प्रदेश-२ को राजधानी जनकपुरधाममा इ-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले इ-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।
नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरू बताउँछन् । नगरमा अत्यधिक इ-रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामाचन्द्र चोक र बसपार्क क्षेत्रमा सर्वसधारणहरूलाई निकै समस्या हुने गरेको छ ।
नगर क्षेत्रमा गुड्ने गरेको इ-रिक्साको कुनै भाडा समेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरूको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर, रुट परमिटको आधारमा कुनै पनि इ-रिक्सा सञ्चालनमा नआएको स्थानीयहरूको गुनासाे छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले इ-रिक्सा पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन् ।
छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर काम अगाडि बढाउने उनकाे भनाइ छ ।
उपमेयर मिश्रले भनिन्, ‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौं, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ । जसकारण काम समयमै हुन सकेको छैन । अब चाँडै नै पार्किङ र भाडा लगायतका व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौं । अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्याउने भनिएको छ । हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौं ।’
पछिल्लो समयबिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका इ-रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । चालकहरूले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्त व्यस्तता बढेको देख्न सकिन्छ । अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीयहरू बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।