[अनुवाद लेख ] ग्रेटा थनबर्ग, जसले पर्यावरणबारे विश्वलाई जागा पारिन्

युवाहरुले १८ महिनासम्म डिजिटल माध्यमबाट अभियान जारी राखेपछि पुनः पर्यावरणको सवाललाई लिएर न्याय माग्दै सडकसम्म पुगे । उनीहरुको ध्यान ग्लासगोमा आयोजित संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा केन्द्रित थियो ।

जब १५ वर्षीया ग्रेटा थनबर्गले २०१८ मा स्विडिस संसद्को बाहिरपट्टि स्कोल्स्ट्रेज्क फर क्लिमिटेट (जलवायुका लागि स्कुलको हड्ताल) अभियान सुरु गरिन् तब केही मानिसले अनुमान लगाएका थिए कि, उनले थालेको यस्तो पहलपछि संसारभर विरोध हुनेछ । त्यो अभियानको तीव्र अन्तर्राष्ट्रिय प्रभाव पर्न गयो, जसले गर्दा वातावरण आन्दोलन राजनीतिकै महत्वपूर्ण हिस्साको एक नयाँ रुपमा वर्णित हुन थाल्यो ।

स्विडेनमा ‘ग्रेटाभन्दा अघि’ पर्यावरणमा युवा सक्रियताबारे शोध गर्ने इतिहासकारहरुका अनुसार, आज हामी जे देखिरहेका छौं त्यो युवा सशक्तीकरण तथा वैश्विक जागरुकताको स्क्यानडेनेभियाली परम्परामा निहित छ ।

सबैभन्दा पहिलो के उल्लेख गर्नु जरुरी छ भने, सामाजिक तथा राजनीतिक मुद्दामा बालबालिकाको सहभागितालाई नर्डिक देशहरुमा बाल्यकालको विशिष्ट धारणाहरुद्वारा सुगम बनाइएको छ । स्वायत्त तथा समर्थ बालबालिकाको विचारलाई शोधकर्ताहरुले ‘बाल्यकालको नर्डिक मोडल’ भनेर विशेष रुपमा वर्णित गरेका छन् । उनीहरु यसले कयौं दशकसम्म बालबालिकाको लालनपालन र सार्वजनिक नीतिमा प्रभाव पार्ने विश्वास गर्छन् ।

यो मोडलमा निहित तत्व अद्वितीय नभए पनि यो धारणाको स्विडिस बालबालिकामा लामो समयदेखि स्थायी प्रभाव पर्दै आएको छ । यसले उनीहरुलाई स्वतन्त्रताको मूल्य सिकाएको छ र तिनको आवाज सुनिएको छ । युवावर्गमा वैश्विक चेतना वृद्धिका लागि स्विडेनले लामो समयदेखि एउटा महत्वाकांक्षा राख्दै आएको छ ।

उत्तरी युरोपका अधिकांश देशलाई नर्डिक या स्क्यानडनेभियाली मुलुक भनिन्छ । स्क्यानडनेभियाली मुलुकमा नर्वे, स्विडेन र फिनल्यान्ड पर्छ । यसका साथै, फिनल्यान्ड, आइसल्यान्ड र फेरो द्वीप समूहसँग जोडिएका देशलाई पनि नर्डिक भनिन्छ ।



अहिले जलवायु परिवर्तन राजनीतिक अजेन्डा बन्न पुगेको छ, तर युवावर्गलाई सहभागी बनाउने यो पहिलो वैश्विक मुद्दा भने होइन । युद्धपश्चात्को सुरुआती समयमा बालबालिका र युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे र विकास सहायता स्विडिस विदेश नीतिको एउटा नयाँ क्षेत्र बन्यो । सर्वेक्षणहरुबाट के पत्ता लाग्छ भने, युवावर्ग पुराना पिँढीको तुलनामा अन्तर्राष्ट्रिय एकजुटताको सन्देशप्रति अधिक संवेदनशील छन् ।

१९७० ताका आधुनिक पर्यावरणवादको उदय र ‘पारिस्थितिकीय मोड’ सहित जब एक वैश्विक पर्यावरणीय संकटको ज्ञान अधिक व्यापक भयो, तब बालबालिका तथा युवावर्गलाई दोषीमाथि कारवाही गर्न अघि सारियो । स्विडेनले थालेको आरम्भिक पहलको एक अभियान ‘फ्रन्ट अगेन्स्ट इनभाइरनमेन्टल डिग्रेडेसन’ थियो, यसलाई बीमा कम्पनी फेल्क्समले १९६८ मा सुरु गरेको थियो ।



कम्पनीको सामाजिक लोकतान्त्रिक सरकारसँग कुशल र मजबुत सम्बन्ध थियो र एउटा राष्ट्रिय प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा युवावर्गलाई उनीहरुको स्थानीय समुदायमा पर्यावरणीय समस्याहरुको दस्तावेजीकरण गर्ने जिम्मा दिइयो ।

आधुनिक स्विडिस इतिहास वैश्विक मुद्दामा युवाको सक्रिय नेतृत्व रहने कयौं उदाहरण प्रस्तुत गर्छ । फोल्क्सम पहल वयस्कले आरम्भ गरेका थिए, जबकि अन्य अभियान र पहल युवा पिँढीका स्वसंगठनमा निर्भर थिए । एउटा अर्को उल्लेखनीय उदाहरणका रुपमा वार्षिक अभियान ‘अपरेसन डे वर्क’ लाई पनि मान्न सकिन्छ, जुन १९६० को दशकको सुरुआतमा चर्चामा थियो ।

ग्रेटा थनबर्गले स्विडिस संसद् बाहिर प्रदर्शन सुरु गरेको वर्ष दिनपछि विश्व स्तरमा जलवायु परिवर्तनबारे काम नगर्नेको विरोध हुन थाल्यो । र, टाइम पत्रिकाद्वारा उनलाई वर्षव्यक्ति घोषित गरियो । यो प्रभाव डिजिटल दुनियाँ र सोसल मिडिया प्लेटफर्मद्वारा सम्भव बनाइयो । तर यो आन्दोलनको सुरुआतलाई पर्यावरणमा युवाको सक्रियतासम्बन्धमा ५० वर्षअघिको राजनीतिक संस्कृतिको पृष्ठभूमि विरुद्धको अभियान भनेर पनि बुझ्नु जरुरी छ ।

(ब्योर्न लुन्डबर्ग इतिहासकार तथा शोधकर्ता हुन् । उनी लुन्ड विश्व–विद्यालयका एसोसिएट प्रोफेसर हुन् । ‘द कन्भर्सेसन’बाट अनूदित तथा सम्पादित ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १०:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया