प्रेम रिमालले त्यागे माओवादी केन्द्र

चितवनका वाम बुद्धिजीवी प्रेम रिमालले माओवादी केन्द्र परित्याग गरेका छन् । उनले केहीबेरअघि फेसबुकमार्फत आफू कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको स्पष्ट पारेका छन् ।

उनले फेसबुक स्टाटसमा नेपाल कम्युनिस्ट पार्टीका श्रद्धेय संस्थापक कमरेड नरबहादुर कर्माचार्यका हातबाट कमरेड निर्मल लामाको उपस्थितिमा नारायणगढको शहीदचोकस्थित मित्रराज दवाडीको कोठामा कम्युनिस्ट पार्टीको सदस्यता लिएको जनाएका छन् ।

उनले स्टाटसमा लेखेका छन्, ‘कहिले नेकपा चौम, कहिले नेकपा एकता केन्द्र, कहिले एकता केन्द्र मसाल, कहिले नेकपा एकीकृत माओवादी त कहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै फेरि नेकपा माओवादी केन्द्रको सदस्य बनेको म आजबाट भने प्रेम रिमाल मात्र बनेको छु ।’

उनले अगाडि भनेका छन्, ‘देश र जनताको पक्षमा जतिसुकै कष्ट झेल्न परे पनि तयार हुनुपर्छ भन्ने कुरा सिकाउने मेरा अग्रजहरू पुष्पकमल दाहाल, प्रेम सुवेदी, भैरव रेग्मी, विष्णु कुँवर, भेषराज गौली, नवीन आचार्यप्रति उच्च आदर आज पनि छ । प्रेम सुवेदी र भेषराज गौली दाइको मृत्यु भैसक्यो । अरू जीवित हुनुहुन्छ ।’

‘मैले दार्शनिक, राजनीतिक र सांस्कृतिकरूपमा एउटा कम्युनिस्ट पार्टी जस्तो हुनुपर्छ भन्ने बुझेको थिएँ त्यसका सामान्य प्रवृत्तिहरू पनि पार्टीमा रहेको अनुभव गर्न नसकेका कारण कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध नरहेको कुरा सबैको जानकारीका लागि अनुरोध छ’, उनले भनेका छन्, ‘नेपाल र नेपाली जनताको पक्षमा उठ्ने आवाजमा मेरो आवाज सदा मिसिने नै छ । सबैखाले न्यायपूर्ण आन्दोलनमा म सदाझैँ लागिरहने प्रतिज्ञा गर्दछु । मलाई ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चेतना जगाइदिने सबैप्रति मेरो विशेष आदर रहिरहने छ ।’





  • प्रकाशित मिति : कात्तिक २७, २०७८ शनिबार २१:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया