फ्रान्सेली राष्ट्रपति भन्छन् – अमेरिकी हतियार किन्न युरोपको सुरक्षा बजेट बढाउन सकिन्न

पेरिस– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकामा निर्मित हतियार किन्नका लागि युरोपको सुरक्षा बजेट बढाउन नसकिने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुरक्षा बजेटबारे विवाद भएपछि दिएको एक अन्तरवार्तामा राष्ट्रपति म्याक्रोँले यस्तो भनेका हुन् । 

दर्जनौँ विदेशी नेता प्रथम विश्वयुद्धको अन्त्य भएको दिनको सम्झनामा आयोजित कार्यक्रममा आएका वेला अमेरिकी राष्ट्रपति ट्रम्पले पेरिसमा अवतरण गरेलगत्तै गरेको ट्विटमा म्याक्रोँको ‘यूरोपियन मुलुकहरूको वास्तविक सेना’ बनाउने योजना अमेरिकाका लागि ‘अपमानपूर्ण’ अभिव्यक्ति भएको बताएका थिए । 

स्थानीय समयअनुसार शनिबार अमेरिकी राष्ट्रपतिसँगको कुराकानीपछि अमेरिकी टेलिभिजन सिएनएनका लागि दिएको अन्तवार्तामा उक्त विवादका विषयमा दुई नेताबीच कुराकानी भएको र यसबारे गलत बुझाइ बाहिर आएको म्याक्रोँले बताए । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार कुराकानी भएको र सञ्चारकर्मीको अगाडि आफ्नो अडान ठीक भएको ट्रम्पले बताएका म्याक्रोँले उल्लेख गरे । 

भेटमा दुवै नेता नेटोमा सही आर्थिक भारवहन गर्ने कुरामा सहमत भएको अर्थात् अमेरिकी रक्षाका लागि गरिने खर्चमा युरोपले कम बोझ वहन गर्ने सहमति भएको म्याक्रोँले बताए । 



‘प्रष्ट रूपमा भन्नुपर्दा युरोपेली मुलकमा सुरक्षा शीर्षकमा बजेट बढाउने र अमेरिकी हतियार किन्ने कुरा मलाई ठीक लागेको छैन,’ सिएनएनसँगको कुराकानीमा म्याक्रोँले भने, ‘यदि बजेट वृद्धि गरियो भने यो हाम्रो स्वायत्तताका लागि मात्रै गरिनेछ ।’ 

गत महिना बेल्जियमले गरेको युरोपियन विमान नकिनेर अमेरिकी लडाकु जेट विमान एफ–३५ किन्ने निर्णयको उनले आलोचना गरेका थिए । 



  • प्रकाशित मिति : कात्तिक २५, २०७५ आइतबार २१:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया