कांग्रेस केन्द्रीय कमिटी बैठकः आइतबारको बैठकमा ओलीप्रति कटाक्षदेखि अरु के के भयो ?

पटकपटक मिति हेरफेर गरिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने निश्चित भएको छ । आइतबार बूढानीलकण्ठमा बसेको केन्द्रीय कमिटी बैठकपछि महाधिवेशन हुने निश्चितता बढेको हो । 

यसका लागि महाधिवेशन सम्पन्न गर्न कांग्रेसले विभिन्न समिति गठन गरेको छ । 

बैठकले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समिति सदस्यहरूमा पदाधिकारी, केन्द्रीय सदस्यहरु, आमन्त्रित केन्द्रीय सदस्यहरु, संघीय सांसदहरु र सातवटै प्रदेशका पार्टी संसदीय दलका नेता रहनेछन् । 

यही बैठकले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ संकलन, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास समिति र विदेशी पाहुना स्वागत तथा सत्कार समिति सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको छ । 

प्रवक्ता शर्मा संयोजक रहेको प्रचारप्रसार, काठमाडौं उपत्यकाको तीन जिल्ला सभापति रहेको उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति, सीता गुरूङ संयोजक रहेको सांस्कृतिक समिति र सेवा निवृत्त कर्णेल धनबहादुर राना संयोजक रहेको स्वयंसेवक व्यवस्थापन समिति पनि आजको केन्द्रीय कमिटी बैठकले गठन गरेको छ ।




सात प्रदेशको अधिवेशन गर्न संयोजक तोकिए 

केन्द्रीय समिति बैठक अगाडि बसेको पदाधिकारी बैठकले सातै प्रदेशको अधिवेशन गर्न आयोजक समिति गठन गरेको छ । 



बैठकमा समिति संयोजकहरु पनि तोकिएको छ भने समितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश संसदीय दलका नेता, सदस्य, जिल्ला समन्वय समिति र नगरका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष सदस्य हुने भनिएको छ । 

प्रदेश अधिवेशन आयोजक समितिको प्रदेश १ संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल, बागमती प्रदेश संयोजकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र गण्डकी प्रदेश संयोेजकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई तोकिएको छ ।

लुम्बिनी प्रदेश संयोजकमा गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, कर्णाली प्रदेश संयोजकमा त्यहाँका मुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिम संयोजकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू तोकिएका छन् ।

उनीहरूले प्रदेश अधिवेशनको सभापतित्व गर्नेछन् । संयोजक तोक्ने विषयमा नेताहरूबीच पदाधिकारी बैठकमा विवाद भएको थियो । 


ओलीलाई कटाक्ष गर्दै शर्माले भने: संविधान पछि दोस्रोपटक महाधिवेशन अरु पार्टीले गरेको छैनन्

नेपाली कांग्रेसका प्रवक्ता शर्माले प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नयाँ संविधान बनेपछि दोस्रोपटक कुनै दलले अधिवेशन गर्न लागेको भए त्यो नेपाली कांग्रेस भएको बताएका छन् । 

ओलीले पटकपटक ठूलो लोकतान्त्रिक भन्ने पार्टी महाधिवेशन गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै दिएको अभिव्यक्ति र कांग्रेसको आलोचनालाई लक्षित गर्दै शर्माले यस्तो बताएका हुन् ।

‘साढे पाँच वर्षको अवधिमा महाधिवेशन गर्न नसकेकोमा आत्मआलोचित त छौं तर यसबारेमा एमाले अध्यक्षले संविधानले तोकेको अवधिभित्र महाधिवेशन गर्न नसकेको भनेर नेपाली कांग्रेसको बारेमा आलोचना गर्नुभएको छ,’ प्रवक्ता शर्माले पत्रकारहरूसँग भने, ‘म यति मात्रै भन्न चाहन्छु, कि नयाँ संविधान निर्माण भएपछि नेपाली कांग्रेस पार्टी दोस्रो चोटी महाधिवेशन गर्दै छ । नेपाली कांग्रेस पार्टीबाहेक अन्य कुनै दल छैनन्, जसले संविधान बनेपछि दोस्रोपटक अधिवेशन गर्दै छ ।’

कांग्रेसले साढे पाँच वर्षको अवधि टेकेर राम्रो र व्यवस्थित ढंगले महाधिवेशन गर्ने कुरामा केन्द्रित भएको पनि उनले बताएका छन् ।

 

बैठकमा न्यायालय विवादबारे भएन छलफल 

पछिल्लो समय निकै आलोचित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन दबाब दिँदै १५ जना न्यायाधीश र नेपाल बार एसोसिएसनमा आबद्ध कानुन व्यवसायीहरु दिनहुँ आन्दोलन चर्काइरहेका छन् । उनीहरुले बारम्बार राजनीतिक दलले पनि यसबारे बोल्नु पर्ने आवाज उठाएका छन् ।

तर, आज कांग्रेसको केन्द्रीय कमिटी बैठकमा यस विषयमा कुनै छलफल नै भएन ।

बरु यो विषयमा कुरा उठाउन नेताहरुले खोज्दा बीचमै सभापति देउवाले रोकिरहे । उनले न्यायालयको विवादबारे बोल्नु ठिक नभएको बताउँदै रहे ।

देउवानिकट नेता एनपी साउदले बैठकपछि भने, ‘राज्यको एउटा स्वतन्त्र र निष्पक्ष अंगको बारेमा अर्काे अंगले बोल्दा त्यसले प्रजातन्त्रको संस्थागत विकासलाई, हाम्रो संविधानलाई र शक्ति पृथकीकरणलाई टेवा पुग्दैन । त्यसकारण अदालतको विवाद अदालतबाटै टुंग्याउनुपर्छ भन्ने कांग्रेसको मान्यता छ ।’


  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार ०:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया