‘ए’ डिभिजन लिग : नयाँ चुनौतीका लागि तयार सातदोबाटो

सन् २००० मा स्थापना भएको ललितपुरकाे सातदोबाटो युवा क्लबले यही सिजनबाट ‘ए’ डिभिजनको यात्रा तय गर्दैछ । २९ कात्तिकमा हुने उद्घाटन खेलमा सहरी प्रतिद्धन्द्धी फ्रेन्डस क्लबविरुद्ध मैदान उत्रिँदै गर्दा सातदाेबाटोलाई नयाँ अनुभव मात्र नभएर चुनाैती पनि हुनेछ । 

सातदोबाटोका लागि ‘ए’ डिभिजन लिग नयाँ अनुभव र चुनौती भएपनि क्लब त्यसका लागि तयार रहेको अध्यक्ष कपिल रानामगरले बताए । ‘ए डिभिजन लिग हाम्रो लागि नयाँ अनुभव र चुनौती हो । तर हामी यसका लागि तयार छौँ’, कपिलले फरकधारसँग भने ।

‘अरू टोलीले शीर्ष डिभिजनको अनुभव सम्हालिसकेका छन् हामीले पनि त्यसका लागि ४ महिनादेखि तयारी गरिरहेका छौँ’, उनले थपे । 

क्लबले आफ्नो मुख्य प्रशिक्षक भने केही दिनपछि सार्वजनिक गर्ने बताएको छ ।

सातदोबाटोको ‘ए’ डिभिजनसम्मको यात्रा

सातदोबाटोले सन् २००७/०८ मा ‘सी’ डिभिजन लिगदेखि आफ्नो फुटबल यात्रा सुरु गरेको थियो । ऊ यो सिजन समूह ‘२’ तेस्रो स्थानमा रहन सफल भयो । 



सन् २००८/०९ को सिजनमा सातदोबाटो समूह ‘बी’ को चौथो स्थानमा रह्यो । सन् २०१० मा लिग आयोजना हुन सकेन । सन् २०११ मा ‘सी’ डिभिजन लिग विजेता बन्दै सातदोबाटो ‘बी’ डिभिजनमा बढुवा भयो । 

सन् २०१२ मा लिग आयोजना हुन सकेन । सन् २०१३ मा सातदोबाटो आठौँ स्थानमा रह्यो । सन् २०१४ मा पाँचौमा रहेको ऊ सन् २०१६ मा चौथो स्थानमा रह्यो ।



सन् २०१९ मा लिगको आठौँमा रहेको सातदोबाटो सन् २०२० मा ‘बी’ डिभिजन लिग विजेताको रूपमा शीर्ष डिभिजनमा उक्लिन सफल भयो । 

चार महिनादेखि तयारी

पहिलोपटक शीर्ष लिगको अनुभव बटुल्न लागेको सातदोबाटोले विगत ४ महिनादेखि त्यसका लागि तयारी गरिरहेको छ । उसले सातदोबाटोमै दिन २ देखि ३ घण्टासम्म तयारी गर्दै आएको छ । क्लबले लिगका लागि भनेर शीर्ष डिभिजनको अनुभव बटुलिसकेका र विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । 

‘शीर्ष डिभिजन खेल्न पक्कै पनि गाह्रो हुन्छ तर हामीले विगत ४ महिनादेखि यसका लागि विशेष योजना बनाएका छौँ,’ कपिलले भने, ‘हामीले लिगका लागि भनेर ‘ए’ डिभिजनको अनुभव लिइसकेका र विदेशी खेलाडीलाई अनुबन्ध गरेका छौँ ।

लिगका लागि डेढ करोड विनियोजन

सातदोबाटोले लिगको लागि भनेर डेढ करोड बजेट विनियोजन गरेको छ । उसले यो रकम आफ्नै भवनबाट उठेको भाडा, एन्फाले लिग तयारीका लागि दिएको रकम, ललितपुर महानगरपालिकाको सहयोग र स्पोन्सरसिपलगायतका माध्यमद्वारा व्यवस्था गरेको हो । 

सातदोबाटोको मुख्य आम्दानीको स्रोत भनेको आफ्नै भवनबाट उठेको भाडा हो । योबाहेक उसलाई ललितपुर महानगरपालिका वडा नम्बर १५ ले २० लाख रुपैयाँ सहयोग गरेको छ । सातदोबाटोलाई एन्फा लिग तयारीका लागि २० लाख उपलब्ध गराउँदा मुख्य प्रायोजक, प्रायोजक र अन्य सहयोगीबाट पनि केही रकम प्राप्त भएको छ । 

शीर्ष ६ मा रहने लक्ष्य

शीर्ष लिगको डेब्यु सिजनमा सातदोबाटोले ठूलो महत्वाकांक्षी लक्ष्य राखेको छैन । उसको मुख्य लक्ष्य भनेको लिगको शीर्ष रहने हो । 

‘लिगमा १४ टोलीले सहभागिता जनाएका छन् । हाम्रो मुख्य लक्ष्य भनेको शीर्ष ६ भित्र अटाउने हो,’ कपिलले भने, ‘हामीले यही योजनालाई सार्थकता दिन मिहिनेत पनि गरिरहेका छौँ ।’

सातदोबाटोमा रहेका मुख्य खेलाडी

यही वर्ष शीर्ष डिभिजनमा उक्लिएको सातदोबाटोसँग नेपाली फुटबलमा नाम चलेका अनुहार छैनन् । ऊसँग रहेकामध्ये सर्वाधिक चर्चामा आएका खेलाडी हुन पिटर सेगुन ।नाइजेरियाका डिफेन्डर सेगुन नेपाली फुटबलका लागि चर्चित खेलाडी हुन् । उनी लामो समयदेखि नेपालमा फुटबल खेल्दै आएका छन् ।

सेगुनले नेपालको चर्चित क्लब थ्रिस्टार, मछिन्द्रलगायतबाट शीर्ष डिभिजनको अनुभव बटुलिसकेका छन् । उनले नेपालमै पहिलोपटक आयोजना भएको फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग ललितपुर सिटी फुटबल क्लबबाट खेलेका थिए । 

पिटरलाई क्लबमा स्यान्सु भुसाल, मानबहादुर तामाङ, अजय मार्टिन्स कायोडे जस्ता खेलाडीको साथ रहनेछ । 

  • प्रकाशित मिति : कात्तिक २२, २०७८ साेमबार १८:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया