जनकपुरधाममा केराका थाम र फूलमाला बेच्नेकाे भीड(तस्बीरसहित)

दीपावलीका दिन केराका थाम र फूलमाला बेच्न जनकपुरधाम बजारमा बिहानैदेखि किसानहरू ओर्लेका छन् । 

आफ्नै बगानमा उब्जाएको केराका थाम ट्याक्टर तथा बयलगाडामा लोड गरेर किसानहरू बिहानैदेखि जनकपुरधाम बजारमा घुमिरहेको देखिएको छ । यसैगरी फूलमाला बेच्न मालीहरू पनि रातिदेखि नै चोकचोकमा पसल थापेर बसेका छन् ।
 
खासगरी व्यापारिक प्रतिष्ठानले आफ्नो पसलअगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा भएकाले दीपावलीमा थामको कारोबार निकै हुने गरेको छ । जनकपुरधाम बजारमा बिहानैदेखि केराका थाम तथा फूलमाला बेच्ने र किन्नेको चहलपहल देखिएको थियो ।

पर्वका लागि आफ्नै बगानमा उब्जाएको केराका थाम ट्याक्टरमा लोड गरेर जनकपुरधाम बजार पुर्‍याई आफूले २५० रुपैयाँका दरले बेचिरहेको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर-३ बस्ने कासिम अन्सारीले बताए । उनले यसबाट राम्रै आम्दानी हुने गरेको समेत जानकारी दिए । 

त्यसैगरी पर्वका अवसरमा जनकपुरमा मात्रै बिहीबार बिहानै करिव ४-५ हजार थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।लक्ष्मीपूजाका दिन करिब १० लाख बराबरको केराको थाम बिक्री भएको हुन सक्ने उनले अनुमान गरे । अध्यक्ष महासेठले केराका थाम मात्र नभई फूलमालाको बिक्री पनि आजका दिन ह्वात्तै बढेको बताए । उनले जनकपुरधाम बजारमा लक्ष्मीपूजाका दिन करिव ५० लाख बराबरको फूलमालाको बिक्री हुनेगरेको जानकारी समेत दिए । 

थाम बिक्री गरेका किसान र फूल बिक्री गरेका मालीको यसपालिको दीपावली र छठ पर्व मनाउने खर्च यसैबाटै जुटेकोे उनीहरूले बताएका छन् । लामो बन्द र हडतालकाबीच अत्यावश्यक दैनिक प्रयोजनका सामानको अभाव खेपिरहेका किसानहरूले यसबाट भने केही राहत मिलेको बताए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०७८ बिहीबार १२:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया