हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौं । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोसिस गर्नुभयो भने त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ । तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन् उनीहरू सेक्स गर्नुको सट्टा किताब पढ्न रुचाउँछन्।
कामवासना र यौन सम्बन्धलाई तपाईंले यसरी पछ्याउनुको कारण के हो भने यतिखेर तपाईंको निम्ति त्यही सबैभन्दा परम सुख हो । यदि तपाईंलाई कसैले "यो गलत हो, त्यसलाई त्याग" भन्छन् भने के तपाईं त्यसलाई त्याग्नुहुन्छ र ? तर, यदि तपाईंले त्योभन्दा उच्च आनन्द चाख्नुभयो भने तपाईंलाई कसैले त्यो कुरा त्याग्न भनिरहनु पर्ला र ? त्यो आफै छुट्नेछ ।
अत: तपाईंले अलिकति समय केही आवश्यक कार्यहरूमा खर्चिनुपर्ने हुन्छ । जसले गर्दा एउटा विशाल सम्भावना तपाईंको निम्ति यथार्थ बन्नेछ । जब तपाईं कुनै विशाल चिज अनुभव गर्नुहुन्छ, जसले तपाईंलाई निकै बढी सुख दिन्छ, परम-आनन्दमा पुऱ्याउँछ, तब स-साना सुखहरू स्वतः छुट्नेछन् । तपाईंले त्यसलाई त्याग्नुभएको हुँदैन; कुरा यत्ति हो कि तपाईं अब त्यो काम गर्नुहुन्न, किनकि तपाईंले आफ्नो निम्ति निकै विशाल कुरा पाउनुभएको छ ।
यो कुरा तपाईंको जीवनका कयौँ पक्षहरूमा घटेका छन् । तपाईं बच्चा छँदा जुन चिजहरू पूरै संसार बराबर लाग्दथे, ती सबै छुटेर गए किनकि तपाईंले यस्तो कुरा पाउनुभयो जुन तपाईंको निम्ति पहिलेको भन्दा उच्च थियो । यहाँ पनि सोही कुरा लागू हुन्छ । जब तपाईं कुनै यस्तो चिजको सम्पर्कमा आउनुहुन्छ, जसमा असाध्यै तिव्रता छ, जसले तपाईंलाई निकै बढी सुख वा भनौँ परम–आनन्द दिन्छ, तब यी यावत् कुराहरू आफै जानेछन् ।
कामवासना तपाईंभित्रको सानो हिस्सा मात्र हो । फोस्रो र बेतुकको नैतिकताले गर्दा नै मानिसहरू यौन र त्यससम्बन्धी विषयहरूमा अत्यधिक लिप्त भएका हुन्। किनकि उनीहरू त्यसलाई जबर्जस्ती छोड्न खोजिरहेका छन् । जब तपाईं पुरुष वा स्त्री भन्नुहुन्छ त्यो एउटा सानो शारीरिक भिन्नता मात्र हो । जसद्वारा खास प्राकृतिक प्रक्रिया पूरा गर्न सकिन्छ । हामीले शरीरको एउटा भागलाई किन यति धेरै महत्त्व दिइरहेका छौं ? वास्तवमा शरीरको कुनै पनि भागलाई त्यस हदसम्मको महत्त्व दिन जरुरी छैन । तर, यदि शरीरको कुनै भागलाई त्यस हदसम्म महत्त्व दिनु नै छ भने दिमाग त्यसको लागि योग्य हुनेछ, यौन अंगहरू होइनन् ।
दुर्भाग्यवश सबैथोक उल्टो भइरहेको छ, किनकि जताततै बकम्फुसे पाठहरू पढाइँदैछ, "तपाईं पवित्र हुनुपर्छ, तपाईंले यसको बारेमा सोच्नुहुँदैन ।" यस्तै मूर्खतापूर्ण शिक्षाहरूले मानिसहरूको दिमाग भरिएको छ अनि उनीहरू पूरै भद्रगोल बनेका छन् । जीवन वास्तवमा जस्तो छ यसलाई मानिसहरूले त्यही रूपमा हेर्ने हो भने कामवासना आफ्नो उचित ठाउँमा रहने थियो- तपाईंको जीवनमा एउटा सानो स्थान ओगट्ने थियो, यति विशाल पक्ष बन्ने थिएन । त्यो त्यसरी रहनुपर्छ । हरेक प्राणीमा यो त्यसरी नै रहेको हुन्छ । जनावरहरू जतिबेला पनि त्यसको बारेमा सोचिरहँदैनन् । जब उनीहरूमा त्यसको आवश्यकता हुन्छ त्यो व्यक्त हुन्छ । अरू समयमा उनीहरू निरन्तर यो विचारमा फस्दैनन् कि को भाले हो, को पोथी हो ? मानिसहरू मात्रै त्यसमै अल्झिरहेका छन् । एक पलको लागि पनि उनीहरू त्यसलाई छोड्न सक्दैनन् । यसको कारण के हो भने जीवनसँग सरोकार नै नराख्ने वाहियात नैतिकता र मूर्खतापूर्ण शिक्षाहरू उनीहरूभित्र घुसेका छन् ।
जीवन जस्तो छ यसलाई त्यही रूपमा हेर्न सकेको भए अधिकांश मानिसहरू छोटो समयमै त्यसबाट बाहिर निस्किने थिए । कयौँ मानिसहरू त्यसमा नफसिकनै त्यसबाट बाहिर निस्किन सक्छन् । जीवनलाई अनुपयुक्त ढंगले हेरिएकोले सबैथोक विकृत भएको छ अनि बढाइचढाइ गरिएको छ । कुरा त्यत्ति हो । त्यसो नभएको भए, तपाईंले देख्नुहुने थियो कि मानिसहरूको आवादीको ठूलो हिस्सालाई यी सबै कुराहरूमा रुचि नै हुने थिएन अथवा उनीहरूमा कहिलेकाहीँ मात्र त्यसप्रति रुचि हुने थियो- मानिसहरूको जीवनमा कामवासना त्यति बढी महत्त्वपूर्ण हुने थिएन जति अहिले छ ।
-सदगुरुको प्रवचनमा आधारित भई न्युज कारखानाले तयार पारेकाे सामग्री
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।