शीर्ष पाँचभित्र अटाउने एपिएफको लक्ष्य

शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोलीमध्ये सबैभन्दा कान्छो टोली हो, एपिएफ । यस टोलीको सबैभन्दा बलियो पक्ष भनेको नेपालमै उत्पादित खेलाडी हुन् । 
सन् २००१ मा स्थापना टोलीले टोलीका स्थायी खेलाडी र सम्झौतामा रहेका खेलाडीको टोली तयार पारेको छ । 

एपिएफले लिगमा मध्यम प्रदर्शन गर्दै आएको छ । एपीएफले हालसम्म कुनै पनि संस्करणको उपाधि हात पार्न सकेको छैन । हरेकजसो संस्करणमा रेलिगेसनबाट जोगिन संघर्ष गर्नु एपिएफको नियति जस्तै बनिरहेको छ । 

यस्तोमा आसन्न लिगमा पनि एपिएफको पहिलो लक्ष्य कम्तीमा लिग अंक तालिकाको मध्यपंक्तिमा रहेर रेलिगेसनको दबाबबाट मुक्त हुनु हुनेछ ।
गत सिजन लिगमा अत्यन्तै खराब प्रदर्शन गरेको एपिएफ १४ क्लबमध्ये १२औं स्थानमा रहेर रेलिगेसनबाट मुस्किलले जोगिएको थियो । 

यस पटक भने टोलीले कम्तीमा पनि शीर्ष पाँच भित्र रहने योजना बनाएको एपिएफका टोली म्यानेजर इन्स्पेक्टर विजय केसीले बताए । 

सन् २००६ मा पहिलो पटक ए डिभिजन लिगको प्रतिस्पर्धामा उत्रिँदा पाँचौं भएको एपिएफ तीन वर्षअघि भएको बिना रेलिगेसनको लिगमा पनि पाँचौं भएको थियो ।
राष्ट्रिय टोलीका फरवार्ड आशिष लामाको प्रेरणामा राजन गुरुङ, नवीन लामा, रमेश दंगाल, विश्वास उदास जस्ता खेलाडीको प्रभावले राम्रो प्रदर्शनको अपेक्षा गरेको टोली म्यानेजर केसीले बताए । 

प्रशिक्षकका रूपमा भने राष्ट्रिय महिला टोलीका पूर्वप्रशिक्षक कुमार थापाले सम्हाल्ने भएका छन् । उनी विभागीय प्रशिक्षक भएकाले उनले पनि टोलीका लागि शतप्रतिशत दिएको म्यानेजर केसीले बताए । सहायकमा भने रत्न कार्की मर्हजन र सुदिप श्रेष्ठ छन् । 



ए डिभिजन लिगमा भाग्यबस नै भनौं, वाइल्ड कार्ड इन्ट्री पाएको टोली हो एपीएफ । हरेक टोलीले आफ्नो टोलीलाई बलियो बनाउन विदेशी खेलाडी अनुबन्ध गरिरहेका बेला एपिएफले भने नेपाली खेलाडीमा ठूलो विश्वास गरेको छ । सम्झौतामा रहेका ८ खेलाडी र अन्य विभागका पुराना खेलाडी छन् । 

टोलीका म्यानेजर इन्स्पेक्टर विजय केसीले भने, ‘हामीसँग विदेशी खेलाडी छैनन् । हामी स्वदेशी खेलाडी लिएर पनि बलियो टोलीसँग प्रतिस्पर्धा गर्न तयार छौं ।’



अन्य टोलीसँग विदेशी खेलाडी रहेको र बलियो रहेको बेला एपिएफका खेलाडीको मनोविज्ञानमा अलि फरक परेको म्यानेजर केसीले बताए । उनले भने, ‘सबै टोलीसँग विदेशी खेलाडी छन्, त्यसले गर्दा केही न केही हाम्रा खेलाडीको मनोविज्ञानमा फरक परेको छ ।’

‘हामी शीर्ष पाँच भित्र पर्ने मात्रै होइन । कम्तीमा त्यतिसम्म पुग्ने लक्ष्य हो’, उनले भने ।

ए डिभिजन लिगको सम्पूर्ण तयारी सकिएका बेला सबै टोली कडा प्रशिक्षणमा छन् । एपिएफले खेलाडीलाई गत ७ महिनादेखि नै प्रशिक्षणमा राखेको छ । 

एपीएफमा खेलाडीको तलब व्यवस्था 

एपीएफमा खेलाडीको तलब भने अन्य टोलीका खेलाडीको भन्दा कम छ । अन्य टोलीले ए डिभिजन लिगका लागि मात्रै भनेर खेलाडी अनुबन्ध गरेका हुन्छन् । तर विभागीय टोली भएकाले यस टोलीले ए डिभिजन लिगका लागि भने खेलाडीलाई २५ देखि ५० हजारसम्म दिने गरेको छ । 

टोलीका म्यानेजर विजय केसी भन्छन्, ‘हाम्रा खेलाडी वर्षैभरि तलबमा रहेका हुन्छन् । ए डिभिजनका लागि भनेर ८ जना मात्रै सम्झौताका खेलाडी छन् ।’ 

एपिएफको ए डिभिजनको यात्रा

एपिएफले सन् २००६ बाट ए डिभिजन लिग खेल्न थालेको हो । सो वर्ष एपिएफ पाँचौ भयो । त्यस्तै, २००७ मा पनि एपीएफ पाँचौ स्थानमा नै रह्यो । यस पश्चात भने लिगमा खासै राम्रो प्रदर्शन गर्न सकेन । 

सन् २०१० मा १०औं, २०११ र १२ मा १२औं, २०१३÷१४ मा छैटौं स्थानमा रह्यो । टोली २०१५ को राष्ट्रिय लिगमा पाँचौं भयो । 

सन् २०१८÷१९ मा भएको लिगमा पाँचौं भएको एपिएफ २०१९÷२० मा  १२औं भयो । यसवर्ष पनि एपिएफको लक्ष्य लिगको उपाधि जित्ने नभएको म्यानेजर केसी बताउँछन् । 
उनले भने, ‘उपाधिसम्म नै पुग्ने लक्ष्य छैन । तर पाँचौं स्थानबाट तल पनि पर्न नपरोस् भन्ने हाम्रो लक्ष्य छ ।’

उनकाअनुसार युवा खेलाडीको जोसले राम्रो नतिजा पस्किनेमा टोली विश्वस्त रहेको बताए । ‘अहिलेको प्रशिक्षणको आधारमा उनीहरुले खटिएर खेलेका छन् त्यो भएर विश्वास छ । स्पिडमा खेलेका छन्’, उनले भने । लक्ष्य प्राप्त गर्न र खेलाडीलाई उत्साहित बनाउन विभागीय प्रमुख तथा पुरा विभागीय टोलीले महत्वपूर्ण भूमिका खेलेको म्यानेजर केसीले बताए । 

एपिएफमा प्रमुख शैलेन्द्र खनाल आफैं प्रशिक्षणस्थलमा पुगेर खेलाडीलाई प्रोत्साहन दिइरहेका छन् । 

एपिएफका स्टार खेलाडी

आशिष लामा

नेपाली राष्ट्रिय टोलीका फरवार्ड आशिष लामा एपीएफका खेलाडी हुन् । उनी यस वर्षको ए डिभिजन लिगका लागि एपीएफ टोलीका मुख्य हतियार हुन् । उनलाई टोलीले निकै विश्वास गरेको छ । 

राजन गुरुङ

एपिएफका मुख्य खेलाडी उनी राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर हुन् । यस वर्षको ए डिभिजन लिगमा उनी एपिएफको डिफेन्डरका रुपमा मैदान उत्रिनेछन् । 

यो पनि पढ्नुहोस्

‘ए’ डिभिजन लिग : गत संस्करणभन्दा थप उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा जावलाखेल

इतिहास रच्ने दाउमा मनाङ मर्स्याङ्दी

‘ए’ डिभिजन लिग : नयाँ चुनौतीका लागि तयार सातदोबाटो

ए डिभिजन लिग : मछिन्द्रको आँखा उपाधिमा

साख फर्काउने प्रयासमा एनआरटी

च्यासलको लिग जित्ने आधार : युवा र अनुभवी खेलाडी

सदावहार उपाधि दाबेदार थ्रीस्टार

‘ए’ डिभिजन लिग : कडा प्रतिस्पर्धा दिन तयार हिमालयन शेर्पा

प्रदर्शन सुधारको आशामा ब्रिगेड ब्वाइज

शीर्ष ६ भित्र अटाउने फ्रेन्ड्स क्लबको लक्ष्य

कठिन प्रतिस्पर्धाबीच उपाधि जित्ने दाउमा संकटा


                                                                                                                      

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १०:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया