कांग्रेस महाधिवेशन : कैलालीमा बढ्यो चहलपहल, भोलिदेखि वडा अधिवेशन

कैलालीमा शनिबारदेखि १४ औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन शनिबारदेखि हुँदै छ । कांग्रेसको कैलालीसहित देशका १३ जिल्लामा क्रियाशील सदस्यताको चर्को विवादका कारण अहिलेसम्म वडा अधिवेशन भएको थिएन । 

सुदूरपश्चिममा अन्य जिल्लामा वडा अधिवेशन सम्पन्न भएपनि कैलालीमा हुन सकेको थिएन । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पार्टी सभापति नरनारायण शाहले जानकारी दिए ।

देशभरी गत भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो । शनिबार हुने वडा अधिवेशनका लागि कैलालीका १२६ वटै वडामा कांग्रेसका दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

‘वडा अधिवेशनका लागि सम्बन्धित वडामा निर्वाचन अधिकृतलगायतका सामग्रीहरू पुगिसकेका छन्’, कैलाली कांग्रेस सभापति शाहले भने, ‘सकेसम्म वडा तहमा सर्वसम्मतले वडा सभापति चयन हुने छन् ।’ ठूलो जनसंख्या भएको वडामा भने निर्वाचन नै हुने उनको भनाइ छ ।

जिल्लामा वडा, गाउ तथा नगर, जिल्ला, क्षेत्रीय अधिवेशन नजिकिएसँगै विभिन्न पदका आकांक्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । कैलालीमा सभापतिका लागि आकांक्षीहरू धेरै भएपनि सार्वजनिक रूपमा खुलेका थिएनन् । 



२०७० सालको निर्वाचनमा विजयी भएको कैलालीमा शेरबहादुर देउवानिकटकै व्यक्तिहरू जिल्ला सभापतिको दौडमा  छन् । कैलालीमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

जिल्ला सभापतिका लागि अहिलेसम्म जिल्ला उपसभापति प्रकाशबहादुर बम, नृपबहादुर सुनार, नारायणदत्त भट्ट, भीमबहादुर बडुवाल, खेमराज चौधरी, कमलबहादुर शाह, गणेश देउवालगायत उम्मेदवारका आकांक्षी रहेको देखिएको छ ।



१ सय २६ वडा रहेको कैलालीमा १८ हजार ३ सय ४८ क्रियाशील सदस्य रहेका छन । त्यसमध्ये १ सय २५ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिने छ । केन्द्रीय कार्यालयले कैलालीमा १४ महाधिवेशनको नयाँ कार्यतालिका कात्तिक २७ गते वडा, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते प्रदेशसभा अधिवेशन मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन मंसिर १० गते जिल्लाको मिति तय गरेको छ ।

निर्वाचनलाई व्यवस्थित गर्न कात्तिक ६ गतेको जिल्ला कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति शाहको अध्यक्षतामा १ हजार ५०१ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति पनि गठन गरिएकाे छ । मूल समितिलाई सहयोग गर्न ११ जना सयोजक रहने गरी विभिन्न समिति निर्माण गरिएको छ ।

सुदूरपश्चिममा गत भदौ १८ गते र त्यसपछिका विभिन्न मितिमा गरेर ८ जिल्लामा वडा अधिवेशन भइसकेका छन् भने दुई जिल्लामा जिल्ला अधिवेशन पनि भइसकेको छ ।  

  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १७:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया