जनकपुरधाममा मंगलबार रातिसम्मका लागि निषेधाज्ञा

जनकपुरधाममा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले आइतबार राति १० बजेसम्मका लागि लगाइएको निषेधाज्ञा बढाएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० मा लगाएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मका लागि बढाएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा पुनः बढाइएको बताए ।

वडा नम्बर–२० देवपुरा रुपैठामा छठ पर्वका दिन स्थानीय तेलिया पोखरीमा अर्घ्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा दुई समुदायबीच विवाद हुँदा स्थानीय प्रशासनले शनिबारदेखि आइतबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९ को उपदफा ३(क)बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभाजस्ता क्रियाकलाप गर्न रोक लगाएको छ ।
 
पूर्वमा जलाद नदीको कली बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७८ आइतबार २०:२१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया