[अन्तर्वार्ता ] चिल्लो र गुलियाे खानेकुरा खाएको बेला फलफूलमा जोड दिनुपर्छ

हिन्दूहरूको दोस्रो महान पर्व तिहार घरआँगनमा भित्रिएको छ । रंग, फूल र बत्तीले झिलिमिली हुने पर्व तिहार हरेक नेपालीले हर्षोल्लासका साथ रमाइलो गरी मनाउने गर्छन् । तिहारले दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउँछ । चाडबाडका बेला परिवारका कुनै पनि सदस्य बिरामी नपरोस् भनेर खानेकुरामा विशेष ध्यान दिनुपर्छ । चाडपर्व मनाउँदै गर्दा स्वास्थ्यको ख्याल गरी कस्ता खानेकुरा खाने र चाडवाड कसरी स्वस्थ्यकर तरिकाले मनाउने भन्ने विषयमा पोषणविद् उत्तम आचार्यसँग फरकधारकर्मी नमिता दाहालले गरेको कुराकानीको सारसंक्षेप :

तिहारका बेला कस्ता खानेकुरा खाँदा ठीक हुन्छ ?

तिहारका बेला नेपाली संस्कारअनुसार चिल्लो एकदमै धेरै खाइन्छ । जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हो । तिहारमा खाइने गुलियो, माछामासु तथा चिल्लो पदार्थहरू कम खानुपर्छ ।  मासु धेरै खानु राम्रो मानिँदैन । घरमा बनाएको पोषिलो राम्रो भन्ने चलन छ । तर घरमा नै बनाएको भए तापनि यी खानेकुराहरु धेरै खानु राम्रो भने होइन । मासु गर्भवती, सुत्केरी, २ देखि ५ वर्षसम्मका बच्चाहरुको लागि राम्रो चिज हो । यो उनीहरुका लागि बढ्दो उमेरको साथसाथै चाहिने पोषण तत्व हो । तर मोटोपना भएका र मधुमेह भएका व्यक्तिहरूका लागि मासुको अधिकतम प्रयोग राम्रो होइन ।

सामान्यतः चिल्लो तथा गुलियोजन्य पदार्थले कसरी शरीरलाई हानी पुर्‍याउँछ ?

तिहारमा खाइने खानेकुराहरू गुलियो चिल्लो बढी हुन्छन् । जसमा मासु, सेलरोटी, रोटीका विभिन्न प्रकारहरु, मिठाईका प्रकारहरूले कसैलाई पनि राम्रो गर्दैन । खानेकुरा खाँदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्नु पर्दछ । बढी उमेर भएका, मोटोपना भएका अन्य स्वास्थ्य समस्या भएका व्यक्तिले पनि मासुको परिकार बढी प्रयोग गर्दा समस्या झन बढ्ने हुन सक्छ । एक/दुई दिनको रमाइलो गर्ने नाममा आफ्नो स्वास्थ्य नै बिग्रने गरी खानेकुराहरु खान भएन । पेटको समस्या दीर्घरोगजस्ता समस्याहरु पनि थप गर्न सक्छ । हरेक कुरा खानुस् तर सन्तुलित रुपमा खानुस् । 

तिहार मिठाईको पर्व पनि हो । बाहिरबाट ल्याएका मिठाईहरू सकभर प्रयोग नगरौं । गर्नै परेमा कस्ता ठाउँमा बनेका मिठाई हुन् त्यो विचार गर्नुपर्छ । कस्तो तेलको प्रयोग गरिएको छ ? कस्तो खाद्यवस्तु प्रयोग गरिएको छ ? त्यो पनि विचार गर्नुपर्छ । 



चिल्लो पदार्थ सँगसँगै कस्ता खानेकुराले हाम्रो पाचन प्रणालीलाई सहयोग गर्छन् ?

विभिन्न प्रकारका चिल्लो तथा मिठाईजन्य खाद्यवस्तुसँगै हामीले फलफूल पनि खानुपर्छ । फलफूलको पनि आफ्नै महत्त्व हुन्छ । तरकारी तथा फलफूलको पनि समान तथा असन्तुलित प्रयोगले खानेकुरामा असन्तुलन ल्याउँछन् । त्यस्तै कागतीको रस सर्बत बनाएर खान सकिन्छ । केही मात्रामा घरमा नै बनाइएका ताजा अचारहरूको प्रयोग गर्न सकिन्छ । दहीको प्रयोग गर्न सकिन्छ । 



यद्यपि चिल्लो र गुलियो पदार्थ चाहिँ सकेसम्म प्रतिबन्ध तथा सक्दो कम प्रयोग गर्नुपर्दछ । कुनै मानिसले दिनमा १५ वटा सेल खान्छन्, त्यसरी खानु भएन । मनपर्छ भन्दैमा कति खाने भन्ने कुरा भुल्नु हुँदैन । मधुमेह, मोटोपना भएका व्यक्तिहरू छन् भने एकदमै कम खानुपर्छ । यससँगै ‘ड्राइफ्रुट्स’हरू खानुपर्छ ।

खानेकुरामा ध्यान नदिँदा के कस्ता स्वास्थ्य समस्या आइपर्न सक्छन् ?

शरीरलाई अपच हुने गरी खानु भएन । यसरी खाएको खण्डमा फुड पोइजनिङ, पेट दुख्ने, अपच हुने, बान्ता हुने जस्ता समस्याहरु देखा पर्न सक्छन् । यी भनेको तत्काल देखिने असर भए । यसका साथै दीर्घरोग पनि देखिन सकिन्छ । धेरै चिल्लो पदार्थको प्रयोगले मुटुमा समस्या पनि हुन सक्दछ । 

खानेकुराका लागि कस्ता स्रोतहरूलाई प्राथमिकतामा राख्ने ?

सबैभन्दा बढी स्वास्थ्यवर्द्धक भनेको घरको खानेकुरा नै हुन्छ । घरमा पाइने, ताजा खानेकुराहरु नै बढी प्रयोग गर्नुपर्छ । हामीले मासु बाहिरबाट ल्याउँछौं । खुल्ला ठाउँको मासु ल्याउनु भएन । अनि अर्को दाजुभाइलाई खुवाउने भनेर ल्याइने मिठाईहरू सकेसम्म घरमै बनाऔं । बाहिरका मिठाईमा रङ राखेर एकदमै आकर्षक बनाइएको हुन्छ । ती मिठाईहरूले स्वास्थ्यमा नकारात्मक असर पार्छ । अखाद्य खानेकुराहरु मिसाइएको हुनसक्छ । मिठाई र मासुमा भने एकदमै ध्यान दिनुपर्छ । फलफूल र तरकारीहरू हेरेर पनि थाहा पाउन सकिन्छ । कुन खाँदा ठीक कुन बेठीक भनेर यस्ता कुरामा भने ध्यान दिनुपर्छ । 

चिसो पेय पदार्थ तथा बजारमा पाइने  पेय पदार्थहरूमा बढी प्रयोग गरिएको पाइन्छ, यो उचित हो ?

चिसो पेय पदार्थको प्रयोग कदापि ठीक होइन । यस प्रकारका पेय पदार्थमा गुलियो बनाउन विभिन्न केमिकलहरू बढी प्रयोग गरिन्छ । खाँदा खासै गुलियो नलागे पनि यसमा विभिन्न रसायनहरूको प्रयोग गरिएको हुन्छ । कार्बोनेट बाटर, कार्मेल कलर, कफिन, फस्फोरिक डाइअक्साइडजस्ता केमिकलहरु प्रयोग गरिएको हुन्छ । जुन हाम्रो स्वास्थ्यको ठीक होइन । 

यस्ता खानेकुरा नखाएकै राम्रो हो । बरु यसको सट्टा कागती पानी खान सकिन्छ । जस्तै तिहार तथा अन्य पर्व र कुनै पनि बेला खानै नहुने भनेको अल्कोहलजन्य पदार्थ हुन् । यो स्वास्थ्यको लागि मात्रै नभई सामाजिक रुपमा पनि एकदमै अखाद्य वस्तु हो । चाडपर्वका बेला झैझगडा हुन सक्ने पनि हुन सक्छ । 

अन्त्यमा, तिहार मनाउँदै गरेकाहरूका लागि तपाईंका केही सुझाव छन् कि ?

तिहार सबैले स्वस्थ र खुसी भएर मनाऔं । आफ्ना केही रोग भएमा त्यसको ख्याल राखौं । चिल्लो, गुलियो कम खानुस् । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् । माछामासु मात्रै नभई फलफूल र तरकारी, सागपात पनि खानुस् । तिहार मनाउन लाग्नुभएका सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 
 

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १५:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया