डिभी परेपछि अमेरिका जाने तयारीमा थिए भूपेन्द्र, अर्कै हत्यामा प्रयोग हुन खोजिएको थियो, उनकै हत्या भयो

कैलालीको लम्कीचुहा नगरपालिकाका २२ वर्षीय भूपेन्द्र बडुवाल खासमा अमेरिकामा गएर त्यतै सेटल हुने योजनामा थिए । डिभी परेपछि उनी दशैं मनाउन काठमाडौंबाट कैलाली पुगेका थिए ।

काठमाडौंमा बहिनीसँग बस्दै आएका बडुवालले तिहार पनि कैलालीमा नै मनाउने योजना बनाए ।

मनाए पनि । त्यसपछि उनी अमेरिका जाने तयारी गरिरहेका थिए । काठमाडौंमा ब्याचलर्स पढिरहेका बडुवाल त्यसपछि काठमाडौं फर्किने र अमेरिका जाने अन्तिम तयारी गर्ने योजनामा थिए ।

तर, उनले सोचेजस्तो भएन । मंगलबार राति खाना खाएर बसिरहेका बडुवाललाई बोलाउन उनका साथी आइपुगे । काठमाडौंमा पनि नजिकका साथी कपिल श्रेष्ठ उनको घरमा उनलाई बोलाउन पुगेका थिए ।

त्यही राति साथीसँग केही पर काम पर्यो भनेर निस्किएका बडुवालको हत्या भयो । टीकापुर नगरपालिकामा रहेको सिद्धार्थ होटल नजिकै उनको शव भेटिएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनलाई चक्कू प्रहार गरिएको बताएको छ ।

कपिलसँग घरबाट निस्किएका बडुवालको बाटोमा नै चिसापानीका नवीन रावलसँग भेट भएको थियो । रावलको समूहले टीकापुरकै अर्का एक शाही थरका युवाको हत्या गर्ने योजना बनाएको थियो । त्यसका लागि उनीहरुले बडुवाललाई प्रयोग गर्न खोज्यो ।



बडुवाललाई प्रयोग गरेर रावलले हत्या गर्न खोजिएका ती शाही थरका युवालाई बोलाउने योजना बनाएको थियो । भूपेन्द्रलाई भनेर उनीहरुले ती शाही थरका युवालाई घरबाट बाहिर बोलाउन खोजेका थिए । भूपेन्द्रले यो कुराको सुइँको पाए ।

उनले रावल समूहको उद्देश्य थाहा पाएपछि त्यहाँबाट भाग्ने प्रयास गरे । उनी भाग्न खोजेपछि रावलको समूहले उनीमाथि चक्कू प्रहार गरेको हो ।



प्रहरीका अनुसार यो घटनापछि रावल फरार छन् । प्रहरीले रावलका आमा, बाबु र भाइलाई पक्राउ गरेको छ । घटनामा उनको स्कुटर प्रयोग भएको थियो । त्यसैले प्रहरीले यी तीन जनालाई पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले फरकधारलाई दिएको जानकारी अनुसार यही घटनामा अन्य आठ जना पनि पक्राउ परिसकेका छन् ।

विष्टका अनुसार प्रहरीले संगम होटलका सन्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले अब नवीनलाई खोजिरहेको छ । घटना भएलगत्तै उनी फरार छन् । तर, रावलसँग सम्बन्ध भएको आधारमा अन्य पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

संगम होटलका सन्चालक चाहिँ त्यही होटलमा आइतबार साँझ भएको अर्को एक घटनाका कारण पनि पक्राउ परेका हुन् । प्रहरीका अनुसार आइतबार साँझ सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीमाथि कुटपिट भएको थियो । हर्कबहादुरसँग उनको विवाद भएको र उनका छोराको समूहले मेजरमाथि आक्रमण कुटपिट गर्दै गाडी तोडफोड गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

  • प्रकाशित मिति : कात्तिक २४, २०७८ बुधबार १८:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया