पर्यटन बोर्डको सिइओको रक्सी काण्ड : व्यवसायीद्वारा छानविनको माग, रेग्मी मौन

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ । यस विषयलाई लिएर पर्यटन मन्त्री प्रेम आले मगरले बोर्डका सिइओ रेग्मीमाथि तीन दिने लिखित स्पष्टीकरण मागेका छन् ।  

यही घटनालाई लिएर पर्यटन व्यवसायीहरुले बोर्डका सिइओले मदिराको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीमाथि गरेको व्यवहार लाजमर्दो र निन्दनीय भएको सार्वजनिक रुपमा नै बोल्न थालेका छन् ।

यस घटनाले नेपालका पर्यटन व्यवसायीमाथि नै प्रश्न उठेको भन्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेका छन् । उनीहरुले गलत नै हो भने बोर्डका सिइओ रेग्मीमाथि कारबाही गर्न माग गरेका छन् । 

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालले सामाजिक सञ्जालमा लेखेका छन्,‘गलत गर्नेलाई कारबाही गरियोस । केही दिनअघि नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा मदिराको विषयमा नेपाल पर्यटन बोर्डको सिइओ र विमानस्थल भन्सार कर्मचारीबीच भएको घटना लाजमर्दो र निन्दनीय छ । सम्बन्धित निकायले तत्काल सत्यतथ्य बाहिर ल्याएर गलत गर्नेलाई कारबाही गरियोस।’

अर्का पर्यटन व्यवसायी कमल सापकोटाले लेखेका छन्,‘पर्यटन व्यवसायी साथीहरु, अग्रजहरु हालै पर्यटन बोर्डका सिइओ र विमानस्थलको कर्मचारीबीच मादक पदार्थका बारेमा मनमुटाव भएको रहेछ । पर्यटन बोर्डका सिइओले कर्मचारीलाई हातपात समेत गरेको समाचारहरु आएका छन् । पर्यटन प्रवर्द्धन गर्न गएको सम्मानित संस्थाका प्रमुखले नै यस्तो क्रियाकलाप गरेको सुन्दा समग्र पर्यटन व्यवसायीको शिर निहुरिएको छ । सत्य तथ्य के हो ? पर्यटन बोर्डका सिइओले पर्यटन क्षेत्रलाई जानकारी गराउनु पर्दछ ।'




 
पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन व्यवसायी ऋषि भण्डारीले लेखेका छन्, 'पर्यटन व्यवसायको प्रवर्द्धन तथा प्रचार प्रसारको जिम्मा लिएका पर्यटन बोर्डका सिइओ धनजन्य रेग्मीले राम्रै प्रचार प्रसार गर्नु भएछ ।' भिन्न प्रचार प्रसारको उदाहरण प्रस्तुत गरेको भन्दै उनले व्यंग्य गरेका छन् । 

नेपाल पर्वतरोहण संघका महासचिव कुलबहादुर गुरुङले यस घटनालाई सकरात्मक पनि लिन सकिँदैन नकारात्मक भन्न पनि नमिल्ने टिप्पणी गरेका छन् । 



विमानस्थलमा आफ्नै नियम र नीति भएका कारण सबै यात्रुलाई लागू हुने भएकाले ठूलालाई छुट नहुने उनको भनाइ छ । तर, विमानस्थलभित्र केही कमी कमजोरी नभएको होइन । यी विषयलाई पनि विमानस्थलका कर्मचारीले मनन गर्नु पर्ने गुरुङको तर्क छ । 

यद्यपि यो घटनाको दुवै पक्षले आत्माबोधसहितको समीक्षा गर्दै प्रोपोगाण्डको रुपमा अघि बढाउन कुनै औचित्य नभएको गुरुङको टिप्पणी छ । 

पर्यटन व्यवसायीले बोर्डका सिइओको समर्थनभन्दा धेरैले व्यापक आलोचना गरेका छन् । विमानस्थलबाट ६ बोतल रक्सीका लागि पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने प्रमुख व्यक्तिले विमानस्थलको कर्मचारीलाई हातपात गर्नु र पाँच हजार जरिवाना तिर्नु सकारात्मक सन्देश नभएको पर्यटन व्यवसायीहरुको टिप्पणी छ । 

लण्डनमा आयोजना भएको विश्व ट्राभल मार्टमा सहभागी भएर पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगै नेपाल फर्किएका सीईओ रेग्मी भाई टिकाको दिन बिहान फर्किएका थिए । 

विमानस्थलमा अवतरण भएपछि कर्मचारीको तुच्छ व्यवहार र बोली सहन नसकेपछि आफूले आवाज उठाउदा मापसे गरेको भन्दै आफूलाई आरोप लगाएको उनले बताएका थिए । 
  
पर्यटन मन्त्री आले र मन्त्रालयका सचिवलाई यस घटनाको विषयमा मौखिक जानकारी दिइ सकेका सिइओ रेग्मीले छिटै लिखित स्पष्टिकरण बुझाउने तयारी गरेका छन्। 

केपी ओली प्रधानमन्त्री हुँदा नेपाल पर्यटन बोर्डको सिइओमा रेग्मी नियुक्त भएका थिए । अन्तर्मुखी स्वभावका रेग्मीलाई ‘विमानस्थलको रक्सी काण्ड’ ले देउवा सरकारको 'एक्सन ओरिन्टेड' मन्त्री आलेले के गर्छन् भन्ने हेर्न बाँकी छ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १०:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया