भीम रावललाई लेखराजको आग्रह : सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नुस्

नेकपा एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन् ।

मंगलबार बिहान रावलले एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका हुन् । 

एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी  नदेखाउन पनि चेतावनी दिए ।

‘नेपाली राजनीतिमा नेपालीकल्चर जो छ, हिजोको दिनमा एउटा मर्यादित, जुन खालको सुव्यवस्थित र सम्मानजनक, ढंगले जाने र आफ्ना मतहरूलाई व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्याहरू, विचारहरू, भिन्न मतहरूलाई छलफल र समाधान गर्दै आएका छौँ, कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्तिहरू आउँछन्, पार्टी, मबिना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ, व्यक्ति नभए पनि पार्टी चल्छ,’ प्रदेश इन्चार्ज भट्टले भने, ‘देश चल्छ र जीवन चल्छ । यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ, अहिलेको हाम्रो लक्ष्य र उद्देश्य निर्माण हो, एकता हो र हामीले पार्टीले लिएको नीति र व्यक्तित्वले लिएको दर्शन के हो त?’ 

नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पनि पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको  बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए । उनले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरूलाई मात्र खुसी बनाउने बताए ।

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमा प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको हो । बैठकमा प्रदेश अध्यक्ष थापाले सुदूरपश्चिममा एमाले अधिवेसन शान्तीपूर्ण ढंगले सम्पन्न भएको बताए ।



‘कुनै किसिमको असन्तुष्टि जनता र कार्यकर्ताको बीचमा लिएर जाने कुराले कसैलाई पनि फाइदा हुनेवाला छैन, यो आन्दोलनलाई त्यसले ठूलो धोका देला, नोक्सानी पुर्‍याउला, विपक्षीहरू खुसी होलान्, विरोधीहरू हौसेलान् । तर हाम्रो पार्टी पंक्तिलाई कुनै उपलब्धि हुने छैन,’ थापाले भने ।

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरू पाल, प्रदेश अध्यक्ष थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति थियो । 



  • प्रकाशित मिति : कात्तिक २३, २०७८ मंगलबार १८:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया