रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवलाई भव्य बनाउनका यसवर्ष पनि सातदिवसीय विविध कार्यक्रमको आयोजना गरिने भएको छ ।

आगामी २२ मंसिरमा सिताराम विवाहपञ्चमी महामहोत्सव हुने भएकाले अहिलेदेखि नै तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

एक सातासम्म विभिन्न कार्यक्रम हुने भएकाले यस वर्ष १७ मंसिरदेखि नै विवाहपञ्चमी महामहोत्सव सुरु हुने महन्त दासले बताए । 

उनले यसवर्ष विवाहपञ्चमीमा भारतलगायत अन्य मुलुक तथा आन्तरिक श्रद्धालु भक्तजनहरूको उल्लेख्य भिडभाड हुने भएकाले अहिलेदेखि नै व्यवस्थापनसहितको तयारी थालिएको बताए ।

महन्थ दासले गतवर्ष कोरोना महामारीका कारण विवाहपञ्चमी औपचारिकतामा मात्र सीमित भएकाले यसवर्ष भव्यताका साथ मनाउने उद्देश्य रहेको बताए । यसका लागि विभिन्न १९ वटा समिति तथा उपसमितिहरू गठन गरिएका छन् ।

जानकी मन्दिरमा शुक्रबार आयोजना गरिएको सर्वपक्षीय बैठकमा महन्त दासले विवाह पञ्चमी महामहोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभूमि मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, श्रद्धालुभक्तजनको भिडभाडको व्यवस्थापन सहित बसोबासको व्यवस्थापन, विद्युत आपूर्तिलगायतका लागि समिति गठन गरिएको बताए ।



यसवर्ष १७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ-विवाह र २३ गते रामकलेवाको आयोजना गरिने छ । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७८ शुक्रबार १९:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया