अध्ययनविनाको विकासले निम्त्यायो विनाश : सुनसरी-मोरङ करिडोरमा २ अर्ब ४७ करोडको क्षति

गत कार्तिक ३ गते आएको बाढीका कारण सुनसरीको इटहरीस्थित रिलायन्स स्पिनिङ मिल डुबानमा पर्यो । बेमौसमी वर्षाका कारण आएको बाढीका कारण उद्योगको उत्पादन प्लान्ट र गोदाममा पानी पस्यो ।

डुबानका कारण क्षति पुगेको रिलायन्स अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । डुबानमा परेका मेसिनको मर्मत–सम्भार भइनसक्दा अझै उत्पादनमा कटौती भइरहेको उद्योगले जनाएको छ ।

दुहवीमा रहेको देशकै ठूलो जुट उद्योगको अवस्था पनि उही छ । १५ दिन बितिसक्दा पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन ।

उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ भण्डारण गरेको गोदाम र उत्पादित सामग्री भण्डारण गरिएको गोदाम अझै सफा भइसकेको छैन । बाढीसँगै पसेको लेदो सफा गर्न मजदुर परिचालित छन् ।

कोरिडोरका दुई ठूला उद्योगको मात्रै होइन अन्य साना उद्योगको अवस्था पनि उस्तै छ । बाढी र डुबानका कारण मोरङ–सुनसरी औद्योगिक करिडोरमा २ अर्ब ४७ करोड १८ लाख ९८ हजारबराबरको क्षति भएको छ ।



उद्योग संगठन मोरङलले औैद्योगिक क्षेत्रमा बाढीपछिको प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै ४१ वटा उद्योगमा क्षति भएको जनाएको हो । 



उद्योग संगठन मोरङका अध्यक्ष सुयेशराज प्याकुरेलले बाढीपछि तत्काल अध्ययनका लागि काम सुरु भएको र प्रभाव मूल्यांकनका आधारमा प्रतिवेदन सार्वजनिक भएको बताए ।

उद्यमीहरुसँग माग गरिएको विवरणअनुसार ४१ उद्योग प्रभावित भएको र मेसिनरी औजार उपकरणमा पनि क्षति भएको उद्योग संगठनले जनाएको छ ।

९८ करोड १७ लाख १८ हजार रुपैयाँको मेसिनरी औजारमा क्षति भएको, ७१ करोड २५ लाख ७० हजार कच्चा मालवस्तुमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, ७६ करोड ४ लाख ५ हजार तयारी वस्तुमा क्षति भएको र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख  ६५ हजार खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रक्रिया अवरुद्ध हुँदा स्थिर खर्च, प्रशासनिक खर्चलगायत खर्चहरु उत्पादनको अवसर मूल्य तथा बजार शृंखला टुट्न गई थप ठूलो व्ययभार थपिएको संगठनका अध्यक्ष प्याकुरेलले बताए ।

प्रभावित ४१ वटा उद्योगको दैनिक प्रशासनिक खर्च ५ करोड हुने उनले बताए । अहिलेको अवस्थामा बाढी प्रभावित २७ वटा उद्योग अझै दुई हप्ता सञ्चालनमा आउन सकेनन् । 

७ वटा उद्योगलाई सञ्चालनमा आउन अझै २ हप्ता र ३ वटा उद्योगलाई ४ हप्ता र ४ वटा उद्योगलाई पूर्ववत् अवस्थामा फर्किन ४ हप्ताभन्दा बढी लाग्ने उद्योग संगठनले जनाएको छ । 

संगठनको तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित बुढिगंगा गाउँपालिकाका उद्योग रहेका छन् । त्यस्तै, दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका, विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाका उद्योग बढी प्रभावित भएका छन् ।

जथाभावी विकासले डुबान

पर्याप्त अध्ययनविना बनाइएका कल्भर्ट र सडकका कारण उद्योग डुबानमा परेको उद्योगी–व्यापारीले बताएका छन् ।

विकासका नाममा जथाभावी बाटो बनाइएको छ । पानीको निकास थुन्ने र खोला पैनीको अवस्था नहेर्ने प्रचलनले औद्योगिक कोरिडोरमा डुबानको समस्या भएको उद्योगी–व्यवसायीले बताए ।

उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले हुलाकी राजमार्ग र ६ लेन सडकमा दोहोरो पानी बग्ने कल्भर्ट नबनाइदिँदा उद्योग हरेक वर्ष डुबानमा पर्ने गरेको बताए ।

‘सडक बनाउँदा उँचो बनाइयो, उनले भने, ‘हाम्रा उद्योगका संरचना पुराना भएको कारण तल हुँदा निकै ठूलो क्षति व्यहोर्नुपर्यो ।’

हुलास वायरका प्रवीण कर्णले हुलास वायरमा ४ वटा प्लान्टमा असर गरेको बताए ।

अहिले सबै मेसिन बन्द भएका कारण तत्काल उद्योग सञ्चालनमा आउने सम्भावना नरहेको उनले बताए । उनले भने, ‘विकास त भयो, तर विकासले पार्ने विनाशका बारेमा ध्यान दिइएन ।’

स्थानीय तह बनेपछि विकासले तीव्रता पाए पनि यसले पार्ने प्रभावका बारेमा अध्ययन नहुँदा कोरिडोरका उद्योग बाढी र डुबानको समस्यामा परेको उनको दाबी छ ।  

सप्तकोशी सिमेन्ट्का दिवस कटुवालले कर तिर्नका लागि ३ महिना पहिलादेखि नै कर गर्ने स्थानीय तहले क्षतिबारे जानकारी लिनका लागि एकपटक पनि नआएको गुनासो गरे । उनले भने, ‘सरकारले उद्योगीको समस्याको बारेमा ध्यानसमेत दिएन ।’

  • प्रकाशित मिति : कात्तिक १७, २०७८ बुधबार १७:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया