‘ए’ डिभिजन लिग : कडा प्रतिस्पर्धा दिन तयार हिमालयन शेर्पा

नेपालको शीर्ष डिभिजन खेल्ने क्लबमध्ये कान्छो मानिने हिमालयन शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मध्यम प्रदर्शन गर्दै आएको छ । सन् २००६ मा स्थापना भएको यो क्लबले ‘डी’ डिभिजन लिगबाट फटबल यात्रा सुरु गरेको थियो । 

हिमालयन ४ वर्षको अवधिमा डीदेखि शीर्ष डिभिजन लिगमा उक्लिन सफल भयो । ‘ए’ डिभिजन लिगमा उक्लिएको वर्षमै हिमालयन शेर्पा राष्ट्रिय लिगको उपविजेता बनेको थियो ।

पोखरा र बुटवलमा सम्पन्न भएको सो राष्ट्रिय लिगको उपाधि भने नेपाल पुलिस क्लबले जितेको थियो । ‘ए’ डिभिजन लिगमा हिमालयन पाँचौँ स्थानमा रहन सफल भएको थियो । 

वर्तमान समयमा हिमालयन अन्य क्लबभन्दा कमजोर नरहेको टिम व्यवस्थापकको दाबी छ । ‘हाम्रो टोली मिहिनेत छ, टोलीमा भएको एकबद्धता हाम्रो जितको आधार बन्न सक्छ,’ क्लबका म्यानेजर विजन पुडासैनीले फरकधारसँग भने ।

हिमालयन क्लबमा अहिले २७ जनाको टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीले विदेशी खेलाडीको रूपमा केन्या, क्यामरुन, जापान र भारतबाट एकएक खेलाडी अनुबन्ध गरेको छ ।  

हिमालयन शेर्पाले यसपटक केन्याको राष्ट्रिय टोलीबाट खेलिसकेका २३ वर्षीय पिस्टोन मुटाम्बा, जापानका रियो नाकामुरा र क्यानरुनका ओलिच सेभी (राम्जी) लाई अनुबन्ध गरेको छ । त्यस्तै, दक्षिण एसियाली कोटामा क्लबले भारतका मोइनुद्धिन खानलाई अनुबन्ध गरेको छ । 



मोइनुद्धिनले भारतको यू–१९ टोली र शीर्ष डिभिजनको आई लिगमा मिनर्भ पञ्जाबबाट खेलिसकेका छन् । टोलीले अहिले काठमाडौं बुढानिलकण्ठ स्कुल मैदानमा प्रशिक्षण गर्दै आएको छ । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी युगल किशोर राईले पाएका छन् । टोलीको कप्तानी भने विश्वास श्रेष्ठले गर्ने छन् ।  

लिग नजिकिएसँगै टोलीले तयारीलाई तीव्रता दिएको म्यानेजर पुडासैनीले जानकारी दिए । यो वर्ष टोलीमा खासै नाम चलेका खेलाडी भने छैनन् । यसपालि टोली प्रशिक्षक र विदेश खेलाडीमा निर्भर छ ।  



‘मोफसलको राम्रो खेलाडी पनि टोलीमा अनुबन्ध गरेका छौँ । केन्याबाट आएका मुटाम्बा त्यहाँको राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी हुन्,’ म्यानेजर पुडासैनीले भने, ‘हाम्रो टोली राम्रो छ । हामी जस्तोसुकै टोलीसँग कडा प्रतिस्पर्धा दिन तयार छौँ ।’ 

यस वर्ष हिमालयन शेर्पालाई कमजोर रूपमा लिन नहुने उनले बताए ।  

खेलाडीलाई कस्तो छ सुविधा?  

हाल हिमालयन शेर्पाले खेलाडी अनुबन्धमा विशेष ध्यान दिइरहेको म्यानेजर पुडासैनीले जानकारी दिए । हिमालयन शेर्पाले खेलाडीको न्यूनतम तलब ४० हजार र अधिकतम मूल्य १ लाख ३० हजारसम्म तोकेको छ । 

खेलाडीको क्षमता हेरेर पारिश्रमिक निर्धारण गरिएको पुडासैनीले जानकारी दिए । ‘नेपाली खेलाडीको क्षमता र दक्षता तथा विदेशी खेलाडीको पनि ग्रेड हेरेर अनुबन्ध गरेका छौँ,’ उनले भने ।  

हिमालयन शेर्पाका चर्चित खेलाडी :

दीप कार्की

दीप कार्की नेपाली टोलीका गोलरक्षक हुन् । उनी यसअघि मनाङ मस्याङ्दी क्लबबाट ‘ए’ डिभिजन लिग खेल्दै आएका थिए । दीप राष्ट्रिय टोलीका वैकल्पिक गोलरक्षक पनि हुन् ।   

त्रिदेव गुरुङ

त्रिदेव गुरुङ नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । उनी राष्ट्रिय टोलीमा मिडफिल्डरको भूमिका निर्वाह गर्छन् । हिमालयन शेर्पाको टोलीमा भने उनी फरर्वाडको भूमिकामा देखा पर्ने भएका छन् । 

पिस्टोन मुटाम्बा

पिस्टोन मुटाम्बा केन्याका राष्ट्रिय टोलीका फरर्वाड हुन् । उनी २०१८ बाट केन्याको राष्ट्रिय टोलीमा खेल्न थालेका हुन् । 

२३ वर्षीय पिस्टोन हिमालयन शेर्पाका लागि यसपटकको ‘ए’ डिभिजन लिगमा फरवार्डको भूमिकामा देखा पर्नेछन् । 

  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार १२:१९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया