कठिन प्रतिस्पर्धाबीच उपाधि जित्ने दाउमा संकटा

सहीद स्मारक ‘ए’ डिभिजन लिगको सिजन सुरु हुँदै गर्दा क्लबहरूको चहलपहल बढ्न थालेको छ । क्लबहरू खेलाडी अनुबन्ध गर्ने, धमाधम प्रशिक्षण गर्नेतर्फ लागेका छन् । 

ए डिभिजन क्लब संकटाको स्थापना सन् १९५० मा भएको हो । लिगमा निकै कडा प्रतिस्पर्धी संकटा यसपटक कठिन प्रतिस्पर्धाबीच उपाधि उचाल्ने दाउमा छ । 
क्लबले हाल साँगामा आफ्नै मैदानमा प्रशिक्षण गर्दै आएको छ । संकटाले उक्त मैदान १५ वर्षका लागि भाडामा लिएको हो । यही मैदानमा टोलीले प्रशिक्षण गर्दै आएको छ । 

टोलीको मुख्य प्रशिक्षक विष्णु गुरुङ छन् भने सहायक प्रशिक्षकमा राजकुमार केसी छन् । जसमा विष्णु गुरुङ ए लाइसन्स प्राप्त प्रशिक्षक हुन् भने राजकुमार केसी भने बी लाइसन्स प्राप्त प्रशिक्षक हुन् । 

संकटामा राष्ट्रिय टोलीका खेलाडी छैनन् । मोफसलका खेलाडी र पूर्व खेलाडी सम्मिलित टोली बनाएको संकटा क्लबका म्यानेजर राजेश तुलाधरले बताए ।
‘खेलाडी तथा प्रशिक्षकमा विश्वास छ । हाम्रो पनि लक्ष्य उपाधि नै हो’, म्यानेजर तुलाधरले भने, ‘उपाधि चुम्न सजिलो छैन । सबै टोली बलिया र राम्रा छन् ।’ 

यस वर्षको लिग निकै रोमाञ्जक हुने उनको विश्वास छ । सबै टोली बलिया भएका कारण उपाधि जित्न सबैलाई कडा मेहनत गर्नुपर्नेछ । 

लिगको सुरुवाती चरणमा आक्रामक खेल प्रदर्शन गर्दै आएको संकटा पछिल्ला केही वर्ष यता भने संकटमा परेको देखिन्छ । सन् २००० यता खेलमा राम्रो प्रदर्शन दिन नसकेको संकटाले यस वर्ष भने केही फरक नतिजा ल्याउने अपेक्षा राखेको छ । 



आर्थिक तथा व्यवस्थापकीय पक्षले गर्दा पो खेल खस्किएको हो कि भन्ने प्रश्नमा म्यानेजर तुलाधर भन्छन्, ‘त्यस्तो केही होइन, खेलाडी तथा प्रशिक्षक अहिले खुसी नै छन् । सबै टोलीले जस्तै हामीले पनि हाम्रो शतप्रतिशत दिने प्रयास गरेका छौं र गर्छौैं पनि ।’ 

संकटामा खेलाडीको तलब व्यवस्था



संकटाले यस सिजनमा खेलाडीलाई ४० हजार देखि १ लाख ५० हजारसम्म तलब दिनेछ । खेलाडीको दक्षता हेरेर तलबको व्यवस्था गरिएको म्यानेजर तुलाधरले बताए । 

संकटाको ए डिभिजन यात्रा

संकटा क्लबले सन् १९८० मा पहिलो ए डिभिजनको उपाधि आफ्नो नाममा पारेको थियो । सुरुवाती चरणमा राम्रो प्रदर्शन गर्दै आएको यो टोलीले सन् १९८३ र १९८५ मा पनि ए डिभिजन लिगको उपाधि हात पारेको थियो । 

ए डिभिजन लिगको ३८ औं संस्करणमा भने संकटाले कमजोर खेल्यो र बी डिभिजनमा घटुवा भयो । सन् २०१० मा भएको सो संस्करणमा २२ खेलमध्ये जम्मा ५ खेलमा जित र अन्य सबै खेलमा पराजय भोगेपछि संकटा रेलिगेसनमा पर्‍यो । रेलिगेसनमा परेको एक वर्षमा नै पुनः सन् २०११ मा संकटा बी डिभिजनको उपाधिसहित ए डिभिजनमा बढुवा भयो । 

