के तातोपानीमा डुब्दा रोग निको हुन्छ ?

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तातोपानी कुण्डमा डुबेको तस्बिर एकाएक भाइरल भयो । लामो उपचारपछि पनि पत्नी सीताको स्वास्थ्य ठीक नभएपछि सोमबार अध्यक्ष प्रचण्ड परिवार र सहयाेगीका साथ म्याग्दीको बेनीस्थित तातोपानी कुण्ड पुगेका थिए । 

छोरा प्रकाशको निधनपछि बिरामी परेकी पत्नी सीतालाई प्रचण्डले विभिन्न देशमा लगेर उपचार गराइसकेका छन् । कहिले दिल्ली, कहिले थाइल्यान्ड त कहिले सिंगापुर पुगेर उपचार गराउँदा पनि पत्नीको स्वास्थ्यमा सुधार नआएपछि प्राकृतिक चिकित्साको बाटो पछ्याउँदै तातोपानी कुण्ड पुगेका हुन् प्रचण्ड ।

तर, के तातोपानीमा डुब्दा साँच्चै रोग निको होला त ?

धार्मिक मत

तातोपानी कुण्डमा नुहाउँदा बाथलगायत छाला र नशाका रोग निको हुने धार्मिक मान्यता छ । यही विश्वासका साथ देशभरका दर्जनौँ तातोपानी कुण्डमा दैनिक हजारौँ मानिस नुहाउन पुग्छन् । 

प्रचण्ड पत्नी सीता लामो समयदेखि सुगर, प्रेसर र थाइराइडको समस्या झेल्दै छिन् । उनी पछिल्लो समय मस्तिष्कसम्बन्धी रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पल्सी (पिएसपी) बाटसमेत ग्रसित छिन् । उपचार खोज्दै जाँदा तातोपानीमा नुहाउँदा रोग निको हुने चर्चा सुनेपछि विश्वासका साथ उनी म्याग्दी पुगिन् ।



कम्युनिस्ट आदर्श 

नेपाली समाजमा कम्युनिस्टहरू धर्मकर्ममा विश्वास गर्दैनन् भन्ने मान्यता छ । धर्मकर्ममा विश्वास नगर्ने कम्युनिस्टहरूका आदर्श प्रचण्डले तातोपानी कुण्डमा स्नान गरेसँगै केही वर्षअघि उनले भैँसी पूजा गरेको चर्चासमेत अहिले चल्न थालेको छ । केही महिनाअघि एक कार्यक्रमको उद्घाटन समारोहमा प्रचण्ड आफैँले भैँसी पूजाको विषयलाई सम्झिए पनि ।



यतिवेला सामाजिक सञ्जालदेखि मिडियासम्म म्याग्दीको तातोपानी कुण्डको चर्चा छ । तातोपानी कुण्डमा स्नान गर्दा ग्यास्ट्रिक, बाथलगायत रोग निको हुने त्यहाँका स्थानीयको विश्वास छ । तर, नास्तिक, भौतिकवादी कम्युनिस्ट नेता नै देश–विदेशका अस्पतालहरू छाडेर तातोपानी कुण्डतिर भौँतारिनुले भने सिंगो समाजलाई तरंगित गरिदिएको छ ।

के तातोपानीमा स्नान गर्दैमा ग्यास्ट्रिक र बाथ निको हुन्छ ? सीता दाहालको रोग तातोपानीमा स्नान गरेरै निको हुने हो त ? प्रश्न उब्जिएको छ । 

के भन्छन् डाक्टर ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संयोजक तथा डाक्टर शेरबहादुर पुन तातोपानीमा डुबेरै ग्यास्ट्रिक तथा बाथरोगको उपचार हुनेमा विश्वास गर्दैनन् । यो उपचारको वैज्ञानिक उपाय नभएको बताउँदै उनी भन्छन्, ‘म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्दैमा शरीरका रोगहरू निको हुन्छन् भन्नुमा कुनै वैज्ञानिक आधार छैन ।’ 

‘त्यहाँको पानीमा भएको म्याग्नेसियम, सल्फरलगायत मिनरल्सबाट शरीरलाई केही हदसम्म फाइदा पुग्न सक्छ,’ फरकधारसँगको कुराकानीमा डाक्टर पुनले भने, ‘प्रेसर र सुगरका रोगीलाई भने जाडो मौसममा तातोपानीमा नुहाउँदा फइदा हुन्छ ।’ 

नशामा जमेको रगत सञ्चालन गर्न तातोपानीले केही सहयोग गर्ने उनको बुझाइ छ । विकसित मुलुक जापानका मानिससमेत दैनिक तातोपानिमा डुबेर बस्ने गरेको तथ्य स्मरण गर्दै उनले भने, ‘तातोपानीले शरीरका बाहिरी अंगमा भएका रोग भने केही हदसम्म निको पार्न सहयोग गर्छ ।’ 

त्यस्तै, छालारोग विशेषज्ञ डा. सुदीप पराजुली पनि तातोपानीबाटै रोग निको हुने कुनै वैज्ञानिक आधार नभएको बताउँछन् । ‘तातोपानीले मानिसको स्वास्थ्यमा हर प्रकारले सहयोग गर्ने कुरा सामान्य हो । तर, त्यसमा स्नान गरेकै कारण ग्यास्ट्रिक र अन्य रोगहरू निको हुन्छ भन्नुचाहिँ अन्धविश्वास मात्र हो,’ फरकधारको जिज्ञासामा उनले भने । 
 

  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार १९:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया