logo-img

राष्ट्रियसभा उपनिर्वाचनको गणित : कसको पल्ला कहाँ भारी?

१९ जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति भने घोषणा हुन बाँकी छ । ‘राष्ट्रियसभा निर्वाचन ऐन’को दफा ५ मा बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन हुनेगरी मिति तोक्नुपर्ने प्रावधान भएकोले १६ माघअघि नै तोक्नुपर्ने बाध्यता सरकारलाई छ ।

यसरी जुनसुकै अवस्थामा १६ माघअघि उपनिर्वाचन हुने भएपछि सरकारमा रहेका पाँच दलका नेताहरूले उपनिर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । 

चुनावी गठबन्धन भएमा ६ वटा प्रदेशमा मुख्य प्रतिस्पर्धी दल नेकपा एमाले हुने देखिन्छ । प्रदेश २ मा भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रतिस्पर्धा हुनेछ । 

निर्वाचन आयोगका अनुसार १९ जना राष्ट्रियसभा सदस्यको चार वर्षे पदावधि २० फागुनमा पूरा हुँदैछ । उनीहरू ४ असार, २०७५ मा राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका हुन् । 

पदावधि २० फागुनमा पूरा हुनेमा एमालेका ८, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४/४ जना र कांग्रेसका ३ जना सदस्य छन् । यसबीच हामीले गठबन्धन र एमालेको सात प्रदेशमा मतदाताको स्थिति र सम्भावित परिणामबारे सामग्री तयार गरेका छौं । 



प्रदेश १– राप्रपा निर्णायक !

प्रदेश १ बाट राष्ट्रियसभा सदस्य भएकामध्ये अगमप्रसाद बान्तवा, नैनकला ओझा र परशुराम मेघी गुरुङको स्थानमा उपनिर्वाचन हुने भएको छ । ओझा माओवादीकी तथा बान्तवा र गुरुङ एमालेका हुन् । 



माघमा हुने उपनिर्वाचनमा एमालेका र गठबन्धनका उम्मेदवारहरूको जित्ने सम्भावना कति ? त्यसबारे चर्चा गर्नुअघि मतदाताको संख्या र मतभारको विश्लेषण गरौं ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदाता स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सांसद हुन् । प्रदेश सांसदको मतभार ४८ र प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १८ रहेको छ ।

र, यो प्रदेशमा स्थानीय तह तथा प्रदेश संसद्मा एमाले पहिलो दल हो । एमालेको स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १४६ जना छन् । उनीहरूको कूल मतभार दुई हजार ६२८ हो । प्रदेशमा ४१ जना सांसद छन् । मतभार उनीहरूको एक हजार ९६८ हुन आउँछ । दुई तहको गरी एमालेको जनप्रतिनिधिको मतभार चार हजार ५९६ छ ।

प्रदेशमा कांग्रेस (फोरम लोकतान्त्रिकको समेत गरी) को स्थानीय तहको प्रमुख/उपप्रमुख र अध्य/उपाध्यक्षको संख्या ९६ जना, माओवादी केन्द्रको १४ जना, नेकपा (एकीकृत समाजवादी) पार्टीको १० र जनता समाजवादी पार्टीको ४ जना गरी १२४ जना छन् । उनीहरूको मतभार दुई हजार २३२ हो । 

प्रदेशभरको कुनै स्थानीय तहमा अध्यक्ष/उपाध्यक्षसमेत नभएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि प्रदेश संसद्मा गठबन्धनमा समाहित छ । मञ्चकी एक सांसद विष्णुमाया तुम्बाहाम्फे हाल राज्यमन्त्री छिन् । यसरी मञ्च पनि रहेको गठबन्धनमा ५० सांसद छन् । उनीहरूको मतभार दुई हजार ४०० छ । 

गठबन्धनको स्थानीय र प्रदेशको जनप्रतिनिधिको मतभार चार हजार ६३२ छ । जुन एमालेको भन्दा ३६ मतभार बढी हो । अर्थात् दुई स्थानीय तहको जनप्रतिनिधिको मतभार गठबन्धनमा बढी छ । 

गठबन्धन र एमाले यति झिनो मतभारले अघि–पछि हुँदा राप्रपाको स्थानीय तहमा मतदाता चारजना र प्रदेशमा एकजना जनप्रतिनिधि छन् । उनीहरूको मतभार १२० छ । यही मतभार प्रदेश १ मा हुने राष्ट्रियसभा उपनिर्वाचनमा निर्णायक हुने अवस्था छ ।

राप्रपाको समर्थन जसलाई हुन्छ, उसैको जित हुने देखिन्छ । 

प्रदेश २ : सत्ता गठबन्धन बलियो

एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रकी शशीकला दाहालको स्थानमा प्रदेश २ मा उपनिर्वाचन हुने भएको हो ।

स्थानीय तहमा कांग्रेसको ८१, जनता समाजवादी पार्टी (नयाँ शक्तिको १ गरी) को ५२, माओवादी केन्द्रको ३७ जना (कूल ४५ मध्ये ८ जना एमालेमा गएको) र नेकपा एकीकृत समाजवादीको दुईजना गरी सत्ता गठबन्धनको कूल १७२ मतदाता छन् । उनीहरूको मतभार तीन हजार ९६ रहेको छ ।
प्रदेश संसदमा जसपाको ३९, कांग्रेसको १९, नेकपा (एकीकृत समाजवादी) १३ र माओवादीको ८ गरी ७९ जना सांसद छन् । मतभार तीन हजार ७९२ छ । कूल मतभार गठबन्धनको ६ हजार ८८८ हो ।

प्रदेशको स्थानीय तहमा दोस्रो र संसदमा तेस्रो दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) हो । लोसपाको स्थानीय तहमा राष्ट्रियसभा उपनिर्वाचनका लागि ५५ जना मतदाता छन् । संसदमा उक्त पार्टीको १६ जना सांसद छन् । 

५५ जना जनप्रतिनिधिको मतभार ९९० र १६ जना सांसदको ८६४ हो । लोसपाको कूल मतभार एक हजार ८५४ छ । एमालेको ४३ जना राष्ट्रियसभा उपनिर्वाचनका लागि स्थानीय तहमा मतदाता छन् । र, संसदमा ८ जना सांसद छन् । स्थानीय तहको ७७४ र संसदको ३८४ मतभार गरी कूल एक हजार १५८ मतभार एमालेको प्रदेश २ मा छ । 

जनता दलको स्थानीय तहमा दुईजना मतदाता (३६ मतभार) छन् । प्रदेश संसदमा नेपाल संघीय समाजवादीको एक सांसद छन् । मतभार ४८ हो ।

यसरी यो प्रदेशमा सत्ता गठबन्धन निकै बलियो देखिएको छ । गठबन्धन ६ हजार ८८८ मत हुँदा लोसपा, एमाले, नेपाल संघीय समाजवादी र जनता दल एकठाउँमा आए भने पनि दुई हजार ८०८ मतभार बढी हुने देखिन्छ । यस आधारमा प्रदेश २ मा सत्ता गठबन्धनलाई राष्ट्रियसभा उपनिर्वाचनमा जितका लागि सहज हुनेछ ।

वाग्मती : गठबन्धनलाई छैन असहज

यो प्रदेशमा कांग्रेसका राधेश्याम अधिकारी र एमालेकी उदया शर्मा पौडेलको स्थानमा उपनिर्वाचन हुनेछ । 

प्रदेश संसद् र स्थानीय तहमा एमाले ठूलो दल हो । एमालेका ११६ जना स्थानीय तहमा मतदाता र संंसद्मा ४३ जना सांसद छन् । स्थानीय तहको मतदाताको मतभार दुई हजार ८८ र सांसदको मतभार दुई हजार ६४ छ । दुवै तहको गरी एमालेको कूल मतभार चार हजार १५२ छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको ६७, माओवादीको ३३, नेकपा (एकीकृत समाजवादी) १७ र जनता समाजवादी पार्टी (पहिले नयाँ शक्ति) को १ गरी ११८ जना स्थानीय तहका मतदाता छन् । उनीहरूको मतभार दुई हजार १२४ हो ।

संसद्मा भने गठबन्धनमा रहेको दल माओवादी केन्द्रको २३, कांग्रेसको २२, नेकपा (एस) १३, जसपाको १ सहित ५९ जना गठबन्धनका सांसद छन् । ५९ सांसदको कूल मतभार दुई हजार ८३२ छ । 

यसरी गठबन्धनको कूल मतभार चार हजार ९५६ छ । एमालेको भन्दा यो ८०४ मतभार बढी हो । यो प्रदेशमा विवेकशील साझा पार्टीको तीन सांसद (१४४ मतभार), राप्रपाको दुई सांसद (९६ मतभार) र नेपाल मजदुर किसान पार्टीको दुई सांसद (९६ मतभार) छन् । 

यी तीन साना दलका सात सांसदको कूल ३३६ मतभार छ । स्थानीय तहमा राप्रपा दुई (३६ मतभार) र नेमकिपाको दुई (मतभार ३६) मतदाता छन् । यी दुई दलको चार जनप्रतिनिधिको मतभार ७२ हो । यसरी साना तीन दलको प्रदेश र स्थानीय तहको मतभार ४०८ हो । 

यो मतभार एमालेमा थपियो भने चार हजार ५६० हुन्छ । त्यसो गर्दा पनि गठबन्धनको मतभार ३९६ बढी हुन आउँछ । यसकारण, वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई कठिन पर्ने देखिन्छ । 

यसअघि ६ जेठमा केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’ को स्थानमा गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए । उनी नेकपा (एकीकृत समाजवादी) का हुन् ।

त्यसबेला देवकोटाले पाँच हजार ८८, बादलले चार हजार १४ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३४ प्राप्त गरेका थिए । तर देवकोटाको पक्षमा मतदान गर्नेमध्ये १७ जना मात्रै नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । नेकपा एकीकृत समाजवादीकी वाग्मती अध्यक्ष सावित्री भुसालका अनुसार धेरै एमालेमै रहे ।  

तैपनि, यसपटक हुने उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जितका लागि सहज हुने देखिएको छ । 

गण्डकी : एमालेलाई गाह्रो 

आगामी माघमा दीनानाथ शर्मा, खिमकुमार बिक र शान्ताकुमारी अधिकारी जिसीको स्थानमा उपनिर्वाचन हुने भएको हो । शर्मा र विश्वकर्मा माओवादी केन्द्रका हुन् । जिसी भने एमालेकी हुन् ।

प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये कांग्रेसको ८१ जना, माओवादी केन्द्रको १२ जना, राष्ट्रिय जनमोर्चाको तीनजना र नेकपा (एकीकृत समाजवादी) को एकजना मतदाता छन् । 

यी चार दलका ९७ मतदाताको मतभार एक हजार ७४६ हुन आउँछ । प्रदेशमा कांग्रेस १५, माओवादी १२, जनमोर्चा २, जसपा २ र स्वतन्त्र (दीपक मनाङे) गरी गठबन्धनमा ३२ सांसद छन् । उनीहरूको मतभार एक हजार ५३६ हो । यो प्रदेशमा गठबन्धनको दुवै तहको गरी मतभार तीन हजार २८२ मत छ । 
एमालेको स्थानीय तहमा ६९ जना मतदाता छन् । प्रदेशमा २७ जना छन् । 

स्थानीय तहको ६९ जनाको मतभार एक हजार २४२ र प्रदेश सांसद २७ जनाको मतभार एकहजार २९६ छ । दुवै तहको जोड्दा एमालेको मतभार दुईहजार ५३८ हुन आउँछ । गठबन्धनको भन्दा यो मतभार ७४४ मतभारले कम हो । यसले गर्दा गठबन्धन बलियो देखिन्छ । 

प्रदेशको स्थानीय तहमा राप्रपाको २, स्वतन्त्र २ मतदाता छन् । उनीहरूको मतभार ७२ हो । यी चार मतदाताको सहायता लिए पनि एमालेलाई गण्डकीमा गठबन्धनविरुद्धको उपनिर्वाचनमा लडाइँ गाह्रो पर्ने देखिन्छ । 

लुम्बिनी प्रदेश : गठबन्धन बलियो

राष्ट्रियसभा सदस्यहरू कोमल वली, दृगनारायण पाण्डेय र रामलखन चमारको स्थानमा सरकारले उपनिर्वाचन गर्ने भएको छ । वली र चमार एमाले हुन् । पाण्डेय कांग्रेसका हुन् । प्रदेश सांसदबाट राजीनामा दिएका पाण्डेय कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थनमा १७ जेठमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । 

चार वर्षे पदावधि रहेको राष्ट्रियसभाका तत्कालीन सदस्य चन्द्रबहादुर खड्का माओवादी त्यागेर एमाले गएपछि उनको ठाउँमा भएको निर्वाचनमा उनैलाई पाण्डेले पराजित गरेका हुन् । र, निर्वाचित भएको ९ महिनापछि पदावधि सकिने भएपछि सरकारले उपनिर्वाचन गर्ने भएको हो । 

त्यसबेला पाण्डेयले प्रदेशसभाको २०१६ र स्थानीय तहको २१२४ गरी कुल ४ हजार १४० मतभार प्राप्त गरेका थिए । 
तत्कालीन जसपाको महन्थ ठाकुर पक्षको पनि समर्थन रहेको एमालेका उम्मेदवार खड्काले भने प्रदेशसभाको १९२० र स्थानीय तहको १६९२ गरी कुल ३६१२ मतभार प्राप्त गरेका थिए ।

हाल यो प्रदेशमा कांग्रेसको (लोकतान्त्रिक फोरमसमेत गरी) ६४ जना मतदाता राष्ट्रियसभा उपनिर्वाचनका लागि छन् । माओवादीको ४१, जसपाको १२, प्रदेश निर्वाचन कार्यालयले जनाएअनुसार नेकपा एकीकृत समाजवादीको ४ र जनमोर्चाका ४ मतदाता छन् । यसरी गठबन्धनको कूल १२५ जना मतदाता छन् र उनीहरूको मतभार दुई हजार २५० छ । 

संसदमा कांग्रेसको १९, माओवादीको १९, जसपा ३, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ गरी ४३ जना सांसदको मतभार दुई हजार ६४ छ । गठबन्धनको दुवै तहको गरी कूल मतभार चार हजार ३१४ छ । 

एमालेको ८६ जना (१५४८ मतभार) स्थानीय तहको मतदाता र संसदमा ३७ जना (१७७६ मतभार) मतदाता छन् । दुवै तहको गरी मतभार तीनहजार ३२४ छ । 

प्रदेशमा २ राप्रपा र स्वतन्त्र ३ जना गरी पाँच मतदाता पनि छन् । उनीहरूको मतभार ९० हो । यो मतभार एमालेमा थपिए पनि एमालेका राष्ट्रियसभा सदस्यको उम्मेदवारलाई जित्न कठिन छ । 

कर्णाली : गठबन्धनको १६ सय बढी मतभार

कर्णालीमा राष्ट्रियसभाका तीनजना सदस्यको पदमा उपनिर्वाचन हुने भएको छ । ती तीनजना सदस्यहरू हुन्, कविता बोगटी, जीवन बूढा र ठगेन्द्रप्रकाश पुरी । 

पुरी माओवादीका हुन् भने अन्य दुई जना एमालेका हुन् । यो प्रदेशको स्थानीय तहमा माओवादी केन्द्र ठूलो दल छ । माओवादीको ५२ (तीन दिनअघि एमालेका डोल्पो गाउँपालिका अध्यक्ष प्रवेश), कांग्रेसको ४१, नेकपा एकीकृत समाजवादीको १७ गरी गठबन्धनको ११० मतदाता छन् । मतभार एक हजार ९८० छ ।

प्रदेश संसद्मा भने माओवादी दोस्रो ठूलो दल हो । माओवादीको १२, कांग्रेसको ६ र नेकपा एकीकृत समाजवादीको ३ सांसद छन् । 

यी २१ सांसदको मतभार एक हजार ८ हो । दुवै तहको गरी गठबन्धनको पक्षमा मतभार दुईहजार ९८८ छ । जबकि, एमालेको भने स्थानीय तहमा ४१ मतदाता र प्रदेश संसद्मा १३ मतदाता छन् । 

स्थानीय तहको ४१ जना मतदाताको मतभार ७३८ र १३ सांसदको मतभार ६२४ गरी एकहजार ३६२ मत छ । यो गठबन्धनको भन्दा एकहजार ६२६ मतभार कम हो । 

राप्रपाको संसदमा एक सांसद (४८ मतभार) र दुई स्थानीय तहका जनप्रतिनिधि मतदाता र ६ जना स्वतन्त्र स्थानीय तहका जनप्रतिनिधि मतदाता भएर एमालेलाई सहयोग गरे पनि १९२ मतभार मात्रै थपिने देखिन्छ । 

त्यसो हुँदा पनि गठबन्धनका उम्मेदवारले एकहजार ४३४ मतभारले उपनिर्वाचन जित्ने देखिन्छ । 

सुदूरपश्चिम प्रदेश 

यो प्रदेशबाट राष्ट्रियसभा सदस्य भएका चक्रप्रसाद स्नेही, तारादेवी भट्ट र शेरबहादुर कुँवरको २० फागुनमा पदावधि सकिँदै छ । चार वर्षे पदावधि सकिन लागेका स्नेही र कुँवर एमाले र भट्ट कांग्रेसकी हुन् ।

तत्कालीन नेकपाबाट सहज ढंगले स्नेही र कुँवर निर्वाचित भएका थिए । भट्ट त एकल संक्रमणीय प्रावधानका कारण निर्वाचित भएकी हुन् । आगामी माघमा हुने उपनिर्वाचनबाट भने एमाले उम्मेदवारहरूलाई जितेर राष्ट्रियसभा आउन सहज छैन । 

यहाँको स्थानीय तहमा कांग्रेसका ७४ जना राष्ट्रियसभा उपनिर्वाचनका मतदाता छन् । माओवादी केन्द्रको १८ जना (१ जना एमालेमा गएको) र नेकपा एकीकृत समाजवादीको १४ मतदाता छन् । गठबन्धनमा रहेका यी तीन दलको स्थानीय तहमा १०६ मतदाता छन् । एक जनाको १८ मतभारले गणना गर्दा उनीहरूको मतभार एक हजार ९०८ हुन आउँछ । 

प्रदेश संसद्मा नेकपा एकीकृत समाजवादीको १४, माओवादी केन्द्रको १३, कांग्रेसको १२ र जसपाको १ सांसद छन् । उनीहरूको मतभार एकहजार ९२० हो । यसरी दुवै तहको गरी गठबन्धनको मतभार तीन हजार ८२८ हो ।

एमालेको ६९ जना (१२४२ मतभार) स्थानीय तहमा मतदाता छन् । संसदमा १० सांसद (४८० मतभार) छन् । दुवै तहको गरी एमालेको एकहजार ७२२ मतभार छ । 

लोकतान्त्रिक समाजवादी पार्टीको एक सांसद छन् । उनको मतभार ४८ हो । यो मतभार एमालेमा थपिए पनि एक हजार ७७० मतभार हुने छ । गठबन्धनको भन्दा यो मतभार दुई हजार ५८ ले कम हो । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया