पोखरी सजाउन लाखौं रकम उठाएका युवा क्लब घाट फोहोर हुँदा बेपत्ता

बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । पर्वको पूर्वसन्ध्यामा सजावटसँगै झकिझकाउ बनाइएका जनकपुरधामका पोखरी तथा तलाउ यसको समापनसँगै फोहोर बनेका हुन् । 

यो पर्वमा दुई दिन जलाशयमै पूजा गरिने हुँदा पूजाअघि जलाशयको सरसफाइ र सजावट गरिन्छ । तर, पूजा गर्न सफाइ गरिएका जलाशयहरू पूजाको समापनसँगै पुनः फोहोर देखिएका छन् ।

छठको पूर्वसन्ध्यासम्ममा स्थानीय युवा क्लबहरूले जलाशयको सजावटका लागि घाटमा अर्घ्य राख्ने प्रत्येक परिवारसँग ३ सयदेखि ५५० रुपैयाँसम्म असुल गरेका थिए । तर, पूजा सम्पन्न भएपछि फोहोर भएका ती जलाशयहरूमाथि कसैको ध्यान पुगेको छैन । 

छठ पूजाका लागि प्रयोग गरिने जनकपुरधामस्थित गंगासागर, धनुष सागर, अंगराज सर, दशरथ तलाउ लगायतका दर्जनौं जलाशयहरू पूजाको समापनसँगै फोहोर बनेका हुन् । 

स्थानीय मनोज साहले छठको बेला मात्र सरसफाइ हुने र त्यसपछि बर्सैभरि घाट उपेक्षित हुनुमा स्थानीय युवा क्लबहरू दोषी रहेको बताए । उनले जलाशयहरूलाई दूषित हुनबाट रोक्न त्यसको उचित हेरचाह, सरसफाइ र व्यवस्थापन गर्न आवश्यक रहेको समेत बताए ।



स्थानीय विन्दु ठाकुरले युवा क्लबहरूका लागि यहाँका पोखरी कमाई खाने भाँडो मात्र रहेको आरोप लगाइन् । ‘युवा क्लबहरूले पोखरीको घाटहरूमा झिलिमिली बत्ती लगाएवापत गतिलो पैसा उठाउँछन् । प्रत्येक परिवारसँग पैसा लिन्छन् । तर, पूजाको समापनसँगै फोहोर भएका जलाशयहरूको सरसफाइमा भने उनीहरूको ध्यान नै पुग्दैन ।’ 



यस विषयमा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष तथा प्रदेशसभा सदस्य रामअशिष यादवले पनि छठ पूजाको व्यवस्थापन गर्ने युवा क्लबले घाटको शुल्कवापत ठूलो रकम उठाए पनि छठपछि पोखरी फोहोर हुँदा त्यसको सरसफाइमा कुनै ध्यान नदिने गरेको आरोप लगाए । 

उनले अब आफूहरूले नै घाट पुनः सरसफाइ गर्ने बताए । यता गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतोले धनुष सागर पोखरीको घाटमा यस वर्ष करिव २ हजार ५ सय परिवारले छठ पूजा गरेको र कमिटीले यस वर्ष प्रतिघाट ३ सय रुपैयाँ शुल्क लिएको जानकारी दिए । 

उनले छठ पर्वको व्यवस्थापनमा पण्डाल, लाइट तथा साउण्डमा मात्र प्रतिवर्ष ३ लाख रुपैयाँसम्म खर्च हुने गरेको दाबी समेत गरे । 

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १७:२२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया