प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन् ।
बिहीवार बेलायतमा भएको कोप-२६ सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका हुन् ।
उनले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत देशका विभिन्न समस्याहरूका बारेमा कुरा गरेको पनि बताए ।
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको जनाउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन सरकार पूरै समयसम्म रहन्छ। गठबन्धनमा कुनै किसिमको शंका नगर्नु भए हुन्छ । सबै विषयमा कुराहरू भएको छ । एयरस्पेसको सम्बन्धमा पनि लुम्बिनीमा भारतको भूमि भएर जानु पर्ने भएकोले कुरा भएको छ । यावत् कुराहरू भएका छन् । यो यो भनेर म भन्न चाहन्न । नेपालप्रति भारतको सद्भाव देखिएको छ ।’
‘बेलायतको रक्षामन्त्रीको नेपालप्रति धेरै सद्भावना रहेछ । उहाँको बुवादेखि आफूले पनि गोर्खा सैनिकसँग काम गरेको हुनाले नेपालप्रति राम्रो सम्बन्ध छ । मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउनुस् भनेको छ, उहाँले आउँछु भन्नुभएको छ । मलाई भारत आउनुस् भन्नुभएको छ । एमसिसीको सम्बन्धमा हाम्रो कुरा भइरहेको छ । त्यसकारण छिट्टै पत्रकार सम्मेलन गरेर हामी पास गराउने कुरा छ । मैले र प्रचण्डजीले साइन गरेरै पठाएका छौं त’, देउवाले थपे ।
प्रधानमन्त्री देउवाले एमसिसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिट्टै पत्रकार सम्मेलन गरी एमसिसी पास गर्ने बताएको जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।