पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक अफ रेकर्डस्’मा

काठमाडौं– विश्व सम्पदामा सूचीकृत नेपालको पशुपतिनाथ र लुम्बिनी ‘वल्ड बुक अफ रेकर्डस्, लन्डन’मा सूचीकृत भएका छन् । वल्ड बुक बेलायतको विद्वत् समूहले स्थापना गरेको अन्तर्राष्ट्रिय संस्था हाे ।

पशुपतिनाथलाई ‘ऐतिहासिक पुरातात्विक महत्वको पुरानो मन्दिर’ र लुम्बिनीलाई ‘विश्वभरका बौद्धमार्गीको धरोहर’ शीर्षकअन्तर्गत प्रमाणपत्र दिइएको संस्थाले जनाएको छ । उक्त प्रमाणपत्र काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं भारतको लोकसभाअन्तर्गत रक्षासम्बन्धी समितिका अध्यक्ष कलराज मिश्राले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई हस्तान्तरण गरे । 

संस्थाले परम्परागत कला र शिल्पीको द्वारिका होटललाई आतिथ्यका क्षेत्रमा गुणस्तरीय सेवा पुर्याएबापत ‘वल्ड स्ट्यान्डराइजेसन’ प्रमाणपत्र प्रदान गरेको छ भने बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत हिमालयन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई ‘नेसनल एक्सिलेन्सी अवार्ड’ ले सम्मान गरेको छ । 

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले यस्ता कार्यक्रमले नेपालको पहिचानलाई विश्वमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले पशुपतिनाथ, लुम्बिनीलगायत अन्य धेरै पुरातात्विक सम्पदा, धार्मिक एवं पर्यटकीय स्थल क्रमशः सूचीकृत हुँदै जाने विश्वास व्यक्त गरे । 

भाजपा नेता मिश्राले पुरातात्विक सम्पदा, धार्मिक सांस्कृतिक मठमन्दिरले भरिपूर्ण नेपाल अध्यात्मज्ञानको पवित्र भूमि भएको उल्लेख गर्दै भारत र नेपालबीच भौगोलिक, सांस्कृतिक, आर्थिकलगायत हिसाबले सदिऔँदेखि गहिरो सम्बन्ध रहिआएको बताए । 

वल्ड बुक्सका अध्यक्ष सन्तोष शुक्लाले पुरातात्विक महत्वको पशुपतिनाथ, बौद्धधर्मावम्बीको केन्द्र लुम्बिनी र नेपालको धरोहरका रूपमा रहेको द्वारिका होटललाई सूचीकृत गर्न पाउँदा गर्वको अनुभूति भएको बताए । 



सोही अवसरमा युवा समाजसेवी सागर कटुवाल अध्यक्ष रहने गरी वल्ड बुक्स अफ रेकर्ड नेपाल च्याप्टर स्थापना भएको घोषणा गरियो । संस्थाले अन्य क्षेत्रमा पनि रेकर्डमा सहजीकरण गर्ने कटुवालले बताए । भारत, बेलायत, अमेरिकालगायत १२ भन्दा बढी मुलुकमा यो संस्थाले काम गर्दै आएको छ । 



  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार २०:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया