प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको पार्टी महाधिवेशन समयमै हुने दाबी गरेका हुन् ।
उनले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउनेमा बताए । पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउने उनकाे भनाइ छ।
प्रधानमन्त्री देउवाले भने, ‘अहिले पार्टी अधिवेशन आउँदैछ । यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस् । त्यसमा जित हार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ । र, जित हारमा दुस्मनी नबढोस् । पार्टी भित्रको मामिला हुनाले जित हारमा दुश्मनी नबढोस् । त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन, अधिवेशनको तयारीमा लाग्नुहोला ।’
प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे ।
बेलायतमा मन्त्रीहरूले अस्ट्राजेनिकाको खोप तीनपल्ट लगाउनुपर्ने बताएको भन्दै उनले सबैले तीन पटक अस्ट्राजेनिकाको खोप लगाउनका लागि अनुराेध पनि गरे।
उनले भक्तपुरका एक सांसदलाई बागमती प्रदेश सरकारको मन्त्री बनाउने आश्वासन दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।