‘सूर्यवंशी’ को सन्देश : भरोसा दर्शकमा होइन आफ्नो कन्टेन्टमा गर्नुहोस्

विश्व कोरोना महामारीको चपेटामा पर्‍यो । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण नेपालमा पनि पुष्टि भएपछि २०७६ साल चैत ११ गते देशव्यापी लकडाउनको घोषणा भयो । देशका सम्पूर्ण क्षेत्र ठप्प भए । पटकपटक थपिदै लम्बिएको लकडाउनको चपेटामा सबैजसो क्षेत्र परे । सबैभन्दा लामो मारमा मनोरञ्जन उद्योग पर्‍यो । 

देशका अन्य क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा मनोरञ्जन क्षेत्र भने सुनसान देखियो । सरकारले हल सञ्चालन गर्न अनुमति नदिँदासम्म विभिन्न बहसमा उत्रिएका निर्माता निर्देशकले हल सञ्चालनको अनुमति पाएपछि आफ्ना चलचित्र प्रदर्शन गर्ने हिम्मत गरेनन् । हल सञ्चालकहरूले पुराना चलचित्र लगाएर दर्शक तान्न खोजे । दर्शक तानिएनन् । 

दसैँ फिल्म प्रदर्शनको सबैभन्दा राम्रो समय मानिन्छ । यो समयमा फिल्म रिलिज डेट लिन निर्माता निर्देशकले राम्रै पापड पेल्नु पथ्र्यो । यो वर्ष भने कुनै पनि निर्माता निर्देशकले दसैँमा फिल्म हलमा लगाउने आँट गर्न सकेनन् । उनीहरूले भने, ‘दर्शक हलसम्म आउँने वातावरण बनिसकेको छैन ।’ 

उनीहरुको यो तर्कलाई बलिउड चलचित्र ‘सूर्यवंशी’ले हावा खुवाएको छ । तिहारको अवसर पारेर प्रदर्शन भएको फिल्म हेर्न हलमा दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको छ । 

कयौं ‘सो’ मा दर्शक टिकट नपाएर फर्किएका छन् । लामो समयदेखि सुनसान नेपाली सिनेमा घरको रौनक ‘सूर्यवंशी’ ले फर्काइदिएको छ । चलचित्र पारखीहरू भन्न थालेका छन्, ‘फिल्म राम्रो हुनुपर्छ, दर्शक आउँछन् ।’

अरू बेला अन्य देशका चलचित्र हलमा लाग्दा गुनासो मात्रै गर्ने नेपाली निर्माता÷निर्देशक पनि अहिले ‘सूर्यवंशी’ ले दर्शक हलसम्म तानेपछि मख्ख छन् । हामी आफैं सक्षम छौँ भन्ने निर्माता निर्देशकले पनि आफ्ना चलचित्र हलमा उतारेर दर्शक हलसम्म तान्ने हिम्मत गरेको देखिएन । उल्टै उनीहरुले, ‘चलचित्र विदेशी भएपनि लामो समयको शून्यतालाई छिचोल्दै दर्शक हलसम्म तानेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ’ भन्ने अभिव्यक्ति दिइरहेका छन् ।  



नेपाली फिल्म प्रदर्शन गर्ने निर्माता÷निर्देशकलाई चलचित्र विकास बोर्डले विभिन्न खाले सुविधाको घोषणा गरेको थियो । विकास बोर्डले दिएका सबैखाले सुविधालाई बेवास्ता गर्दै उनीहरुले भनिरहे– ‘माहोल बनिसकेको छैन, हामी हाम्रो करोडौंको लगानी जोखिममा पार्न सक्दैनौं ।’ 

कोरोनापछि दर्शक ओटीटी प्लेटफर्ममा आकर्षित भएको, हल जान डराए भन्दै आफूलाई खुम्चाएर बसें । यहि समयमा प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले नेपाली बक्स अफिसमा पनि आक्रामक ओपनिङ गर्‍यो ।



गत शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रका अहिलेसम्मका हरेक ‘शो’ मा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । यो चलचित्रले आइतबार सम्ममा नेपाली बक्स अफिसमा साढे २ करोड भन्दा धेरै कलेक्सन गरेको चलचित्र वितरक मनोज राठीले बताएका छन् । 

अहिलेको परिस्थितिमा प्रदर्शनमा आएर उक्त रकम कलेक्सन गर्नु बम्पर ओपनिङ रहेको राठीको तर्क छ । उनी भन्छन्, ‘सामान्य समयमा भएको भए यो चलचित्रले अझैं राम्रो कलेक्सन गथ्र्यो ।’

अब दर्शकले प्रतीक्षा गरेका ठूला ब्यानरका नेपाली चलचित्र प्रदर्शनमा आए राम्रो व्यापार गर्ने धेरैको अनुमान छ । तर, अझैं केही समय नेपाली निर्माता÷निर्देशकले आफ्ना चलचित्र प्रदर्शन नगर्ने बताइरहेका छन् । 

उनीहरुको उही तर्क छ, ‘दर्शक हलसम्म आउने वातावरण सिर्जना भैसकेको छैन ।’ चलचित्र ‘सूर्यवंशी’ हेर्न लागेको भीड हेरेर उनीहरूले बुझ्नुपर्छ कि ‘अब पनि दर्शकको मनस्थिति बनेको छैन भन्दा पत्याउन गाह्रो हुन्छ ।’ हाम्रा निर्माता/निर्देशकलाई आफ्नो कन्टेन्डमाथि विश्वास नभएको प्रष्ट देखिन्छ ।

सोमबारसम्म बलिउड बक्स अफिसमा ९० करोडमाथि व्यापार गरेको यो चलचित्रले नेपालबाट चार करोडमाथिको क्रस कलेक्सन गर्ने वितरक राठीले बताएका छन् । रोहित सेट्ठीले निर्देशन गरेको यो चलचित्रमा अक्षय कुमार, कट्रिना कैफ, अजय देवगण र रणवीर कपुरले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

कोरोना महामारीका कारण डेढ वर्षदेखि प्रभावित भएको मनोरञ्जन क्षेत्र तथा हलमा ‘सूर्यवंशी’ प्रदर्शनले सकारात्मक उर्जा प्रवाह गरेको हल व्यवसायीहरूले बताएका छन् । चलचित्र ‘सूर्यवंशी’ले नेपाल लगायत अन्य देशमा पनि हलको माहोल फर्काएको छ । 

बलिउड फिल्म उद्योगमा पनि कोभिड पछाडि ‘बेलबटम, रुही, मुम्बई सागा, थलाइवी’ लगायतका फिल्म प्रदर्शन भएपनि राम्रो व्यापार गर्न सकेका थिएनन् । ‘सूर्यवंशी’ले हलको पुरानो लय फर्काएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १४:१२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया