामा रसुवागढी र तातोपानी नाका हुँदै नेपालबाट कुनै पनि वस्तु चीन गएको छैन । चीनबाट भने निरन्तर आइरहेको छ । 

कोरोना महामारी सुरु भएपछि सुरुमा नेपालले २०७६ माघ महिनामा चीनसँगको नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि तातोपानी र रसुवागढी नाका नेपाली सामाग्री चीन जाने गरे खुलेका छैनन् । चीनबाट एकतर्फी रुपमा मात्र सामान नेपाल आइरहेको छ । 

कोरोना महामारी नियन्त्रण गर्ने भन्दै चीनले नेपालबाट सामाग्री तातोपानी र रसुवागढी नाका हुँदै आफ्नो प्रवेश गर्न दिएको छैन । 

पछिल्लो करिव २१ महिनामा नेपालबाट एक रुपैयाँको पनि सामाग्री रसुवागढी र तातोपानी नाका हुँदै चीन तर्फ गएको छैन । चीनबाट भने सो अवधिमा ३२ अर्ब ७४ करोड ५२ लाख ४० हजार रुपैयाँको वस्तुहरु नेपाल भित्रिएको छ । 

नाकालाई सहज बनाउन पटक पटक नेपालले चीनलाई अनुरोध गरे पनि चीनले भने कोरोना महामारी देखाउँदै पन्छिँदै आएको छ । 



यसैबीच पछिल्लो पटक चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत नवराज ढकालले तिब्बत परराष्ट्र कार्यालयका उपमहानिर्देशक लिउ लिनसँग तातोपानी र रसुवागढी नाकाबाट निर्यात बढाउने विषयमा यही कात्तिक १२ गते छलफल गरेका थिए । 

छलफलमा ढकालले तातोपानी नाकाबाट दैनिक २० वटा ट्रक नेपाल जाने सहमति भएको हाल १८ वटासम्म मात्र जाने गरेकोमा गुनासो गरेका थिए । उनले दैनिक सहमति गरे अनुसार दैनिक २० वटै ट्रक नेपाल पठाउन आग्रह गरेका थिए । 



उपमहानिर्देशक लिउ लिनले रसुवागढी–केरुङ नाकाबाट हाल दैनिक ९ वटा ट्रक नेपाल गइरहेको जानकारी दिएका थिए । छलफलमा सहभागी स्रोतका अनुसार उनले नाकामा रहेका नेपाली कामदारको क्षमता वृद्धि गरी सामान अनलोडको काम छिटो सम्पन्न गर्न नेपाली पक्षलाई अनुरोध गरेका थिए । 

उपमहानिर्देशक लिउ लिनले नेपाली समय अनुसार विहान ११ः४५ बजे भित्र चिनियाँ ट्रकहरुलाई चीन तर्फ फर्कने व्यवस्था मिलाउन पनि ढकाललाई आग्रह गरेका थिए । यस्तो गर्न सके मात्र दोस्रो सिफ्टमा थप ७ वटा गरी दैनिक कूल १४ वटा ट्रक नेपाल पठाउन सकिने उनले जनाए । 

‘दुवै नाका (रसुवागढी र तातोपानी)मा कार्यरत नेपाली र चिनियाँ अधिकारीहरूबीच निरन्तर सम्वाद र सूचना आदानप्रदान नहुनाले साना–साना समस्याहरु हल गर्न पनि कठिन हुँदै आएको छ,’ उपमहानिर्देशक लिउ लिनले नेपाली पक्षसँग असन्तुष्टी जनाए, ‘नाकामा कार्यरत नेपाली र चिनियाँ अधिकारीहरूबीच सम्पर्क स्थापित गराउन नेपाली महाबाणिज्यदूतावासले समन्वय गर्नुपर्यो ।’ 

उपमहानिर्देशक लिउ लिनले असन्तुष्टी जनाएपछि महावाणिज्यदूत ढकालले उक्त कुरामा सहमति जनाउँदै दुवै नाकामा कार्यरत नेपाली अधिकारीसँग कुराकानी गरी चिनियाँ अधिकारीसँग सम्पर्क स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

सीमा नाकामा कार्यरत दुवै देशका भन्सारसँग सम्बन्धित कर्मचारी बीच ‘विच्याट ग्रुप’ बनाएर संवाद स्थापित गर्ने सहमति छलफलका क्रममा दुई पक्षबीच भएको छ । 
छलफलका क्रममा महाबाणिज्यदूत ढकालले तातोपानी र केरुङ नाकामा कार्यरत नेपाली र चिनियाँ अधिकारीहरु लगायत तिब्बत परराष्ट्र कार्यालय र अन्य सम्बन्धित निकायबीच निकट भविष्यमै भर्चुअल मिटिङको आयोजना गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा उपमहानिर्देशक लिउ लिनले सहमति जनाएका थिए । 

छलफलमा महाबाणिज्यदूत ढकालले चीनबाट नेपाल जाने रासायनिक मल बिना अवरोध नेपाल जान सहजीकरण गरिदिन तिब्बती पक्षलाई अनुरोध गरेका थिए । त्यसमा तिब्बत पक्षले आफूहरु सकारात्मक रहेको बताएका थिए । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा तातोपानी र रसुवागढी नाकाबाट नेपालबाट कुनै पनि वस्तु तथा सामाग्री चीन तर्फ निर्यात भएको छैन । सोही अवधिमा चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै  नेपालमा ९ अर्ब ८८ करोड १२ लाख ५ हजार रुपैयाँको वस्तु भित्रिएको छ । 

चीनसँग नेपालको प्रमुख नाका तातोपानी र रसुवागढीबाट अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा पनि कुनै वस्तु चीन तर्फ गएको छैन । सो वर्ष चीनबाट ती नाका हुँदै नेपालमा २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा तातोपानी र रसुवागढी नाका हुँदै नेपालबाट चीनमा ७२ करोड ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । सोही अवधिमा ती नाका हुँदै चीनबाट नेपालमा ३६ अर्ब ५८ लाख ४२ हजार रुपैयाँको वस्तु भित्रिएका थिए । 

आर्थिक वर्ष २०७५/७६ मा तातोपानी नाकाबाट मात्रै नेपालले १ अर्ब २० करोड ९६ लाख १६ हजार रुपैयाँको वस्तु चीनमा निर्यात गरेको थियो । २०७२ सालको भूकम्पले क्षति गरेपछि उत्त वर्षसम्म तातोपानी नाका भने सञ्चालनमा आएको थिएन । उक्त वर्ष चीनबाट रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको सामाग्री नेपाल भित्रिएको थियो । 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १२:६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया