केही निर्माता-निर्देशक आँट देखाउँदै, केही अझै निराश

तिहार अघिसम्म नेपालका फिल्म हल सुनसान प्राय थिए । आफ्ना चलचित्रको सम्पूर्ण काम सकेर बसेका निर्माता/निर्देशक पर्ख र हेरको अवस्थामा थिए । 

कोरोनाका कारण देशभरका झण्डै २५ प्रतिशत हल बन्द भए । सञ्चालनमा रहेका हलमा पनि फिल्म लाग्न सकेनन् । यो अत्यास लाग्दो घडीमा हल सञ्चालक मात्रै होइन निर्माता निर्देशक पनि निराश भए । 

कोरोनाका कारण बन्द भएका हलमा आफ्ना चलचित्र लगाउँदा दर्शक आउँछन्आ/उँदैनन् भन्ने दोधारमा थिए । आफ्ना चलचित्रको प्रदर्शन मिति तोक्न सकिरहेका थिएनन् । 

तिहारमा अक्षय कुमारको ‘सूर्यवंशी’ प्रदर्शन भयो । नेपाली हलहरु खचाखच भरिए । दर्शकको चहलपहल देखेपछि नेपाली फिल्मका निर्माता/निर्देशकले अहिले आँट देखाएका छन् । धमाधम नेपाली फिल्मको रिलिज डेट घोषणा गर्न थालेका छन् । 

निर्देशक सुदर्शन थापाले आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’लाई फागुन २७ गते रिलिज गर्ने सार्वजनिक गरिसकेका छन् । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनले शिर्ष भूमिकामा देखिने छन् । 



सुदर्शनकै निर्देशन रहेको अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते रिलिज हुने भएको छ । ‘म यस्तो गीत गाउँछु २’मा पल शाह र पूजा शर्माले शिर्ष भूमिकामा देखिँदै छन् । 

यी दुबै चलचित्र आशा गरिएका चलचित्र हुन् । आफ्नो दुई चलचित्रको प्रदर्शन मिति तोकेर प्रचारमा निस्किएका सुदर्शन अब स्थिति सुध्रिएको बताउँछन् ।  



दर्शकले प्रतिक्षा गरेको अर्को चलचित्र हो ‘चपली हाइट ३’ । अर्जुन कुमारले निर्माण गरेको यो चलचित्रले पनि रिलिज डेट लक गरेको छ । चलचित्रले आगामी पुष २ गतेका लागि प्रदर्शन मिति पक्का गरेको छ । 

‘चपली हाइट ३’ निकेश खड्काले निर्देशन गरेका हुन् । यो चलचित्र २०७६ चैत्र २८ गते प्रदर्शन हुन तयारी अवस्थामा थियो । तर कोरोनाका कारण चलचित्र प्रदर्शन स्थगित गरियो । त्यसपछि चलचित्रले प्रदर्शन मिति तोक्न सकेको थिएन । क्राइम थ्रीलर जनरामा बनेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापा लगायतका कलाकारले अभिनय गरेका छन् । 

‘चपली हाइट ३’ का अघिल्ला दुई सिरिजले नेपाली बक्स अफिसमा सफलताको स्वाद चाखेका थिए । 

निर्देशक सुमन पौडेलले हलमा ‘सूर्यवंशी’ लाग्नु अघि नै मंसिर १७ गतेबाट आफ्नो चलचित्र ‘ओभरडोज’ प्रदर्शनमा ल्याउने घोषणा गरेका थिए । आफ्नो चलचित्रको प्रदर्शन मिति तोकेर प्रचारमा रहेका सुमन ‘सूर्यवंशी’ले दर्शक तानेपछि आफ्नो फिल्ममा पनि दर्शक आउनेमा ढुक्क छन् । लागूऔषध र अपराधको कथालाई केन्द्रमा राखेर निर्माण भएको यो चलचित्रमा प्रनिशराज पन्त, सविनजंग थापा र वीना श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

अर्को चलचित्र ‘चुरीफुरी’ले पनि पुस ९ लाई रिलिज डेट लक गरेको छ । ऋषिराम आचार्यले निर्देशन गरेको यो चलचित्र भने हल सञ्चालनमा आएसँगै प्रदर्शन मिति तोक्ने चलचित्र भित्र पर्छ । कमेडी जनरामा बनेको चलचित्र ‘चुरीफुरी’मा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी लगायतका कलाकार देखिने छन् । 

चलचित्र ‘लप्पन छप्पन २’ आगामी फागुन १३ गते महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक मुकुन्द भट्टले दुई महिना अघि नै यो चलचित्र प्रदर्शन मिति घोषणा गरेका थिए । एक्सन जनरामा निर्माण भएको यो चलचित्र गएको वर्षको महाशिवरात्रि लक्षित थियो । कोरोनाका कारण अघिल्लो वर्ष रिलिज हुन नसकेको यो फिल्मले यस वर्ष महाशिवरात्रिको अवसर छोपेको छ । चलचित्रमा अर्पण थापा, सौगात मल्ल, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । 

दर्शकले प्रतिक्षा गरेको चलचित्र ‘ए मेरो हजुर ४’ ले पनि चैत २५ लाई रिलिज डेट पक्का गरेको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्र सुनिलकुमार थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत शिर्ष भूमिकामा देखिने छन् । 

यस्तै अर्को प्रतीक्षित चलचित्र ‘चिसो मान्छे’ले पनि प्रदर्शन मिति तय गरेको छ । दीपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको ‘चिसो मान्छे’ ले आगामी वर्षको बैशाख ३० गतेलाई रिलिज डेट लक गरेको हो । यो चलचित्रको छायांकनमा निस्कनु अघि नै निर्देशक खनालले २०७८ को भदौमा चलचित्र रिलिज गर्ने सुनाएका थिए । तर कोरोना महामारीका कारण उक्त मितिमा चलचित्र प्रदर्शन हुन सकेन । शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल शिर्ष भूमिकामा देखिने छन् । 

धेरै चलचित्रले धमाधम प्रदर्शन मिति तोक्न थाले पनि प्रदर्शनको मुखैमा आएर रोकिएका केहि चलचित्र अझैं अन्योलमै छन । ‘नीरफूल’, ‘प्रेम गीत ३’ ‘हिजो आजका कुरा’, ‘लक्का जवान’ लगायतका चलचित्रले अझैं प्रदर्शन मिति तोक्न सकेका छैनन् । यी चलचित्रले कोरोना महामारी अघि नै विभिन्न मिति लिएर एक चरण प्रचार गरिसकेका थिए । तथापि कोरोनाका कारण प्रचार गरिएको मितिमा प्रदर्शन हुन सकेनन् । 

आफ्नो चलचित्र ‘प्रेम गीत ३’ नेपाल र भारतमा एक साथ प्रदर्शन गर्ने योजनामा रहेका सन्तोष सेनले चलचित्रको रिलिज मिति तोक्ने तयारीमा रहेको सुनाए । चलचित्र चैत्र–बैशाखको बिचमा प्रदर्शन गर्ने लक्ष्य सेनको छ । 

प्रदर्शनको मुखैमा आएर रोकिएका ‘नीरफूल’, ‘हिजोआजका कुरा’ले नयाँ प्रदर्शन मितिको तयारी समेत गर्न सकेका छैनन् । कोरोना अघि नै प्रचारमा लाखौं रकम खर्किएकाले पनि नेपाली सिनेमाको बजार नहेरि प्रदर्शन मिति तोक्ने मनस्थितीमा छैनन् ‘नीरफूल’का लेखक तथा निर्देशक फूलमान बल । 

उनी भन्छन्, ‘बिस्तारै हल तंग्रिन थालेका छन् । पहिला नै प्रचारमा लाखौं रकम खर्च गर्यौं । अन्तिममा कोरोनाको चपेटामा चलचित्र पर्यो । अझै पनि हतारमा प्रदर्शन मिति तोकेर भनेजस्तो माहोल बनेन भने पुनः सर्नु पर्छ । अझैं केहि महिना चलचित्र रिलिज गर्ने सोच छैन ।’ 

छायांकनमा रहेका केहि चलचित्र तथा निर्माण कार्य सकेर बसेका अन्य थुप्रै चलचित्र पनि आफ्नो प्रदर्शन मिति तोक्ने तयारीमा छन् । यसैपनि अस्वस्थ प्रतिस्पर्धा हुने नेपाली सिने उद्योगमा एकै पटक धेरै चलचित्रले प्रदर्शन मिति तोक्दा अस्वस्थ प्रतिस्पर्धा झन् बढेर जाने डर रहेको निर्माता दीपकराज गिरी बताउँछन् । 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी भने चलचित्र उद्योगको पछिल्लो माहोल हेरेर निक्कै आशावादी देखिएका छन् । सिने उद्योगले लय समातेको उनको विश्वास छ । ‘यही अवस्था रहिरह्यो भने चलचित्र निर्माणको क्रम पनि बढेर जानेछ । चलचित्र निर्माण बढ्नु भनेको उद्योगका धेरैको रोजगारी पनि सुरु हुनु हो,’ उनले भने । 

  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार १५:३२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया