यसरी हुँदैछ जनकपुरधाममा छठको तयारी (तस्बिरसहित)

मिथिलाको प्राचीन राजधानीकाे रूपमा रहेकाे जनकपुरधाम लगायत तराई/मधेसमा हर्षाेल्लासपूर्वक मनाइने छठ पर्वको तयारी सुरु भएको छ । पारिवारिक सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वको तयारी जनकपुरधाममा सुरु भएको हो । 

छठ पर्वका लागि अहिले जनकपुरधामका पोखरीहरूलाई सजाउने कार्य जारी रहेको छ ।  छठका लागि बजारमा पनि पूजा सामग्री किन्नेहरूको पनि चहलपहल बढेको छ ।

बजारहरूमा बाँस तथा माटोबाट बनेका सामग्रीहरूकाे बिक्री सुरु भइसकेकाे छ । छठ पर्वमा माटोबाट बनेको घैँटो, हात्ती, त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपती लगायतका सामग्री प्रयोग हुन्छ । 

यस वर्ष सोमबारबाट छठ पर्व सुरु हुँदैछ । छठको पहिलो दिन सोमबार नहाय खाय, मंगलबार खरना, बुधबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ भने बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ । 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोस्राे दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्राे दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ । त्यस्तै प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ ।



आदिदेव सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रूपले श्रृंगारिएको छ । खासगरी जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरूलाई नवदुल्ही झै सजाइएर झकिझकाउ बनाइएको छ । यस्तै मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको नानाथरि सुमधुर गीत मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरू अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । 



ग्रामीण भेगका कतिपय इनारमा घाट बनाएर छठपर्व गर्नेहरू साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन् । र विहानपख सूर्य उदाउनु केहीबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । उदाउँदाे सूर्यलाई अर्घको रूपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रूपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरूलाई छठ पर्व गर्नेहरूले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्‍याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठपर्वमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना हुने गर्दछ । छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रूपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १२:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया