प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन् ।
बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनु पर्ने बताउँदै प्रजातन्त्रको बिरुद्धमा नलाग्न चेतावनी समेत दिए ।
उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न समेत चेतावनी दिए ।
‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएको होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने, तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए,’ प्रधानमन्त्री देउवाले भने, ‘मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन । उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ।’
उनले नेपालमा सबैभन्दा राम्रो संविधान भएको दाबी गरे । संविधान समावेशी, समानुपातिक र सबैलाई समेटेको उनले बताए ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गरे । निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने उनले बताए ।
प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको जनाए । उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए ।
‘जनता भन्दा ठूलो अर्को शक्ति नै छैन । जनता नै हो यो देशको मालिक । जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ । प्रजा भनेको जनता नै हो,’ उनले भने ।
प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए । उहाँले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई बिस्तापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढीरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने जनाए
प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)का कारण देशका हिमालहरूमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।