प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप- २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् ।
भेटकाे अवसरमा दुई नेताबीच द्विपक्षीय सम्बन्धलगायतका विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको पूर्वाधार, रेलमार्ग, पेट्रोलियम पाइप लाइन, पुनर्निर्माणका परियोजनालगायतका क्षेत्रमा भारतले गरेको सहयोगप्रति मोदीलाई धन्यवाद दिएका थिए । त्यस्तै, कोभिडविरुद्धको खोप र औषधि आपूर्तिमा नेपाललाई भारतले प्रदान गरेको सहयोगप्रति पनि प्रधानमन्त्री देउवाले मोदीलाई धन्यवाद दिएका थिए ।
विगतमा जस्तै रसायनिक मलको आपूर्तिमा भारतको निरन्तर सहयोग हुने पनि देउवाले आशा व्यक्त गरे । सो अवसरमा देउवाले महेन्द्रनगर, धनगढी, नेपालगन्ज र भैरहवाबाट थप हवाइमार्ग प्रवेशका लागि अनुमति दिन भारत सरकारसँग अनुरोध गरे ।
जबाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल-भारत सम्बन्धलाई अझै सशक्त बनाउन थप कार्य गर्ने बताउँदै नेपाललाई आवश्यकताअनुसार पूर्ण सहयोग गर्ने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्षेसँग पनि भेट गरेका थिए । भेटका अवसरमा दुई देशबीच शिक्षा र सांस्कृतिक सम्बन्ध प्रबर्द्धन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
-न्युज कारखाना
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।