राजस्व चुहावटको आरोपमा क्रिष्टल बोटलर्सका सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।

विभागले आज जारी गरेको सूचना उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको उल्लेख छ । 

विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रूपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना रहेका छन् । 

अनुसन्धानका क्रममा उनीहरूबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ । 

साथै, भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ । 

उनीहरूमाथि राजस्व चुहावट, (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड ‘झ’ बमोजिम कसुर गरेको आरोप छ ।  





  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार १९:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया