दाङमा एकैदिन दुईजनाको  हत्या

दाङमा एकै दिन दुई जनाको हत्या भएको छ । तुलसीपुरमा एक युवकको र गढवाम एक महिलाको शनिबार हत्या भएको हो । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको हत्या भएको हो ।

घाइते अवस्थामा रहेका पुनको उपचारको क्रममा राप्ति प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना घाइते भएका छन् । कपुरकोटका शंकर डाँगी गम्भीर घाइते रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा सम्लग्न रहेकाहरू सबै फरार रहेको र उनीहरूको खोजी तीव्र पारिएको अर्यालले बताए । दुई गाउँका युवाहरूबीच पहिलेदेखि मनमुटाप रहेको र शनिबार भेटेपछि घटना भएको डिएसपी अर्यालले बताए । घाइते र मृतक यसअघि चोरी र कुटपिट मुद्दामा १५ हजार धरौटीमा छुटेका व्यक्ति हुन् ।

गढवामा श्रीमतीको हत्या

गढवामा बञ्चरोको बिँडले प्रहार गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–७ परिचोकका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।



घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।  श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।



  • प्रकाशित मिति : कात्तिक २१, २०७८ आइतबार १३:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया