मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका १३ जना शिक्षकले स्वैच्छिक अवकाश रोजेका छन् । उमेर हद र सेवा अवधिका हिसाबले अवकाश हुने उमेरमा पुगेका अग्रज शिक्षकलाई नगदसहित सम्मान गर्दै अवकाश दिलाएर युवा पुस्ताका शिक्षकलाई विद्यालयमा प्रवेशको अवसर सिर्जना गर्ने गरी पालिकाले स्वैच्छिक अवकाशको योजना ल्याएको थियो ।
स्वैच्छिक अवकाश रोज्ने शिक्षकलाई सोमबार गाउँपालिकाले सम्मान गरेर बिदाइ गरेको छ । गाउँपालिकाले सेवा अवधि २ वर्ष बाँकी रहेका दुईजना शिक्षकलाई जनही २ लाख, ४ वर्ष सेवा अवधि बाँकी भएका ४ जना शिक्षकलाई जनही ३ लाख रुपैयाँका दरले नगदसहित सम्मान गरेर बिदाइ गरेको हो ।
त्यस्तै, ७ वर्ष सेवा अवधि बाँकी भएका ३ जना शिक्षकलाई जनही ४ लाख र ७ वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका ४ जना शिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।
१३ जना शिक्षकलाई स्वैच्छिक अवकाशका लागि प्रोत्साहित गर्ने क्रममा गाउँपालिकाले ४८ लाख रुपैयाँ नगद वितरण गरेको छ । स्वैच्छिक अवकाश कार्यक्रमले गाउँपालिकाका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षता तथा जिल्ला शिक्षा समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यमा शिक्षक बिदाइ कार्यक्रम भएको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक गाउँपालिकाले स्वैच्छिक अवकाश कार्यक्रम ल्याएको हो । मकवानपुरगढी गाउँपालिकामा ३९ वटा विद्यालय छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।