सन् २०१२ बाट पुनः एउटा नयाँ जन्म पायो, संकटाले । ए डिभिजन लिगमा फर्किए पनि संकटाको १९८० को चमक फर्किएन । सन् २०१२÷१३ मा भएको ए डिभिजन लिगमा ११औं स्थानमा रह्यो । 

सन् २०१३/१४ मा भएको ए डिभिजनमा भने केही सुधार गर्दै टोली पाँचौं स्थानमा उक्लियो । सन् २०१५ देखि २०१८ सम्म ए डिभिजन लिग सञ्चालन नै भएन । 

सन् २०१८/१९ मा भएको ए डिभिजन लिगमा भने टोलीको प्रस्तुति सुधारिएको देखियो । संकटाले २०१८/१९ मा भने मनाङ मस्र्याङ्दी क्लबसँग हार बेहोर्दै दोस्रो स्थानमा रहन सफल भयो । 

२०१९/२० मा भएको लिगमा संकटाले लय लिन सकेन र सातौं स्थानमा रहँदै लिग सकायो । २०२० मा भने कोभिड १९ का कारण विश्वका सम्पूर्ण खेलकुद कार्यक्रम ठप्प भए । यही कारणबस ए डिभिजन लिग पनि हुन सकेन । 

२०२१ मा हुन लागेको ए डिभिजनको ४४ औं संस्करणमा भने संकटा सुधारिएको खेल प्रदर्शन गर्ने योजनामा रहेको म्यानेजर तुलाधरले बताए । 

संकटाका स्टार खेलाडी 

रवि सिलवाल

रवि सिलवाल नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी हुन् । उनी संकटाको कप्तान समेत हुन् । राष्ट्रिय टोलीका पूर्वडिफेन्डर सिलवाल संकटाका प्रमुख खेलाडी हुन् । उनले सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका थिए । उनले कुवेतविरुद्ध भएको खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । 

लक्ष्मण रुचाल 

नेपाली घरेलु फुटबलको चर्चित नाम हो, लक्ष्मण रुचाल । ३१ वर्षीय मिडफिल्डर रुचाल उनी नेपालको घरेलु फुटबलमा चर्चा कमाएका खेलाडी हुन् । उनले यसअघि पनि संकटा क्लबबाट ए डिभिजन लिग खेलेका थिए । 

उत्तम राई 

उत्तम राई भारतीय यू–१४, यू–१६ र यू–१९ टोलीबाट खेलिसकेका युवा खेलाडी हुन् । २४ वर्षीय उनीमाथि संकटाले ठूलो विश्वास गरेको छ । उनले यसअघि फ्रेन्ड्स क्लबबाट खेलेका थिए । भारतीय टोलीबाट विभिन्न उमेर समूहको खेल खेलिसकेका उनले अघिल्लो संस्करणमा पनि राम्रो प्रदर्शन गरेका थिए । 

यो पनि पढ्नुहोस्

‘ए’ डिभिजन लिग : गत संस्करणभन्दा थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जावलाखेल

इतिहास रच्ने दाउमा मनाङ मर्स्याङ्दी

‘ए’ डिभिजन लिग : नयाँ चुनौतीका लागि तयार सातदोबाटो

ए डिभिजन लिग : मछिन्द्रको आँखा उपाधिमा

साख फर्काउने प्रयासमा एनआरटी

च्यासलको लिग जित्ने आधार : युवा र अनुभवी खेलाडी

सदावहार उपाधि दाबेदार थ्रीस्टार

‘ए’ डिभिजन लिग : कडा प्रतिस्पर्धा दिन तयार हिमालयन शेर्पा

प्रदर्शन सुधारको आशामा ब्रिगेड ब्वाइज

  • प्रकाशित मिति : कात्तिक २९, २०७८ साेमबार १३:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया